जोन विक्लिफ

जोन विक्लिफ लन्डनबाट ३२१ कि. मि. परको एक गाउँमा जन्मेका थिए।१६ वर्षको उमेरमा उनले अक्सफोर्डबाट अध्ययन पूरा गरे। थप केहि अध्ययनहरू पछि उनी एक मण्डलीको सेवाकाइमा अघि बढे। त्यस समयमा बेलायतमा रोमन क्याथलिक मण्डलीको प्रभाव ठूलो थियो। पोप र रोमन क्याथलिक मण्डलीको अधिनमा नबस्‍ने जोसुकैलाई कठोर व्यवहार गरिन्थ्यो। पोप र रोमन क्याथलिक मण्डलीको विरोधमा कार्य गर्ने मात्रै होइन बोलेको या लेखेको पुष्टि भए कुनै दयाबिना कडा दण्डित गरिन्थ्यो। यस्तो पृष्ठभूमिमा जोन विक्लिफले साहससाथ परमेश्वरको वचनमा खडा भए। उनले बुझेका थिए कि परमेश्वरको वचन अनुसार पोप र रोमन क्याथलिक चर्चको विश्वव्यापी अधिकारको आधार छैन। मण्डलीहरू स्वतन्त्र र स्थानीय हुनुपर्दछ। साथै क्याथलिक मण्डलीका धेरै शिक्षा र अभ्यासहरू बाइबल विपरित भएको उनले ठहर गरे र त्यसै अनुसार आफ्नो विरोध जनाउँदै लेखहरू लेखे।

उनको कार्य र लेखहरूद्वारा पोप लगायत रोमन क्याथलकि मण्डली यति आक्रोशित भएका थिए कि उनी मरेर गाडिएको ४४ वर्षपछि उनको लासलाई खनियो र जलाएर खरानीलाई खोलामा फालियो। यति ठूलो दण्ड र आक्रोशको कारण के थियो? जोन विक्लिफले त्यस्तो के गरेका थिए? उत्तर सरल छ – उनले परमेश्वरको वचनमाथि अडान लिएका थिए जुन कुरा ती कपटिहरूले सहन सकेनन्।

क्याथलिक मण्डलीले साधरण विश्वासीहरूलाई बाइबल पढ्न प्रतिबन्ध लगाएको थियो। बाइबलका सत्यताहरू विशप तथा अगुवाहरूमा सिमीत गरिएको थियो। बाइबल ल्याटिन भाषामात्रै थियो जुन साधरण विश्वासीहरूले पढ्न सक्दैनथे। तर विक्लिफले विश्वास गर्थे कि बाइबल हरेक विश्वासीको लागि हो। हरेक विश्वासीले पढ्नु र बुझ्‍नु पर्दछ। त्यसैले उनले बाइबललाई सबैले बुझ्‍ने अंग्रेजी भाषामा अनुवाद गर्ने कार्य गरे। यसको साथै विक्लिफले केहि व्यक्तिहरूलाई तालिम दिएर विश्वासीका घर घर गई बाइबल सुनाउने र सिकाउने अभियान शुरू गरे। क्याथलिक मण्डलीमा मात्रै बाइबल पल्टिने, त्यहि पनि प्रिस्टले मात्रै पढ्ने परिपाटिको अन्त्य गर्दै विक्लिफल घर-घरमा परमेश्वरको वचन पुर्‍याउन विशेष भूमिका खेले। जसरी मानिसहरूले परमेश्वरको वचन पढ्न र बुझ्‍न थाले, मानिसहरूले क्याथलिक मण्डलीको दुष्टता देख्‍न थाले। विस्तारै यूरोपमा आत्मिक जागरणको शुरूवात भयो।

यसरी एक मानिसले कठिनाइ र विरोध बावजुत पनि परमेश्वरको वचन बाइबलको लागि खडा हुँदा धेरै आत्माहरू आशिषित भए। साँच्चै परमेश्वरको वचन बाइबलले नै मानिसहरूको जीवन परिवर्तन गर्दछ!

Post Comment

You May Have Missed