तयारीको परमेश्वर
- Short Devotion
- April 15, 2020
- 0
- 954
- 1 minute read
हाम्रो परमेश्वर तयारीको परमेश्वर हुनुहुन्छ। जब दाउद गोलायतसँग लड्न एलाको बेसीमा झरे। उनी त्यस समयको विशिष्ट र अत्याधुनिक हतियार बोकेर तल झरेका थिएनन्। उनीसँग घुँयेत्रो, केहि ढुङ्गाहरू, र लौरो थियो। जब राजा शाउलले दाउदलाई युद्धको वस्त्र र हातहतियार पहिराइदिन खोजे, दाउदले इन्कार गरे किनभने “उनले तिनलाई अभ्यास गरेर हेरेका थिएनन्” (१ शमूएल १७;३९)। दाउद एक गोठाला थिए र उनले घुँयेत्रो र लौरोको अभ्यास गरेका थिए। त्यहि घुँयेत्रो जुन सामान्य देखिन्थ्यो, त्यसैबाट परमेश्वरले ठूलो विजय दिनुभयो। गोठालाको रूपमा दिक्क लाग्दो दिनहरू काट्ने क्रममा दाउदले घुँयेत्रो चलाउन सिके, तालिम पाए। उनले बाघ, भालुहरूमाथि विजय पाए। परमेश्वरले उनलाई तयारी पार्दै हुनुहुन्थ्यो। सानो सानो विजयहरूले त्यस ठूलो विजयको लागि तयारी बनाउँदैथ्यो। यस घटनाको समयमा दाउद राजा अभिषेक भईसकेका थिए, तर अझै उनी राजाको सिंहासनमा पुगिसकेका थिएनन्। उनको जीवनमा परमेश्वरको तयारीको काम बाँकी थियो। परमेश्वरले सधैं आफ्ना जनहरूलाई तयारी पार्नुहुन्छ। तयारी भएकाहरूलाई उहाँले चलाउनुहुन्छ।
आज तपाई र मेरो जीवनमा पनि परमेश्वरको तयारीको काम भईरहेको छ। घुँयेत्रो त सामान्य कुरा हो तर त्यसैद्वारा दाउदले ठूलो विजय पाए। आज हामी पनि सामान्य कुराहरूमा छौं होला, तर परमेश्वरले तयारीको काम पूरा गर्नुभए पछि ती सामान्य कुराहरू ठूलाठूला अत्याधुनिक हतियारभन्दा प्रभावशाली हुनेछ। हामीले नदेखौंला, थाहा नपाऔंला तर हामी निश्चित हुन सक्छौं कि परमेश्वरले तयारी गर्दै हुनुहुन्छ, किनकि उहाँ तयारीको परमेश्वर हुनुहुन्छ।