बोझका पत्रहरू
- Short Devotion
- July 28, 2023
- 0
- 85
- 1 minute read
२ राजा १९:१४ मा लेखिएको छ, “अनि हिजकियाहले दूतहरूको हातद्वारा एउटा पत्र पाए, त्यो पत्र पढे। तब हिजकियाह माथि परमप्रभुको भवनमा गए, र परमप्रभुको सामु त्यो पत्र फैलाइदिए।”
यस खण्डमा उल्लेखित घटना साह्रै जटिल थियो। यहूदिहरूको विरूद्धमा शक्तिशाली अश्शूरीहरूका फौज उठेको थियो। ती भयानक फौजले यरूशलेम घेरेको थियो। यहूदिहरूका राजा हिजकियाहलाई चेतावनी र धम्कीको पत्र पठाईयो। त्यो पत्र सामान्य पत्र थिएन। जब राजाले त्यो पत्र पढे, अवश्य पनि उनी चिन्तित भए, निराश भए; त्यो बोझिलो पत्र थियो, एक बोझको पत्र। त्यो परिस्थिति राजा हिजकियाहको सामर्थ्य, क्षमता भन्दा बाहिरको अवस्था थियो। जब उनले त्यो पत्र पाए अनि पढे, तब उनले के गरे? उनी यहूदिहरूको सेनापतिकहाँ गएनन्, लडाकुहरूकहाँ गएनन्। यो हातहतियारले जित्ने युद्ध थिएन। उनी पूजाहारीकहाँ पनि गएनन्, उनी सिधै परमेश्वरको सामु गए। उहाँले मात्रै उनलाई र यहूदि राज्यलाई विजय दिन सक्नुहुनेथ्यो। उनी परमेश्वरको सामु गए र त्यो पत्र परमप्रभुको सामु फैलाइदिए!
आज तपाई र मलाई पनि यसै गर्ने अवसर छ! के तपाईले आज बोझका पत्रहरू पाउनुभएको छ? के तपाईको जीवनमा आज चुनौतीहरू र संकष्टहरू छन्? ती परिस्थितिहरू जुन अति बोझिला छन्, हामी आफै बोक्न सक्दैनौं। तर परमेश्वरलाई धन्यवाद होस् हामी उहाँकहाँ हाम्रा बोझका पत्रहरू फैलाउन सक्छौं; हाम्रा बोझहरू उहाँमा राख्न सक्छौं। हामी कति धन्यकाहरू! बोझहरू त आउँछन् नै तर हामी ती बोझहरू बोकेर बस्नु पर्दैन। परमेश्वरकहाँ राख्न सक्छौं। उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ, सहायता गर्नुहुन्छ। विचरा ती मानिसहरू जो डाँडा-काँडा, विभिन्न ठाउँहरूमा, अनि ढुङ्गा र धातुका आकृतिहरू अघि आफ्ना बोझहरू फैलाउँछन्; तर कसैले सुन्दैन। आफै फेरि बोझ बोकेरै फर्कन्छन्, जीवन बोझहरूले दबिएरै रहन्छ। तर धन्य ती मानिसहरू जसले बोझ बिसाउने ठाऊँ पाएका छन्; जसले सत्य जीवित परमेश्वरलाई चिनेका छन् र उहाँकहाँ आफ्ना बोझहरू फैलाउन सक्छन्।
आज तपाईको बोझ के छ? जे सुकै भए पनि, यदि तपाई परमेश्वरको जन हो भने तपाई परमेश्वरकहाँ आफ्ना बोझहरू राख्न सक्नुहुन्छ, यहि निश्चयता साथ कि ‘हाम्रो बोझ परमप्रभुमाथि राख्दा, उहाँले हामीलाई सम्हाल्नुहुनेछ; उहाँले धर्मी जनलाई कहिल्यै डग्न दिनुहुनेछैन’ (भजनसंग्रह ५५:२२)।