जोन बन्यान

 जोन बन्यान

जोन बन्यान एक प्रख्यात ख्रीष्टियन प्रचारक र लेखक हुन्। उनको परिवार निम्‍न स्तरका थिए तरै पनि जोनलाई उनको बुबाआमाले विद्यालय भने पठाए। हुर्कने क्रममा जोन बदमास व्यक्तिको रूपमा अघि बढेका थिए। उटपट्याङ काम गर्न, फोहोर बोल्‍न, ढाँट्न जोनलाई कसैले जित्‍न सक्दैनथ्यो। उनी १६ वर्षको हुँदा उनको आमाको मृत्यु भयो। उनको आमाको मृत्यु भएको २ महिनामा नै उनको बुबाले अर्को श्रीमति विवाह गरे। उनको सानी-आमाले उनलाई राम्रो व्यवहार गर्थैनथे। जोनको लागि परिवारमा रहन गाह्रो हुन थाल्यो। उनी घर छोड्ने उद्देश्य राखेर बेलायेती सेनामा भर्ती भए। तर उनी सेनामा करिब ३ वर्ष मात्रै रहे। सेनाबाट निस्केपछि उनले विवाह पनि गरे। उनको श्रीमतिको उत्साहमा जोनले फेरि पुस्तकहरू पढ्ने र भलाद्‍मी जीवनमा अघि बढ्ने प्रोत्साहन पाए। जोनलाई आत्मिक संघर्षहरू हुन थाल्यो। आत्मिक जीवनका विषयहरूमा उनमा धेरै प्रश्‍नहरू उठ्न थाले। नजिकैको बेडफोर्ड शहरको एक पास्टरले उनलाई परमेश्वरको वचनमा डोर्याए। उनी त्यसै मण्डलीमा जान थाले र परमेश्वरलाई साँचो रूपमा चिनेर, प्रभुमा अघि बढ्दै गए।

समय बित्दै जाँदा जोन बन्यानमा प्रचारकको दान भएको विश्वासीहरूले देखे। उनलाई प्रचारको लागि अवसरहरू दिइयो र उनी प्रचारकको रूपमा अघि बढ्न थाले। तर त्यस समयमा बेलायतमा ‘चर्च अफ इंग्ल्यान्ड’को अनुमति र लाइसेन्स बिना प्रचार गर्न मनाहि थियो। त्यस देशको शासकले सबै ख्रीष्टियनहरू ‘चर्च अफ इंग्ल्यान्ड’ अन्तर्गत नै रहनुपर्छ भन्‍ने अडान राखेका थिए। तर जोन बन्यानले विश्वास गर्थे कि मण्डली राज्यबाट स्वतन्त्र हुनुपर्दछ। एक दिन जोन बन्यान एक सानो गाउँमा प्रचार गरिरहँदा पुलिसले उनलाई हिरासतमा लिई न्यायलयमा लगे। अनुमतिबिना प्रचार गरेको, र समाजमा मतभेद ल्याएको आरोपमा उनलाई ३ महिना जेल चलानको निर्णय गरियो। साथै उनले अब फेरि प्रचार गरेको पाइएमा तत्काल देश निकाला गर्ने र देशमा भेटिए फाँसि दिने निर्णय भयो। तर यो निर्णयलाई पूर्ण रूपमा पालन गरिएन किनभने जोन करिब १२ वर्ष जेलमा थुनिए। बीच बीचमा उनलाई छोडियो तर उनी फेरि तत्काल वचन प्रचार गर्न थालिहाल्थे र फेरि उनलाई जेलमा ल्याइन्थ्यो। उनको दोष एउटै थियो – परमेश्वरको वचन अनुमति बिना प्रचार गर्नु। तर जोनले यथार्थ बुझेका थिए कि परमेश्वरको जीवित वचन प्रचार्न सरकारको अनुमति आवश्यक छैन। परमेश्वरको वचन उनीभित्र आगोझैं थियो, प्रचार नगरी उनी सक्दैनथे। जेलमा रहँदा उनले बाइबल र फक्सद्वारा लिखित ‘शहिदहरूको पुस्तक’ पढ्थे। साथै पढ्नुको साथै जेलमा उनले लेख्‍ने कार्यलाई पनि अघि बढाए। यसै क्रममा उनले विश्व प्रख्यात ‘यात्रीको प्रगति’ नामक पुस्तक लेखे जसले आजसम्मै विश्वासीहरूलाई ख्रीष्टियन जीवनमा स्थीर हुन र आफ्नो यात्रा पूरा गर्न उत्साह दिँदछ।

जब उनी जेलबाट निस्के उनले विभिन्‍न मण्डलीहरू गएर परमेश्वरको वचन प्रचार गर्ने कार्यलाई निरन्तरता दिए। उनले हरेक मानिसको ‘व्यक्तित प्राणको स्वतन्त्रा’को पनि बाचाउ गरे। हरेक मानिसमा परमेश्वरले स्वइच्छा हालिदिनुभएको छ र हरेकलाई आ-आफ्नो स्वइच्छामा जिउने अधिकार छ। उनको साहसपूर्ण साक्षीद्वारा धेरै विश्वासीहरूले राज्यको कठोर नियमहरू बावजुत पनि ख्रीष्टमा खडा हुन उत्साह पाए।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *