भक्त सिंग
भक्त सिंगलाई भाइ भक्त सिंग भनेर पनि चिनिन्थ्यो। उनी पन्जावको शिख परिवारमा जन्मेका थिए। उनलाई भारतको प्रख्यात बाइबल प्रचारक भनी चिनिन्छ। उनलाई कतिले २१औं शताब्दीको एलिया पनि भनेका छन्। सन् १९२९ मा क्यानाडामा इन्जिनियरिङ पढ्ने क्रममा उनले येशू ख्रीष्टको प्रेमको विषयमा सुन्न पाएका थिए। सन् १९३२ मा उनी ख्रीष्टियन भए। यस अघि उनी ईशाई मतको विरोधी थिए। उनले बाइबललाई च्यातेका पनि थिए। पावलको जीवन जस्तै जब भक्त सिंगको जीवन परिवर्तन भयो, उनी परमेश्वरको लागि निकै जोशिला भए। भारतमा बाइबल प्रचार गर्न र सुसमाचार बताउन उनी ज्यादै सक्रिय भए। उनी विभिन्न ठाउँहरू गएर प्रचार गर्थे। उनको सेवाकाइबाट करिब १०,००० स्थानीय मण्डलीहरू स्थापना भए।
उनी ख्रीष्टियन भएपछि उनका बाबुआमाले उनलाई त्यागे। उनी घरविहीन भए पनि बम्बेका बजारहरूमा उनले वचन प्रचार गर्न थाले। उनले पछि गएर ठूला ठूला सभाहरू आयोजना गरे। हाइदराबादमा भएको सभामा २५,००० मानिसहरू भेला भएका थिए। उनीहरूलाई खाना र बस्नको व्यवस्था गर्न स्वइच्छिक सहयोगिहरूले साथ दिए। यस्ता सभाहरूमा प्रार्थनामा समय बिताउने गरिन्थ्यो, र परमेश्वरको वचन प्रचार हुन्थ्यो। उनको सेवाकाइको प्रभाव भारतभरि र छिमेकी राष्ट्रहरूसम्म पुग्यो। उनको सेवाकाइद्वारा धेरैले उद्धार पाउनुका साथै, थुप्रै नयाँ मण्डलीहरू शूरू भए। ९७ वर्षको उमेरमा सुतिरहेको अवस्थामै उनको मृत्यु भयो। उनको दफन कार्यक्रममा २,५०,००० मानिसहरू भेला भएका थिए। भक्त सिंगले परमेश्वरको सेवाका लागि आफ्नो पढाइ, काम र परिवार त्यागे। उनको अनुसरनीय साधना र विश्वासको चर्चा आज पनि गरिन्छ। आफ्नो इन्जिनियरिङ स्वार्थलाई त्यागी निन्दा र गिल्ला सहँदै ख्रीष्टको काममा जोशिलो साथ अघि बढेका भक्त सिंग आज धेरै विश्वासीहरूका लागि सुन्दर नमुना बनेका छन्।