जोर्ज वाइटफिल्ड

जोर्ज वाइटफिल्ड सन् १७१४ मा जन्मेका थिए। उनी सानैदेखि चन्चले र बदमास थिए। करिब १५ वर्षको उमेरसम्म नै उनी निकै चन्चले थिए। उनको आमाले एउटा सानो होटल संचालन गर्थिन्। १५ वर्षको उमेरमा आफ्नो पढाइ छोडेर केहि समय उनले आमालाई होटलमा सहयोग गर्न थाले। तर केहि समयपछि होटल बन्द भयो, अनि उनी फेरि पढाइमा फर्के। उनले अक्सफोर्ड विश्वविद्यालयको पेमब्रोक कलेजमा अध्ययन गर्न थाले। यस ठाउँमा अध्ययन गर्ने क्रममा उनको जीवन परिवर्तन भयो। उनले परमेश्वरको विषयमा सानैदेखि सुनेको भए पनि साँचो विश्वास गरेका थिएनन्। पेमब्रोक कलेजमा अध्ययन गर्ने क्रममा उनले जोन वेस्ली, चार्ल्स वेस्ली लगायतका विश्वासमा बलियो साथीहरू भेटे, जसको कारण उनी आफै पनि विश्वासमा अघि बढ्न थाले।
तर प्रभुमा अघि बढ्ने क्रममा एक समय उनी झण्डै झूटा शिक्षातिर लाग्न पुगेका थिए। गलत प्रभावहरूको कारण उनले आफ्नै शरीरलाई कष्ट दिएर प्रभुलाई प्रशन्न तुल्याउने प्रयास गर्न थाले। उपवास बसेर, नराम्रो खाना खाएर, झुत्रो लुगा लगाएर आफू अझै विश्वासमा बलियो हुन सकिन्छ भनी उनले सोचेका थिए। तर केहि समयपछि यो गलत बुझाइबाट उनी उन्मुक्त भए। उनले सुसमचारको महिमित स्वतन्त्रतालाई बुझ्न पाए। मुक्ति कामहरूबाट होइन तर यो परमेश्वरको सित्तैको दान हो भन्ने महत्वपूर्ण सत्यता उनले बुझे। यस महान सुसमचारको रहस्य बुझेपछि उनले यसको सत्यता आफैमा सिमीत राख्न सकेनन्। उनी सबैलाई ख्रीष्ट प्रचार गर्न जोशिलो हुन थाले।२२ वर्षको उमेरमा उनी प्रचारकको रूपमा अभिषिक्त भए। त्यसपछि उनी विभिन्न मण्डलीहरूमा प्रचार गर्न थाले। उनको प्रभावकारि वचन प्रचार सुन्न धेरै मानिसहरू भेला हुन्थे। उनी बेलायतमा मात्रै होइन अमेरिकामा पनि प्रचार गर्न पुग्थे। जोर्ज वाइटफिल्डको सेवाकाइले नयाँ र विशेष रूप लियो जतिबेला उनले खुल्ला प्रचार गर्न थाले। हरेक हप्ता चर्च नजाने मानिसहरूको संख्या ठूलो भएको उनले देखे। यी मानिसहरू चर्च जानुको साटो बजारतिर घुम्ने गर्थे। वाइटफिल्डले यी चर्च नजानेहरूलाई ख्रीष्ट प्रचार्ने उद्देश्यले खुल्ला प्रचार अभियान शुरू गरे। जब उनले ख्रीष्टको अद्भूत प्रेमको प्रचार गर्थे धेरै जना छक्क पर्थे। धेरैले यसरी सुसमचार कहिल्यै सुनेका थिएनन्। उनको प्रचारद्वारा धेरैले आफ्नो जीवन ख्रीष्टलाई सुम्पिन थाले। यी मानिसहरू वास्तवमा अवहेलित भएका थिए। प्रचारकहरूले मण्डलीमा आउनेहरूलाई मात्रै प्रचार गर्ने गर्थे। तर वाइटफिल्ड खुल्ला प्रचार अभियानद्वारा कहिल्यै सुसमचार नसुनेकाहरूलाई येशू ख्रीष्ट प्रचार गरे। धेरैले मुक्ति पाए। हप्ताको हरेक दिन जस्तो नै उनी विभिन्न ठाउँहरू गएर खुल्ला प्रचार गर्थे। एक समय उनको प्रचार सुन्न करिब ३०,००० मानिसहरू भेला भएका थिए। भनिन्छ कि आफ्नो ३४ वर्षको सेवाकाइमा उनले किरब १८,००० पटक प्रचार गरे। उनको सेवाकाइद्वारा यूरोप र अमेरिकामा आत्मिक जागृतिको शुरूवात भयो। सन् १७३९ देखि १७७० सम्म, आफ्नो मृत्युसम्म उनले यसरी नै सुसमचार प्रचारमा आफ्नो जीवन दिए।