प्रस्थान संक्षिप्त टिप्पणी (अध्याय २१-३०)

 प्रस्थान संक्षिप्त टिप्पणी (अध्याय २१-३०)

अध्याय २१

२१ अध्यायबाट अब परमेश्वरले इस्राएलीहरूलाई दैनिक जीवनका लागि ईश्वरीय नियमहरू दिनुहुन्छ। यी नियमहरूले इस्राएलीहरूलाई अरू जातिहरूभन्दा भिन्न पार्थे।

यस अध्यायका नियमहरू व्यवहारिक र न्यायुचित छन्। संसारको कुनै देशको नियम कानुनभन्दा असल र उत्तम नियम कानुन परमेश्वरकै हुँदछ। आज हामीलाई परमेश्वरको नियम अनुसार जिउने अवसर छ।

परमेश्वरको नियम-कानुन उत्तम र उचित छन्।

अध्याय २२

यस अध्यायमा परमेश्वरले थप नियमहरू दिनुहुन्छ। यी नियमहरू विशेष गरी इस्राएलीहरूका लागि व्यवस्थाका समयमा दिइएका थिए। यस समयका धेरै नियमहरू आजको अनुग्रहको समयमा लागु हुँदैन तरै पनि यी नियमहरूमा हामी परमेश्वरको न्याय गर्ने शैली र उहाँको ईश्वरत्व झल्किएको देख्छौं।

यी नियमहरूले परमेश्वर क्रम र शिष्टताको परमेश्वर हुनहुन्छ भनी देखाउँछन्।

हाम्रा परमेश्वर गोलमालको परमेश्वर हुनुहुन्न। (१ कोरिन्थी १४:३३)

अध्याय २३

परमेश्वरले इस्राएलीहरूलाई हरेक वर्ष तीन चाडहरू मनाउन आज्ञा दिनुभयो – अखमिरे रोटिको चाड, कटनीको चाड, र अन्न भित्राउने चाड। यी चाडहरूले इस्राएलीहरूलाई परमेश्वरको महानता र प्रबन्धको सम्झना गराउँथ्यो।

परमेश्वरले नै इस्राएलीहरूलाई प्रतिज्ञाको देशमा पुर्याउनुहुनेथ्यो। कनान देशमा आइपुगेपछि इस्राएलीहरू निकै होसियार हुनुपर्थ्यो। किनकी कनान देशका जातिहरूका देवताहरू र चालचलनले उनीहरूलाई परमेश्वरबाट पराइ बनाउन सक्थ्यो।

संसारका थोकहरूले हामीलाई परमेश्वरबाट पराइ बनाउन सक्छ। हरेक पल अलग जीवन जिउनुपर्छ।

अध्याय २४

परमेश्वर इस्राएलीहरूसँग वाचा बाँध्न चाहानुहुन्छ। वाचा सरल थियो – परमेश्वर इस्राएलीहरूको साथमा हुनुहुनेछ र इस्राएलीहरूले उहाँका आज्ञाहरू मान्नु पर्नेछ। यस्तै किसिमको वाचामा आज हामी पनि सहभागि हुन सक्छौं। मोशाको समयमा बहरहरूको रगतद्वारा वाचा स्थापित गरियो भने आज येशू ख्रीष्टको रगतद्वारा परमेश्वर र हामीबीच वाचा स्थापित गरिन्छ।

यस अध्यायमा परमेश्वरको पवित्रतालाई पनि देख्न सकिन्छ। परमेश्वरको सामु मोशा मात्रै आउन सक्थे, तर उनी पनि नजिक जान सक्दैनथे। उहाँको महिमा र पवित्रता सिनाई पर्वतमा देखियो।

महिमित र पवित्र परमेश्वरसँगको वाचामा सहभागि हुने मौका हामीलाई छ।

अध्याय २५

परमेश्वर इस्राएलीहरूसँगै बस्न चाहानुहुन्छ। उहाँले पवित्रस्थान बनाउन आज्ञा दिनुहुन्छ। यस पवित्रस्थानमा परमेश्वरको उपस्थिति हुनेथियो। पवित्रस्थान भित्र राख्न उहाँले विभिन्न सामाग्रीहरू बनाउने निर्देशन दिनुहुन्छ।

परमेश्वरले कुनै कुरा विना अर्थ गर्नुहुन्न। हरेक सामाग्रीको अर्थ थियो। वाचाको सन्दुक – यस भित्र व्यवस्थाका पाटि राखिएको थियो। व्यवस्थाले पापको चित्रण दिन्छ। वाचाको सन्दुक कृपा आसनले ढाकिएको थियो। हरेक वर्ष कृपा आसनमा रगत छर्किनुपर्थ्यो। व्यवस्थाले दोषि ठहराउँछ तर परमेश्वरको अनुग्रहका कारण येशू ख्रीष्टको रगतद्वारा कृपा पाइन्छ। हाजिरीका रोटीहरू राखिने टेबल – जीवनको रोटी येशू ख्रीष्ट नै हुनुहुन्छ। सामदान – संसारको ज्योति ख्रीष्ट हुनुहुन्छ।

परमेश्वर हामीसँग रहन चाहानुहुन्छ तर आवश्यक तयारी पूरा गरेको हुनुपर्छ।

अध्याय २६

पवित्रस्थान र भेट हुने पाल सम्बन्धि थप निर्देशनहरू परमेश्वरले दिनुहुन्छ। पवित्रस्थान र महापवित्रस्थानमा भिन्नता राखिनुपर्थ्यो। पर्दाले छुट्याउँथ्यो। परमेश्वरको पवित्रताको चित्रण यहाँ पनि देखिन्छ। एक पापी मानिस पवित्र पवित्र पवित्र परमेश्वरकहाँ आउन सक्दैन। त्यहाँ ठूलो भिन्नता छ। तर येशू ख्रीष्टको बलिदानमा यो भिन्नता समाप्त गरिन्छ। येशू ख्रीष्ट हाम्रो महापूजाहारी हुनुहुन्छ।

पवित्र परमेश्वर र पापी मानिसमा सधैं ठूलो अन्तर छ।

अध्याय २७

परमेश्वरले होमबलिको वेदी बनाउन निर्देशन दिनुहुन्छ। एक पापी मानिस पवित्र परमेश्वरकहाँ आउन वेदी मार्फत मात्रै सम्भव हुन्थ्यो। वेदीमा बलि चढाएपछि मात्रै एक पापी मानिसका पापहरू क्षमा हुन्थे। परमेश्वरले सम्बन्ध गाँस्न बलिदानको उपाय खोज्नुभयो र त्यो उपाय पनि आफैले प्रबन्ध गर्नुभयो।

दियोको तेल बलिरहनुपर्थ्यो – परमेश्वरको उपस्थिति र ज्योतिको चित्रण।

हाम्रो पाप क्षमाको लागि परमेश्वरले दामको माग गर्नुभयो र दाम पनि आफैले तिर्नुभयो।

अध्याय २८

पवित्रस्थानमा पूजाहारीहरूले मात्रै सेवा गर्न सक्थे। परमेश्वरले उनीहरूका निम्ति विशेष पहिरनको निर्देशन दिनुभयो। उनीहरूको पहिरनद्वारा परमेश्वरको महिमा झल्कन्थ्यो। पूजाहारीहरूका सेतो कपडाझैं परमेश्वरको सेवकहरूको साक्षी र हृदय निष्कपट हुनुपर्छ।

पूजाहारीले इस्राएलीहरूको नाम आफ्नो एपोद र छाती पातामा बोक्नुपर्थ्यो।

ख्रीष्ट हाम्रो महापूजाहारि हुनुहुन्छ। उहाँले हाम्रो बोझ बोक्नुहुन्छ। (हिब्रु ४,५,७)

अध्याय २९

पवित्रस्थानमा बलिहरू चढाउने काम पूजाहारीहरूको थियो। तर पूजाहारीहरूले बलि चढाउन अघि आफैलाई पहिला परमेश्वरमा चढाउनु पर्थ्यो। उनीहरूले आफैलाई परमेश्वरको कामको लागि अर्पण गरेको हुनुपर्थ्यो।

परमेश्वरको सेवा गर्नु अघि हाम्रो आफ्नै जीवनको बलिदानको आवश्यक हुन्छ। (रोमी १२:१,२)

अध्याय ३०

परमप्रभुले पवित्रस्थानको सेवाको लागि थप निर्देशनहरू दिनुहुन्छ। उहाँले तोकिदिनुभए अनुसार नै सबै कुराहरू गरिनुपर्थ्यो। बलिको सेवामा सहभागि हुनु अघि पूजाहारीले अनिवार्य हात-पाउ धुने बाटामा आफ्ना हात-पाउहरू धुनुपर्थ्यो। हरेक कुरा तेलले अभिषेक गरेर पवित्र पारिन्थ्यो।

पवित्र परमेश्वरको सेवा पवित्र व्यक्तिले मात्रै गर्न सक्छ। पवित्र आत्माद्वारा हामी पवित्र पारिन्छौं।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *