भजनसंग्रह १०७:२३, २४ मा लेखिएको छ, “जसले जहाजहरूमा समुद्र-यात्रा गर्छन्, जसले महासागरमा व्यापार गर्छन; तिनीहरूले परमप्रभुका कामहरू र गहिरो सागरमा उहाँका अचम्मका कामहरू देख्छन्।”
कसले परमप्रभुका कामहरू र गहिरो सागरमा उहाँका अचम्मका कामहरू देख्छन्? उसले जसले जहाजहरूमा समुद्र-यात्रा गर्छन्, जसले महासागरमा व्यापार गर्छन्। धेरैपटक हामी परमप्रभुका अचम्मका कामहरू देख्न चाहान्छौं तर जमिन छोडेर समुद्रमा यात्रा गर्न चाहिँ चाहँदैनौं। सामुद्रिक यात्राले जोखिम र अनिश्चयताको चित्रण गर्दछ। पुरानो समयमा सामुद्रिक यात्रा निकै जोखिमपूर्ण हुन्थ्यो। जुनसुकै बेला हुरीबतास चल्न सक्थ्यो। जमिनबाट टाढा भएकोले दुर्घटनाबाट बाँच्ने सम्भावना कमै हुन्थ्यो। त्यसैले धेरै मानिसहरू सामुद्रिक यात्राको जोखिम उठाउन चाहाँदैनथे।
आज हामीलाई पनि जोखिम र अनिश्चयताहरू मन पर्दैन। तर अनिश्चयताहरूको समयमै हामी विश्वासीहरूलाई विश्वाससाथ जिउने अवसर मिल्दछ। अनि जब हामी विश्वाससाथ अघि बढ्दछौं तब हामी परमेश्वरको महान कार्यहरू देख्नेछौं। विश्वासद्वारा नजिएसम्म विश्वासद्वारा मिल्ने विजय कहिल्यै देख्न सकिनेछैन। यदि गहिरो सागरमा परमप्रभुको महान कार्यहरू देख्ने हो भने जमिन छोडी जहाजमा यात्रा गर्न तत्पर हुनुपर्दछ। धेरै विश्वासीहरूले कहिल्यै जोखिम र अनिश्चयतालाई सामना गर्न सिकेका हुँदैनन्। जोखिम र अनिश्चयता आउँदा त्यसबाट भाग्ने कार्य मात्रै गरिरहेका हुन्छन्। भागेर होइन तर विश्वासद्वारा परमेश्वरमा भर पर्दै जोखिम र अनिश्चयताको सामना गर्दा विजय पाइन्छ।
के आज तपाईको जीवनमा जोखिमहरू र अनिश्चयताहरू छन्? छन् भने तपाई धन्यको हुनुहुन्छ किनभने तपाईलाई विश्वाससाथ जिउने अवसर मिलेको छ। हाम्रा जुनसुकै समस्याभन्दा परमेश्वर सधैं महान हुनुहुन्छ। याद गरौं उसले परमप्रभुका कामहरू र गहिरो सागरमा उहाँका अचम्मका कामहरू देख्छ जसले जहाजहरूमा समुद्र-यात्रा गर्छ।
Post Comment