फ्यान्नि जे. क्रस्बी

फ्यान्नि जे. क्रस्बी अमेरिकन भजन लेखक हुन्। उनले लेखेका थुप्रै आत्मिक भजनहरू आजसम्म पनि संसारभर गाइन्छन्। भनिन्छ कि उनले आफ्नो जीवन कालमा ८,००० भन्दा बढी भजनहरू लेखिन्। उनी दृष्टिविहिन थिइन्। सानोमा एक डक्टरको गल्तीका कारण उनले दुवै आँखाको दृष्टि गुमाउन पुगिन्। दृष्टिविहिन भएता पनि उनी प्रतिभाविहिन भने थिइनन्। परमेश्वरले उनलाई धेरै आत्मिक र आशिषमय भजनहरू लेख्न प्रयोग गर्नुभयो। उनले भजन लेख्दा प्रार्थनासाथ लेख्थिन्। उनको प्रार्थना धेरैले उनको भजनद्वारा ख्रीष्टलाई चिन्न सकुन् भन्ने हुन्थ्यो। उनको रचनाहरूद्वारा धेरै जनाले आशिष पाएका छन्। भजन लेख्ने मात्रै होइन उनी अवसर पाएसम्म सुसमचार प्रचार गर्न पनि अग्रसर हुन्थिन्। उनी न्यू योर्क शहरमा बस्ने गर्थिन् जहाँ जनसंख्या ठूलो थियो। आफुलाई मिलेको आर्थिक सहयोगलाई उनले गरिबहरू र खाँचोमा परेकाहरूलाई दिने गर्थिन्। उनलाई विभिन्न ठाउँहरूमा साक्षी दिन निमन्त्रणा गरिन्थ्यो। उनको गवाहिबाट पनि धेरैले आशिष पाउँथे।
सन् १८८० मा उनले गरिबहरू र खाँचोमा परेकाहरूलाई सहयोग गर्न अघि बढ्ने अठोट गरिन्। उनी धेरै मिसन संस्थाहरूमा सहभागि भइन्। यी संघ-संस्थाहरूद्वारा खाँचोमा परेकाहरूलाई सहायता गर्न र सुसमचार प्रचार गर्न उनी लागि परिन्। यसरी सेवा गर्ने क्रममा आफूले अनुभव गरेका घटनाहरूबाट उनले अरू भजनहरू पनि लेखे। उनका भजनहरू र साक्षीका कारण उनी लोकप्रिय बनिन्। उनको व्यक्तित्व पनि गज्जबको थियो। ठूला ठूला राजनीतिक र अन्य क्षेत्रका व्यक्तित्वहरूले समेत उनलाई उच्च भावले हेर्थे। उनका कयौं बाइबल आधारित भजनहरूले आजसम्म संसारभरका विश्वासीहरूलाई आशिषित बनाइरहेछ, अनि उत्साह दिइरहेछ। “येशू हुन् मेरो निश्चयता”, “म तपाईको हुँ, कति प्यार मलाई”, “महान सृष्टिकर्ता, परमेश्वरको जय” जस्ता आशिषमय भजनहरू उनले लेखेका हुन्। यी भजनहरू आज पनि हामी गाउँछौं र आशिष पाउछौं।