बाइबलमा रस्सिया/रूस
इजकिएल ३८ र ३९ अध्यायहरूमा ‘गोग र मागोगको’ विषय आएको छ। गोग र मागोगले अन्तिम दिनहरूमा इस्राएल राष्ट्रलाई आक्रमण गर्ने उल्लेख भएको छ। गोग र मागोग एक ठूलो र सामर्थी फौज हुने संकेत छ। गोग र मागोग कुन जाति होलान् भन्ने प्रश्न बाइबल अध्ययन गर्नेहरूमाझ चासोको विषय रहँदै आएको छ।
इजकिएल ३८:२ मा लेखिएको छ, “हे मानिसको छोरा, आफ्नो अनुहार मागोगको देशको गोगतिर लगाऊ, जो मेशेक र तूबलको मुख्य शासक हो, र त्यसको विरोधमा भिविष्यवाणी गर!” अध्ययन गर्नेहरूमध्ये धेरैले मेशेक आजको मस्काउ शहर हुन सक्छ भनी विचार गरेका छन्। मस्काउ हालको रस्सिया/रूसको राजधानी हो। त्यसैगरी तूबल पनि रूसको एक शहर हुन सक्ने देखिन्छ।
इजकिएल ३८:१५ मा लेखिएको छ, “अनि तँ आफ्नो ठाउँबाट उत्तरीय भागहरूदेखि आउनेछस् – तँ र तँसित धेरै जातिका मानिसहरू, जो सबैजना घोडाहरूमाथि चढेका हुन्छन् – एउटा ठूलो जमात, एउटा शक्तिशाली सेना”। यस पदबाट हामी बुझ्छौं कि यो जाति इस्राएलको उत्तरीय भागहरूबाट आउने देखिन्छ। साथै यो जाति शक्तिशाली हुनेछ। इस्राएलको उत्तरपट्टि रहेको शक्तिशाली राष्ट्र रूस नै हो।
विश्व घटनालाई नियाल्दा पनि गोग र मागोग रूस नै हो भन्ने बुझाइ बलियो भएको देखिन्छ। इजकिएलको भविष्यवाणी अनुसार आउने समयहरूमा रूस र रूसको साथमा आउने गठबन्धन फौजले इस्राएललाई हमला गर्ने संकेत छ। विगतमा पनि रूसले इस्राएल विरूद्ध लडाइ नगरेको होइन। सन् १९६७ को ‘छ दिने युद्ध’को समयमा रूसले इस्राएल विरूद्ध अरब मुलुकहरूलाई सहयोग गरेको थियो। आज पनि रूस र इस्राएलबीच सम्बन्ध राम्रो छैन।
तर गोग र मागोग अन्तत पराजित हुने भविष्यवाणी छ। इस्राएलको पक्षमा परमेश्वर लड्नुहुनेछ।
अन्तत, बाइबलमा रूसको विषयमा प्रष्ट भविष्यवाणीहरू आएको देखिन्छ। अनि साँच्चै बाइबलले भने अनुसार नै रूस शक्तिशाली राष्ट्रको रूपमा अघि बढिरहेको छ। बाइबल सत्य छ! यो परमेश्वरको वचन हो। यसमा भरोसा गर्नेहरू धन्य हुन्!