गन्ती संक्षिप्त टिप्पणी (अध्याय ११-१८)
अध्याय ११
- कनान देशतर्फको यात्रा अघि बढ्ने क्रममा इस्राएलीहरूले गनगन गर्न थाले। गनगन गर्नेहरूलाई उहाँले नाश गर्नुभयो। परमेश्वरले खानाको लागि मन्ना पठाइदिनुभएको थियो, तर उनीहरूलाई मन्ना खाँदा खाँदै वाक्क लाग्न थाल्यो। उनीहरूले मासुको लालसा गरे। परमेश्वरको प्रबन्धलाई तुच्छ ठानियो। यतिसम्म कि मिश्रकै खाना राम्रो र मिश्रमै भएको भए हुन्थ्यो भन्दै गनगन गरे।
- परमेश्वर इस्राएलीहरू प्रति क्रोधित हुनुभयो। मोशा पनि थकित भए। मानिसहरूको भार बोक्न मोशालाई सहायता गर्न ७० बूढा प्रधानहरू छानिए। परमेश्वरले इस्राएलीहरूलाई बट्टाई चराद्वारा मासुको प्रबन्ध गर्नुभयो। तर गनगन र लालसा गर्नेहरू मारिए।
- परमेश्वरको प्रबन्धलाई तुच्छ ठान्नु ठूलो पाप हो; उहाँलाई नै तुच्छ ठान्नु हो। हाम्रो जीवनमा उहाँले जति प्रबन्ध गरिदिनुभएको छ, ती कुराहरूका लागि खुशीसाथ धन्वाद दिँदै यात्रामा लागिरहौं।
अध्याय १२
- आफ्नै दाइ र दिदीबाट मोशाले विरोध भोग्नु पर्यो। मरियम र हारूनले मोशाको विरोधमा बोले र परमेश्वरलाई यो कुरा मन परेन। मोशा, हारून र मरियमलाई भेट हुने पालमा बोलाएर परमेश्वरले मरियम र हारूनलाई हपार्नुहुन्छ। आफ्नो जनको विरोधमा बोलेको हुनाले मरियमलाई उहाँले सात दिनका लागि कोरी रोगले ग्रस्त पारिदिनुहुन्छ।
- परमेश्वरको जनको विरोधमा बोल्नु परमेश्वरकै विरोधमा बोल्नु बराबर हो; सचेत रहौं।
अध्याय १३
- परमप्रभुको आज्ञा अनुसार १२ जासुसहरू कनान देश पठाइन्छन्। १२ जासुसहरूले कनान देश गएर फर्केपछि परमेश्वरको वचनलाई पुष्ठि गरे। साँच्चै नै त्यो ठाऊँ दूध र मह बग्ने विशेष देश थियो। तर १० जासुसहरूले अपूर्ण-विश्वास गरे। परमेश्वरले कनान देश उनीहरूलाई दिने प्रतिज्ञा दिनुभएको थियो, यो विजयको प्रतिज्ञा थियो। उनीहरूको अनुसार परमेश्वरको वचन बमोजिम नै ठाउँ राम्रो छ तर विजय प्राप्त गर्न सकिन्न। परमेश्वरको वचनलाई पूर्ण विश्वास गर्दै कनान कब्जा गर्नुको साटो, त्यहाँको मानिसहरूलाई देखेर उनीहरू डराए। के ती मानिसहरूभन्दा मिश्रलाई हल्लाउने, लाल समुद्र दुई भाग गर्ने, र उजाडस्थानमा मन्ना र मासु प्रबन्ध गर्ने परमेश्वर महान होइन र?
- अपूर्ण विश्वास पूर्ण अविश्वास हो। हाम्रो समस्यालाई होइन, परमेश्वरलाई हेर्दै यात्रा अघि बढाउनुपर्छ।
अध्याय १४
- १० जासुसहरूका अविश्वासको पछि लागेर धेरै इस्राएलीहरू निराश भए; रोइकराइ भयो। यतिसम्म कि फेरि मिश्रमै फर्कने योजना गर्छन्! मानिसहरूको मूर्खता र अविश्वास देखेर अवश्य परमेश्वर दुखित बन्नुहुन्छ, उनीहरूलाई पूरै नाश गर्न चाहानुहुन्छ। मोशाले उनीहरूको प्राणका लागि विन्ती गर्छन्।
- अविश्वासको प्रतिफल भयंकर छैन र? जासुस गर्न ४० दिन लाग्यो। ४० दिन अविश्वास गरेको सट्टा ४० वर्ष दण्ड पाए; एक दिन बराबर एक वर्ष। कनान देश जान पाएनन् तर ४० वर्ष उजाडस्थानमै घुमी हिँड्नु पर्ने भयो। अविश्वासको कारण यात्रा लम्बियो। धेरैको उजाडस्थानमै मृत्यु भयो। परमेश्वरलाई त्यागी अरू कुराहरूमा लाग्नु वेश्याकर्म जस्तै हो।
- अविश्वासले आशिषलाई टाढा सार्छ। परमेश्वरको वचनलाई शंका गर्नु घृणित पाप हो।
अध्याय १५
- परमेश्वरले केहि नियमहरू र विधीहरूको पुन-सम्झना गराउनुहुन्छ। परमेश्वरको वचन सम्झनु र त्यसलाई पालन गर्नु अत्यन्त महत्वपूर्ण थियो। यो मृत्यु र जीवनको कुरा थियो।
- परमेश्वरको आज्ञाहरू सम्झन मद्दत होस् भनेर लाउने वस्त्रहरूका किनारमा झुम्काहरू राखिए।
- परमेश्वरको वचनलाई सधैं हृदयमा राखौं र पालन गरौं। यसैमा हाम्रो भलाइ छ।
अध्याय १६
- मोशाले फेरि विरोध भोग्नु पर्यो। यस पटक चाहिँ आफ्नै परिवारबाट होइन तर इस्राएलका केहि शासकहरूद्वारा। कोरह, दातान र अबिरामको नेतृत्वमा यो विद्रोह भयो। उनीहरूले अझै पाठ सिकेका रहेनछन् कि परमेश्वरको जनको विरूद्धमा लाग्नु परमेश्वरकै विरूद्धमा लाग्नु हो।
- कनान देश नलगेर उजाडस्थानमा लेरायो भनेर गनगन पनि आयो। तर उनीहरूकै अविश्वासको कारणले कनान देश जान नपाएको थियो। आफ्नो अविश्वासको प्रतिफल भोग्ने क्रममा उनीहरूले, आफ्नो गल्तीको दोष अगुवालाई दिन खोजे। परमेश्वरले न्याय गर्नुभयो, र विद्रोहिहरू आगोद्वारा भष्म भए। विद्रोहिहरू मात्रै होइन तर विद्रोहिहरूको पक्ष लिनेहरू पनि दण्डित भए।
- आफ्नो जनप्रतिको विद्रोहलाई परमेश्वरले कडा रूपमा लिनुहुन्छ। विद्रोह गर्नु आफैलाई हानि गर्नु हो।
अध्याय १७
- मानिसहरूको गनगनलाई रोक्न प्रभुले एउटा विशेष कार्य गर्नुभयो। मानिसहरूले किन हारूनले नै पूजाहारीको काम गर्ने? किन लेवी कुल नै विशेष? किन उनले नै अगुवाइ गर्ने भनी प्रश्न गर्दै थिए। के हामीले पनि अगुवाइ गर्न मिल्दैन र? परमेश्वरले देखाउन चाहानुभयो कि उहाँले जसलाई चुन्नुहुन्छ उसैले यस कार्य गर्छ। इस्राएलका १२ कुलहरूका एक एकवटा लौरो ल्याइयो। लेवीको कुलको नाममा हारूनको लौरो राखियो।
- यी १३ लौराहरू निवास्थानमा राखिए। भोलिपल्ट हेर्दा अरूका लौरो जस्ता को त्यस्तै थियो, तर हारूनको लौरोमा कोपिला लागेर फुलहरू फुलेका थिए। हारूनको त्यो फुलेको लौरो चिन्हको रूपमा राखियो कि परमेश्वरले नै हारूनलाई चुन्नुभएको थियो। अरूहरू चुप हुन बाध्य भए।
- के चुनाउ मानिसको इच्छा अनुसार हुने हो र? यो त परमेश्वरबाट आउँछ।
अध्याय १८
- मानिसहरूको लागि मध्यस्त गर्न लेवी कुललाई चुनिएको थियो। त्यसै अनुसार परमेश्वरले लेवी कुललाई विभिन्न नियमहरू र प्रबन्धहरू गरिदिनुभयो। लेवी कुलको आफ्नै अंश हुँदैनथ्यो, तर इस्राएलीहरूको दसौं अंश उनीहरूले पाउँथे। लेवीहरू भोकै रहनुपर्ने स्थिति थिएन। त्यो पाएको दसौं अंशबाट फेरि लेवीहरूले दसौं अंश परमेश्वरलाई चढाउनुपर्थ्यो।
- आफ्ना सेवकहरूको परमेश्वर आफैले नै हेरचाहा गर्नुहुन्छ। परमेश्वरको सेवा गर्दा घटि हुने छैन।
Post Comment