फरिसीवाद आज पनि कायमै

 फरिसीवाद आज पनि कायमै

मत्ती १६:६ मा येशू ख्रीष्टले फरिसीहरूका खमीरबाट चेलाहरूलाई होसियार रहन चेतावनी दिनुभयो। के थियो फरिसीहरूका समस्या कि प्रभुले उनीहरूका नकरात्मक प्रभावबाट टाढा रहन भन्‍नुभयो? के आज पनि फरिसीहरू छन्? ख्रीष्टको समयमा झैं व्यवस्था अनुसार सिद्ध जीवन जिउन चाहाने फरिसीहरू आज होलान् या नहोलान् तर हाम्रै माझ पनि आत्मिक फरिसीहरू प्रशस्त भेटिन्छन्। फरिसीवाद आज पनि कायमै छ!

फरिसीवादका केहि चरित्रहरूः

  • आफूलाई आत्मिक रूपमा विश्‍वासीहरूमाझ बढि अग्रसर देखाउन चाहाने
  • आफ्नो आँखाको मुँडा नदेख्‍ने तर अरूको सानो छेस्की देखिहाल्‍ने
  • आत्मिक रूपमा परिपक्‍वतामा कमजोरहरूको तुलनामा आफूलाई माथि ठान्दै घमण्ड गर्ने
  • आत्मिक रूपमा परिपक्‍वतामा बढ्दै गरेकालाई उचाल्‍नुको साटो कुदृष्टिले हेर्ने
  • थोरै या अपूर्ण ज्ञानको आधारमा त्रुटिपूर्ण विश्‍लेषणहरू र अभियव्यक्तिहरू दिईहाल्‍ने
  • कडा (र बाइबल-बाहिरी) नियमहरूमा बाँधिएकोमा गर्व गर्दै सबैलाई त्यसरी नै बाँधिन अपेक्षा गर्ने र सो नभए घृणा गर्ने
  • कडा, कठोर र हठी हुँदा नै आत्मिकी हुने बुझाइसाथ व्यवहार गर्दै परमेश्‍वरको कृपा र कठोरताको शिक्षालाई बङ्गाउने
  • धेरै बोल्‍ने अनि आफ्नै कुराहरू बढि राखेर आफ्नो मतमा (फरिसीवादमा) अरूलाई पनि ल्याउन खोज्‍ने


यस्तै यस्तै चरित्रहरू अपनाउँदै फरिसीवाद आज पनि कायमै छ! जसरी येशू ख्रीष्टले फरिसीहरूको खमीरबाट होसियार रहन भन्‍नुभयो, आज पनि त्यस चेतावनी सान्दर्भिक छ! यसको अर्थ सत्यताको लागि खडा र अडिग हुनु हुँदैन भन्‍ने होइन। अवश्य पनि सत्यतामा कुनै सम्झौता हुन सक्दैन! स्टिफनस, याकूब, पावल, आदि सत्यताको लागि कुनै सम्झौता बिना खडा भए। उनीहरूलाई येशूले फरिसीहरू भन्‍नुभएन! तर तिनीहरूलाई भन्‍नुभयो जसले ठान्दथे उनीहरू सब जान्दछन् र उनीहरू नै ठीक हुन् तर वास्तवमा उनीहरू ठूलो भ्रममा थिए। पवित्रशास्‍त्र सबै जान्दछौं भनी घमण्ड गर्दथे। आफू र आफू जस्तैहरू बाहेक सबै गलत र धिक्‍कारका योग्यहरू हुन् भनी ठान्दथे। यस्ता फरिसीहरूको खमीरबाट टाढा रहन चेतावनी दिईयो। खमीरले सबैलाई खमीरी बनाउँदछ। फरिसीवादको फैलावट एक फरिसीबाट हुन्छ र सबैमा फैलिन्छ। खमीरको नजिक नपरौं, जो पर्छ ऊ पनि निश्‍चय खमीर बन्छ – उसले थाहा पाएर वा थाहा नपाईकनै!

फरिसीवादको समस्या यति गम्भीर थियो कि येशूले यस प्रकारको कडा वचन दिनुपर्यो – “हे शास्‍त्री र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्‍कार! किनभने तिमीहरूले एकजनालाई आफ्नो मतमा हुल्नालाई समुद्र र जमिन चाहार्छौ, अनि जब त्यो मतमा आउँछ, तब तिमीहरूले त्यसलाई आफूभन्दा दोबर नरकको बच्‍चा बनाउँछौं।” (मत्ती २३:१५)

त्यसैले हामी सबै सचेत रहौं! फरिसीवाद पहिचान गर्न सक्षम बनौं र इन्कार गर्न तयार रहौं!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *