गन्ती संक्षिप्त टिप्पणी (अध्याय २७-३६)
- Numbers Concise Commentary
- January 13, 2020
- 0
- 985
- 3 minutes read
अध्याय २७
- सालेफाद भन्ने एकजना व्यक्ति पापको कारण मरेका थिए र उनका छोराहरू थिएनन्। उनका छोरीहरूले बुबाको पैतृक सम्पत्ति पाउन मोशाकहाँ माग राखे। यो महत्वपूर्ण विषय थियो, र नौलो विषय पनि। मोशालाई यसको सामधान पत्ता लाउन गाह्रो भयो र यस समस्यालाई मोशाले परमेश्वरको सामु ल्याए। कति सुन्दर उदाहरण! तपाईको समस्या परमप्रभुमा ल्याउनुहोस्। पैतृक सम्पत्ति अब छोराहरू नभए छोरीहरूले पाउने भए। इस्राएलीहरूको पैतृक सम्पत्ति उनीहरूकै परिवारमा रहनुपर्थ्यो। अन्यजातिहरूकहाँ कदापि उनीहरूको सम्पत्ति पुग्नुहुन्न थियो।
- अब मोशाको विदा हुने समय आउँदै थियो। मोशाको सट्टामा यहोशूलाई इस्राएलीहरूको अगुवाइ गर्ने जिम्मेवारी दिइयो। यहोशूको योग्यताको विषयमा लेखिएको छ – “एउटा मानिस, जसभित्र आत्मा हुनुहुन्छ”। यहि एउटा योग्यताले अन्य योग्यताहरू पनि उनको जीवनमा ल्याएको थियो।
- एक सफल परमेश्वरको जनको मूख्य योग्यता पवित्र आत्माले भरपूर हुनु नै हो।
अध्याय २८, २९ र ३०
- इस्राएलीहरू अब कनान देश प्रवेश गर्न लाग्दै थिए। तर उनीहरू कनानमा जान अघि परमेश्वरले उनीहरूलाई केहि नियमहरू र चाडपर्वहरूका विषयमा पुन-सम्झना गराउनुहुन्छ। उनीहरू कनानमा एक विशेष जातिको रूपमा रहनुपर्थ्यो। उनीहरूको फरक जीवनशैली र पवित्र चालचलनद्वारा अन्य जातिहरू परमेश्वरतर्फ आकर्षित हुनुपर्थ्यो। त्यसैले इस्राएलीहरूले यी विभिन्न चाडका नियमहरू र अन्य व्यवस्थाहरू राम्ररी जान्न आवश्यक थियो।
- हामीलाई पनि बेला बेलामा बाइबलका सत्यताहरू सम्झना गराइनुपर्छ। (२ पत्रुस ३:१,२)
अध्याय ३१
- केहि समय अघि मिद्यानीहरूद्वारा इस्राएलीहरू व्यभिचारमा फसेका थिए। धेरै इस्राएलीहरूको मृत्यु भएको थियो। अब परमेश्वरले मिद्यानीहरूको विरूद्ध लडाइ गर्न इस्राएलीहरूलाई आज्ञा दिनुहुन्छ। हरेक कुलबाट लडाकुहरू निस्के र मिद्यानीहरूलाई ध्वस्त बनाए।
- मिद्यानीहरूबाट ल्याएको लुटका माल – भेडाबाख्रा र अन्य गाइबस्तुहरूबाट मानिसहरूले परमेश्वरलाई कर तिरे। लडाकुहरूले परमेश्वरलाई भेटि पनि चढाए। उनीहरूले बुझेका थिए कि यो विजय परमप्रभुबाट नै आएको थियो।
- विजय परमप्रभुबाट नै आउँछ!!
अध्याय ३२
- रूबेन, गाद र मनस्सेको आधा कुलले यर्दन वारि नै पैतृक सम्पत्ति पाऊँ भनेर विन्ती गर्छन्। उनीहरूले मागेको भूभाग पाउने भए, तर उनीहरू पनि अरू इस्राएलीहरूसंगै यर्दन पारि लडाइमा सहायता गर्न जानुपर्थ्यो। लडाइ सकेपछि बल्ल उनीहरू यर्दन वारि आफूले मागेको ठाउँमा आउन सक्थे।
- मोशाले उनीहरूला प्रष्ट पारे कि लडाइ नसकेसम्म उनीहरू अरू इस्राएलीहरूको साथमा रहनुपर्छ।
- लडाइ नसकेसम्म विश्राम गर्ने समय हुँदैन। हामी आत्मिक लडाइमा छौं, लागिरहौं।
अध्याय ३३ र ३४
- ३३ अध्यायमा इस्राएलीहरूको यात्राको विवरणलाई सम्झना गराइएको छ। परमेश्वरका अद्भूत कार्यहरूको स्मरण गराइएको छ। जब परमेश्वरलाई र उहाँको कार्यलाई बिर्सन्छौं तब उहाँबाट टाढा हुन थाल्छौं (न्यायकर्ता २:१०)।
- ३४ अध्यायमा परमेश्वरले उनीहरूलाई कनान देशका सिमानाहरूको विषयमा बताउनु हुन्छ। ३३ अध्यायमा विगतदेखि वर्तमानसम्मको घटनालाई सम्झना गराइन्छ भने अब ३४ अध्यायमा भविष्यलाई नियालिन्छ। परमेश्वरको सामर्थ्य र अनुग्रहमा इस्राएलीहरूको यात्राको प्रगति हुन्छ।
- हाम्रो आत्मिक यात्राको प्रगति परमेश्वरकै कारणले सम्भव हुँदछ (हिब्रु १२:१,२)। विगतलाई याद गर्दै धन्यवादि बनौं र भविष्यको आशामा रमाउँदै, वर्तमानमा विश्वाससाथ अघि बढौं!
अध्याय ३५
- लेवीहरूलाई जम्मा ४८ वटा शहरहरू पैतृक सम्पत्तिको रूपमा तोकियो। ती शहरहरू मध्येबाट ६ शहरहरू शरण-नगरका शहरहरूका रूपमा तोकिए। यी शरण-नगरका शहरहरू विशेष शहरहरू थिए। कसैले अन्जानमा मृत्यु-दण्डको योग्य कार्य गरेमा, त्यस व्यक्ति दगुरेर यी शरणस्थानका ६ शहरहरूमध्ये एकमा आएर शरण लिन सक्थे। त्यस शहरभित्र रहुन्जेल त्यस व्यक्ति सुरक्षित हुनेथ्यो। यी शरण-नगरका शहरहरू इस्राएलभरि छरेर राखिनुपर्थ्यो, ताकि सबैजनाको लागि यी शहरहरू नजिक हुनेथ्यो। यी शहरहरूमा पुग्न सहज होस् भनेर बाटोहरूमा चिन्हपनि राख्नुपर्थ्यो।
- यी शरण-नगरका शहरहरूले ख्रीष्टको सुन्दर चित्रण दिँदछन्। एक पापी मानिस न्यायबाट बच्न ख्रीष्टकहाँ दगुरेर आउन सक्छ, र सुरक्षित रहन सक्छ। शरण-नगर बाहेक अरू शहरमा गएमा त्यस व्यक्ति सुरक्षित हुने थिएन, त्यसरी नै ख्रीष्टमा बाहेक अरू कसैमा जीवन छैन। (हितोपदेश १८:१०)
- परमेश्वर अनग्रही परमेश्वर हुनुहुन्छ। परमेश्वरले तोकिदिनुभएको उपायमा मात्रै जीवन र सुरक्षा हुन्छ।
अध्याय ३६
- २७ अध्यायमा चर्चा भएझैं, सालेफादका छोरीहरूले उचित न्याय पाउँछन्। सालेफादका छोरीहरूले पैतृक सम्पत्ति पाउँछन्। परमेश्वरले कुनै कुलको पनि पैतृक सम्पत्ति हराएको चाहानुहुन्नथ्यो। हरेकले आ-आफ्नो पैतृक सम्पत्ति (पिताबाट पाएको सम्पत्ति) सुरक्षित राख्नुपर्थ्यो।
- एसावले पैतृक सम्पत्तिलाई हल्का ठाने (उत्पत्ति २५:३२)। नाबोदले पैतृक सम्पत्तिको महत्व बुझे (१ राजा २१:३, ४)।
- पैतृक सम्पत्तिले सुरक्षा दिन्थ्यो। यसले आशा र आनन्द पनि दिन्थ्यो।
- हामीले पनि पैतृक सम्पत्ति पाएका छौं; सुरक्षित राखौं, बहुमूल्य ठानौं। (कलस्सी १:१२; एफेसी १:११, १८, १९)