जोर्ज मुलर
जोर्ज मुलर जर्मनीमा जन्मिएका थिए। उनी जर्मनीमा हुर्किएका थिए तर उनको सेवाकाइ वेलायतमा भयो। उनले वेलायतमा करिब १०,००० टुहुराहरूलाई हेरचाह गर्दै आफ्नो जीवन काल बिताए। केहि समय उनले पास्टरको रूपमा पनि सेवा गरे तर उनको जीवनको धेरै जसो समय टुहुरा केटाकेटीहरूलाई पालन पोषण र परमेश्वरको बाटोमा डोर्याउनमै बित्यो। उनले विभिन्न तालिम केन्द्रहरू पनि स्थापना गरेका थिए। यी तालिम केन्द्रहरूमा परमेश्वरको वचनको तालिम दिइन्थ्यो। मुलरलाई विश्वासको वीरको रूपमा चिनिन्छ। टुहुराहरूलाई हेरचाहा गर्ने क्रममा धेरै आर्थिक घटिकमीहरू उनले झेल्नु पर्यो। धेरैपटक आफ्नै परिवारको खर्च पुर्याउन उनलाई गाह्रो हुन्थ्यो झन् थुप्रै टुहुराहरूको पनि जिम्मेवारी लिँदा उनी धेरैपटक कठिन अवस्थामा पुग्थे। तर यी सबै बीच उनले परमेश्वरमाथि नै भरोसा गर्थे। अनि परमेश्वरले साँच्चै नै हरेक पटक प्रबन्ध गर्नुहुन्थ्यो। सन् १८३६ मा प्रथम पटक उनले ३० जना टुहुराहरू आफ्नै भाँडाको घरमा राखेर शुरु गरे। केहि समय पछि टुहुराहरूको संख्या १३० पुग्यो। सन् १८४५ मा छुट्टै घरको व्यवस्था गरेर मुलरले ३०० नानीहरूलाई हेरचाहा गर्न थाले। परमेश्वरले उनको सेवाकाइमा ठूलो आशिष दिनुभयो। वेलायतमा त्यस बेला धेरै टुहुरा नानीहरू थिए। यी नानीहरूलाई कसैले वास्ता गर्दैनथे। यी नानीहरू पछि गएर फटाहा र धुर्त बन्न पुग्थे। तर मुलरले धेरै भन्दा धेरै नानीहरूलाई आफ्नो अंगालोमा ल्याए र प्रभुको सत्यतामा डोर्याए। उनी साँच्चै पिता नभएकाहरूका पिता बने। सन् १८७० मा आइपुग्दा मुलरले टुहुराहरूका निम्ति आफ्नै घरहरू बनाउन सके। १,७२२ टुहुराहरूलाई अब उनले हेर्न थाले। यी घरहरू बनाउन र दैनिक खर्च टार्न धेरै पैसाको आवश्यकता पर्थ्यो तर मुलरले कहिल्यै पनि एक पैसा पनि कोहिसँग मागेनन्। उनी केवल परमेश्वरकहाँ जान्थे र घुँडा टेकेर प्रार्थना गर्थे। अनि परमेश्वरले अचम्मको तरिकाले विभिन्न व्यक्तिहरूद्वारा उनका खाँचोहरू पूरा गर्नुहुन्थ्यो। फिलिप्पी ४:१९ मुलरको लागि एक राम्रो पद मात्रै थिएन तर जीवन शैली थियो।
उनको यस्तो विशाल विश्वासको सेवाकाइले धेरै विश्वासीहरूलाई उत्साह दिएको छ। उनको सेवाकाइमा उनको श्रीमति र नानीहरूले साथ दिएका थिए। उनको सेवाकाइबाट धेरै नानीहरूले परमेश्वरलाई चिन्ने अवसर पाए। याकूब १:२७ मा लेखिएको छ, “परमेश्वर र पिताको सामु चोखो र शुद्ध धर्म यही हो – टुहुराहरू र विधवाहरूलाई उनीहरूको दुःखमा हेर्नु र आफूलाई निष्कलङ्क राख्नु।” साँच्चै मुलरले चोखो र शुद्ध धर्म अभ्यास गरे।
Post Comment