परमेश्वरसँग पहाडको उचाइमा
पहाडको उचाइ अर्थात् उच्चतम अवस्था; हाम्रो आत्मिक जीवनमा कहिले तल्लो अवस्थाहरू भएर हामी जाँदछौं त कहिले हामी उच्चतम अवस्थाहरू अनुभव गर्दछौं। परमेश्वरसँग पहाडको उचाइमा रहनु कति ठूलो आशिष! आत्मिक जीवनमा उच्चतम अवस्थामा रहनु कति ठूलो आनन्द! तर जति आशिषमय छ यो, त्यति नै चुनौतीपूर्ण पनि! हामी श्रापित संसारमा श्रापित शरीर लिई जिईरहेका छौं। हाम्रो शरीर, संसार र शैतान हाम्रो विरूद्धमा सक्रिय छ! परीक्षाहरू र विविध कठिनाइहरूले हाम्रो आत्मिक जीवनलाई चुनौती दिँदछ। तर परमेश्वरको सहायतामा हामी विजयी हुन सक्छौं, हुनुपर्दछ! के तपाई आज आत्मिक जीवनमा उच्चतम अवस्थामा हुनुहुन्छ, पहाडमा हुनुहुन्छ? कि आत्मिक रूपमा वेसीतिर संघर्षरत हुनुहुन्छ?
मत्ती १७ अध्यायमा येशू ख्रीष्टले पत्रुस, याकूब र यूहन्नालाई एउटा अग्लो पहाडमा लिएर जानुभयो। त्यस पहाडको उचाइमा ती चेलाहरूले हाम्रो प्रभुको रूप परिवर्तन भएको देख्ने अवसर पाए। त्यो निश्चय अति अद्भूत अनुभव थियो! येशू ख्रीष्टको महिमित अवस्थाको सानो झलक देख्न पाएका ती चेलाहरू चकित भए। त्यस पहाडको उचाइमा उनीहरूले ईश्वरीय महिमाको स्वाद पाए। त्यति मात्र होइन प्रभुका दासहरू मोशा र एलियालाई समेत देख्न पाए। त्यो पहाडको उचाइको अनुभव सायद उनीहरूले कहिल्यै विर्सन सकेनन्।
त्यस अद्भूत घटनाको विषयमा पत्रुसले २ पत्रुस १:१७, १८ मा लेख्छन् - “किनकि जब प्रतापमय महिमाबाट ‘यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्तै प्रसन्न छु’ भन्ने वाणी उहाँकहाँ आयो, तब उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनुभयो। अनि त्यस पवित्र पहाडमा उहाँसँग हुँदाखेरि हामीले स्वर्गबाट आएको त्यो वाणी सुन्यौं।”
आज तपाई र मलाई त्यही प्रकारको अनुभव लिने अवसर नहोला तर त्यो भन्दा पनि पक्का वचन हामीसँग आज छ! पत्रुसले अझै भन्छन्, “अनि हामीसँग भविष्यवाणीको अझ पक्का वचन छँदैछ, जुन वचनमा दिनको उज्यालो नखसुन्जेल र तिमीहरूका हृदयहरूमा बिहानको तारा नउदाउन्जेल तिमीहरूले अँध्यारो ठाउँमा चम्किने ज्योतिमा झैं ध्यान दिएर असल गर्दछौ;” (२ पत्रुस १:१९)।
परमेश्वरको वचन अध्ययनद्वारा आज हामी पनि परमेश्वरसँग पहाडको उचाइमा पुग्न सक्छौं। आज हामीलाई चाहिएको यहि नै हो - परमेश्वरको वचनको सत्यता जसले हाम्रो आत्मिक जीवनलाई बलियो र उन्नतशील बनाउँदछ। क्याम्प एभेरेस्टको उद्देश्य यहि हो। बाइबल अध्ययन, आपसी संगति र विश्रामद्वारा प्रभुका जनहरूलाई आत्मिक वृद्धि र उचाइमा पुग्न मद्दत गर्नु!
परमेश्वरसँग पहाडको उचाइमा पुग्न मात्र होइन तर रहन बोझ उठाउँ! परमेश्वरको सहायतामा आत्मिक उचाइमा रहौं! सबै परीक्षाहरू र चुनौतीबीच परमेश्वरको वचनमा स्थिर हुँदै र गहिरिदैं, आत्मिक उचाइमा रहौं!!
2 Comments
माथि कुराहरुलाई पडिसक्दा मेरो बुजाई मा (1) सम्बन्ध जरुरी छ सबै सङग (2) हामी बिच सम्मन् व्यवहार हुनु जाहेज छ एउटा Level मा
Thank you for your service to this community of people 🙏😊
blessed