मण्डली के हो?
‘मण्डली’ शब्द ग्रीक भाषाको ‘एक्लेशिया’ शब्दको नेपाली अनुदित शब्द हो। ‘एक्लेशिया’ शब्दको मूल अर्थ ‘बाहिर बोलाइएको’ भन्ने हुन्छ भने ग्रीक भाषा साहित्यको चलन चल्तीमा ‘एक्लेशिया शब्दको अर्थ ‘सभा’ भन्ने हुन्छ। नयाँ नियममा पनि ‘एक्लेशिया’ शब्दको अर्थ ‘सभा’ हुन्छ। नयाँ नियममा ‘मण्डली’ वा ‘मण्डलीहरू’ भन्ने शब्द ११४ पटक प्रयोग भएको छ।
नयाँ नियम अनुसार,
(१) मण्डली स्थानीय हुन्छ (प्रेरित ८:१; १३:१; १ कोरिन्थी १:२)।
(२) मण्डली दृश्य हुन्छ (२ कोरिन्थी १:१,१५,१६; १ थिस्सलोनिकी ३:१०)
(३) मण्डली संगठित र व्यवस्थित हुन्छ (१ कोरिन्थी १४:४०; कलस्सी २:५; तीतस १:५; १ तिमोथी ३:१५)। सुसमाचारमा विश्वास गर्नेहरूलाई सिकाउन र व्यवस्थित गर्न यरुशलेम मण्डलीले एन्टिओकमा जान वर्णवासलाई निर्देशन दिइएको थियो (प्रेरित १३:१९,२६)। वर्णवास यरुशलेम मण्डलीको अनुशासन र अधीनमा रहेको योग्य र सक्षम सदस्य थिए। परमेश्वरको मण्डली सत्यको खाँवो र जग (१ तिमोथी ३:१५) भएकोले व्यवस्थित गर्न प्रथमत: योग्य शिक्षकहरूको जरुरी हुन्छ। यही उद्देश्यले थप सहयोगका लागि वर्णवासले पावललाई टार्ससबाट ल्याए र एक सालभरि सिकाए (प्रेरित ११:२६)। यो कार्यबाट शिक्षामा सही रुपले बसालिने र एक मण्डलीबाट अर्कोमा सत्यको हस्तान्तरण हुने कार्य भयो। सत्य जस्ताको तस्तै रुपमा हस्तान्तरण हुनुपर्दछ (२ तिमोथी २:२)। यो कार्यको नेतृत्व मण्डलीले गर्दछ नकि व्यक्तिले (प्रेरित ११:२२)। कुनै पनि मण्डलीको सदस्य नरहेको वा मण्डलीको अधीनमा नरहेको वा अयोग्य व्यक्तिलाई मण्डली स्थापनार्थ पठाइन हुँदैन। बर्णवास असल मानिस थिए जो पवित्र आत्मा र विश्वासले भरपूर थिए (प्रेरित ११:२४)। त्यसरी नै पावल परमेश्वरबाट सिकाइएको योग्य प्रचारक र शिक्षक थिए। मण्डलीलाई दिइएका चित्रणहरूले पनि मण्डली संगठित र व्यवस्थित हुन्छ भन्ने पुष्टि गर्छ, जस्तै,
· शरीर (१ कोरिन्थी १२:१२-२७)।
· भवन (१ पत्रुस २:१५; १ कोरिन्थी ३:१०-१७)।
· दुलही (२ कोरिन्थी ११:२)।