प्रस्थान संक्षिप्त टिप्पणी (अध्याय १-१०)

 प्रस्थान संक्षिप्त टिप्पणी (अध्याय १-१०)

अध्याय १

प्रस्थानको पुस्तकमा आइपुग्दा उत्पत्ति ५० अध्यायको समयबाट लामो समय बितिसकेको छ। इस्राएलीहरू मिश्रमा फल्दै फुल्दै बढिरहेका थिए।

समय परिवर्तन भएको छ। अब मिश्रमा नयाँ राजा उठेका छन्, जसले यूसुफ र उनका कार्यहरू जान्दैनथे। यस नयाँ राजाले इस्राएलीहरूलाई एक खतराको रूपमा देखे र उनीहरूलाई दबाउन र संख्यामा घटाउन उपायहरू बनाए।

तर सबै कष्टकर र कठिन परिस्थितिहरूमा पनि इस्राएलीहरू बढ्दै गए। परमेश्वरले अब मिश्र देशमा आफ्नो सामर्थ्य प्रकट गर्न लाग्दै हुनुहुन्थ्यो। समय परिवर्तन भयो, शासक परिवर्तन भयो, तर परमेश्वरको महान उद्देश्य परिवर्तन भएको थिएन।

सबै परिस्थितिहरूबीच पनि परमेश्वरकै उद्देश्य अघि बढिरहन्छ।

अध्याय २

अब्रहामलाई परमेश्वरले कनान देश दिने प्रतिज्ञा गर्नुभएको थियो। तर अहिले इस्राएलीहरू त मिश्र देशमा दास भएर बसिरहेका थिए। कहाँ गयो त परमेश्वरको प्रतिज्ञा? उहाँले ढाँट्नुभएको थियो कि?

परमेश्वरले आफ्नो योजना अघि बढाउन मोशालाई चुन्नुभयो। मोशालाई परमेश्वरले मिश्रको राजपरिवारमा हुर्कन दिनुभयो। उनले त्यहाँ धेरै कुराहरू सिके तर उनले अझै एउटा महत्वपूर्ण कुरा सिक्न बाँकी थियो। यो पाठ सिक्न उनले मिद्यानमा ४० वर्ष क्लास लिनुपर्यो।

परमेश्वरको काम परमेश्वरकै तरिकामा र परमेश्वरकै समयमा गरिनुपर्दछ।

अध्याय ३

मोशा मिद्यानमा भेडाबाख्राहरू चराउँथे। लगभग ४० वर्ष यसरी नै बितिसकेको थियो। राजकुमार जस्तो व्यक्ति, एउटा गोठालो भएर जिइरहेका थिए। सायद मोशाले सोचे अब परमेश्वरले मलाई पूरा रूपमा त्याग्नुभएको छ। उनले सायद सोचे कि मेलै ठूलो गल्ती गरेको छु, अब मौका छैन।

तर परमेश्वरले मोशालाई बिर्सनुभएको थिएन। उनलाई ४० वर्षसम्म तयार पार्दै हुनुहुन्थ्यो। जब समय पूरा भयो, उहाँ मोशाकहाँ प्रकट हुनुभयो र उनलाई विशेष कामको लागि पठाउनुभयो। के तपाई आज परमेश्वरको तालिममा/क्लासमा हुनुहुन्छ कि? धैर्य गर्नुहोस्। परमेश्वरले तपाईलाई बिर्सनुभएको छैन!

परमेश्वरले कुनै काममा पठाउनुभन्दा पहिले आफ्नो जनलाई तालिम दिई तयार पार्नुहुन्छ।

अध्याय ४

परमेश्वरले मोशालाई विशेष कामको लागि चुन्नुभएको थियो, र यस कुरा उनलाई प्रकट पनि गर्नुभयो। तर मोशा अनकनाए। आफ्नो असक्षमतालाई देखाएर पछि हट्ने प्रयास गरे। यसले परमेश्वरलाई दुखी तुल्यायो। मोशाले अझै एउटा अन्तिम पाठ सिक्न बाँकि थियो कि हामी असक्षम छौं तर परमेश्वरले हामीलाई सक्षम बनाउनुहुन्छ।

अनि परमेश्वरले मोशालाई चिन्ह-चमत्कार गर्ने सामर्थ्य दिनुहुन्छ। मोशाकै कारण हारून पनि मोशाको साथ मिश्र जान्छन्। परमेश्वरले मोशालाई पो चुन्नुभएको हो त, हारून चाहिँ किन आए? मोशाको अविश्वासको कारण। पछि हारूनको कारणले गर्दा उजाडस्थानमा केहि समस्याहरू आउँछन्।

परमेश्वरको योजनामा संका गर्ने होइन तर विश्वाससाथ आज्ञाकारी हुनु नै हाम्रो कर्तव्य हो।

अध्याय ५

मोशा र हारून फाराओकहाँ जान्छन् र परमेश्वरको सन्देश सुनाउँछन्। तर इस्राएलीहरूलाई छोड्नुको साटो उल्टै फाराओले इस्राएलीहरूलाई कष्ट थपिदिन्छन्। इस्राएलीहरू यस विषयमा मोशा र हारूनसँग रिसाउँछन्। सायद उनीहरूले सोचे बरू हामी यत्तिकै ठीकै थियौं, मोशाले समस्या मात्रै थपिदिए।

परमेश्वरको योजना पूरा हुने क्रममा विभिन्न परिस्थितीहरू आउन सक्छन्, र विश्वाससाथको धीरज आवश्यक हुन्छ।

अध्याय ६

आफ्नो कार्य असफल भएको ठानेर मोशा निराश हुन्छन् तर परमेश्वरले उनलाई उत्साह दिनुहुन्छ। मोशा आफैले परमेश्वरमाथि पूरा भरोसा र विश्वास राखेका थिएनन्।

पहिला हामी आफै दृढ र निश्चित हुनुपर्छ, अनि मात्रै हामी अरूहरूलाई सहायता गर्न सक्छौं।

अध्याय ७

अब परमेश्वरले आफ्नो हात मिश्र देश विरूद्ध उठाउन थाल्नुहुन्छ। पहिला केहि चिन्हहरूद्वारा परमेश्वरले फाराओको ध्यान आकर्षण गर्ने प्रयास गर्नुहुन्छ। अनि त्यसपछि पहिलो विपत्ति पठाउनुहुन्छ।

विपत्तिहरू एक पछि अर्को गर्दै झन् खतरा हुँदै जान्छन्। तर फाराओको हृदय कठोर नै रहन्छ।

परमेश्वरले पश्चतापको मौका दिनुहुन्छ। आज पनि मानिसहरूलाई मौका छ।

अध्याय ८

परमेश्वरले पठाउनुभएका विपत्तिहरूको नक्कल गरिरहेका फाराओका जादुगरहरूले तेस्रो विपत्तिलाई नक्कल गर्न सकेनन्। उनीहरूले निष्कर्ष निकाल्छन् – “यो ता परमेश्वरको औंली हो।”

शैतान र संसारले पनि परमेश्वरको कामको नक्कल गर्ने प्रयास गर्छ तर असफल नै हुनेछन्।

अध्याय ९

हरेक विपत्तिपछि फाराओले इस्राएलीहरूलाई जान दिने प्रतिज्ञा दिन्छन् तर विपत्ति हटेपछि उनी फेरि कठोर बन्छन्। मानौं कि उनी एक खेल खेल्दैछन्। तर उनको यस कार्यले उनीमाथि ठूलो विपत्ति ल्याउँदै थियो। यदि उनले इस्राएलीहरूलाई छिट्टै जान दिएका भए, सायद उनको जेठो छोरा मर्ने थिएन होला।

पाप र दुष्टतासँग नखेलौं, परमेश्वरसँग खेलबाड नगरौं, परिणाम तीतो हुनेछ। (गलाती ६:७)

अध्याय १०

एक पछि अर्को गर्दै विपत्तिहरू आइरहे। सायद इस्राएलीहरूले पनि दिक्क मान्न थालिसकेका थिए होला। सायद सोच्थे, “परमेश्वर के गर्दै हुनुहुन्छ? कहिले हामीलाई छुटकारा दिनुहुन्छ?” तुरन्तै छुटकारा चाहान्थे होला, तर के हाम्रो परमेश्वरले कुनै काम उद्देश्य बिना गर्नुहुन्छ र? हरेक विपत्तिको उद्देश्य थियो। हरेक विपत्तिमा उहाँले मिश्रीहरूको एउटा देवतामाथि प्रहार गर्दै हुनुहुन्थ्यो।

मिश्रीहरूले पूज्ने र भरोसा गर्ने देवताहरू एक एक गर्दै जीवित परमेश्वरको अघि लड्दै थिए। साँच्चै परमेश्वरले इस्राएलीहरूलाई छुटकारा मात्रै होइन तर झूटा देवताहरूलाई नाश पनि गर्दै हुनुहुन्थ्यो।

परमेश्वरको योजना हाम्रो भन्दा सधैं महान हुँदछ। त्यसैले नबुझ्दा पनि धेर्य गरौं, विश्वास गरौं। (यशैया ५५:९)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *