जेम्स ‘ओ’ फ्रेजर

 जेम्स ‘ओ’ फ्रेजर

जेम्स ‘ओ’ फ्रेजर एक मिसनरी थिए जसले चाइनाको ‘लिसु’ जातिको बीचमा सेवा गरे। सन् १९०८ मा उनले बेलायतबाट चाइना जानको लागि जहाज चढे। उनी चाइनामा सुसमचार प्रचारको लागि जाँदै थिए। उनी एकदम प्रतिभावान र शिक्षित व्यक्ति थिए। उनले पियानो पनि एकदम राम्रो बजाउँथे। आफ्नो विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरको रूपमा उनको दीक्षान्त भएको थियो। उनको लागि सम्पत्ति र सम्मान कमाउने प्रशस्त मौकाहरू थिए। इन्जिनियर भएर या पियानो कलाकर भएर उनी विश्व धनी र प्रतिष्ठित हुन सक्थे। तर जेम्स फ्रेजरको निशाना अनन्त धनतिर थियो। हड्सन टेलरले स्थापना गरेको ‘चाइना इन्ल्यान्ड मिसन’ बाट तालिम लिई उनी चाइनाको दक्षिण भागको युनान प्रदेशमा सुसमचार प्रचारको लागि गए। त्यहाँ उनले ‘लिसु’ जातिलाई ख्रीष्टमा ल्याउन परिश्रम गरे।

‘लिसु’ जातिहरू अशिक्षितहरू थिए। उनीहरूलाई बाइबल सिकाउन सहज होस् भनेर फ्रेजर आफैले उनीहरूको लागि लिखीत भाषा प्रणाली बनाइदिए जसलाई पछि आएर चाइना सरकारले पनि मान्यता दियो। यस भाषा प्रणालीलाई ‘फ्रेजर अल्फाबेट’ पनि भनियो। लिसु मानिसहरू भुतप्रेत पूज्‍नेहरू थिए। उनीहरू शैतानको डरलाग्दो बन्धनमा थिए। उनीहरूलाई ख्रीष्टमा डोर्‍याउनु निकै कठिन थियो। धेरै वर्ष फ्रेजर एक्लै त्यस क्षेत्रमा सुसमचार प्रचारमा परिश्रम गरिरहे। धेरै जसो समयहरू उनी निराश र हतोत्साहि हुन पुगे। धेरै पटक आफू असफल भएको महसुस गरी उनी फर्किने पनि विचार गर्न पुगे। तरै पनि ‘लिसु’ जातिका मानिसहरूले ख्रीष्ट चिन्‍नेपर्छ भन्‍ने दृढता राख्दै परमेश्वरको सहायतामा उनी हर निराशाहरूबीच पनि अघि बढ्दै रहे। त्यस समयमा उनले घण्टौं प्रार्थनामा प्रभुको सहायता माग्‍ने अभ्यास गरे। उनले बुझेका थिए कि परमेश्वरको सहायता बिना उनी जत्तिकै प्रतिभावान भएता पनि उनी असफल हुने थिए। परमेश्वरको सहायता र अगुवाइ खोज्दै उनी प्रार्थनामा घोर परिश्रम गर्थे।

करिब ६ वर्षसम्म सुसमचार सुनाउँदा पनि एक जना पनि लिसु मानिसहरू ख्रीष्टमा आएनन्। फ्रेजर साह्रै निराश हुन पुगे। तर अन्तत ६ वर्षपछि अचानक मानिसहरू फटाफट ख्रीष्टकहाँ आउन थाले। केहि समयमा नै करिब ६०० जनाले ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गरे। परमेश्वरको अद्भूत कार्य फ्रेजरले देख्दै थिए। दुई वर्षभित्र करिब ६०,००० विश्वासीहरूको बप्तिस्मा भयो! परमेश्वरको कार्य अचम्मको थियो।

यसरी जेम्स फ्रेजर परमेश्वरको सहायतामा भर पर्दै हर कठिनाइबीच पनि सुसमचार प्रचारमा लागिरहे, अनि परमेश्वरले अन्तत ठूलो विजय दिनुभयो। उनको ५२ वर्षको उमेरमा ‘सेरेब्रल मलेरिया’को कारण मृत्यु भयो। धेरैले सोचे कि उनले आफ्नो सुन्दर जीवन र प्रतिभाहरू व्यर्थै फ्याँके। तर वास्तविकता यो थियो कि जेम्स फ्रेजरले आफ्नो जीवनको अर्थ बुझे। भनिन्छ आज लिसु जातिका ३ लाख मानिसहरूले ख्रीष्टलाई चिनेका छन्!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *