मानिसहरू ख्रीष्टको क्रूसद्वारा मात्र बाँच्न सक्छन् भने येशू आउनुभन्दा अघि कोद्वारा बाँचे होलान्?
मानिसहरू ख्रीष्टको क्रूसद्वारा मात्र बाँच्न सक्छन् भने येशू आउनुभन्दा अघि कोद्वारा बाँचे होलान्?
– बल ब. लामा
हो, मानिसहरू ख्रीष्टको क्रूसद्वारा मात्र बाँच्न सक्दछन्। बिना बलिदान (रगत) पाप क्षमा हुँदैन (हिब्रू ९:२२)। प्रकाश १३:८ ले येशू संसारको उत्पतिदेखि नै मारिनुभएको बताउँदछ। पाप क्षमाको निम्ति परमेश्वरले उत्पतिदेखि नै मानिसलाई बलिदानको आवश्यकता देखाउँदै आउनुभएको हो। त्यस बलिदानले परमेश्वरको थुमा ख्रीष्टको बलिदानको छाँया दिन्थ्यो। हाबिलले विश्वासैद्वारा त्यस बलिदान ल्याए र धर्मी ठहरिए। नूह परमेश्वरमा बलिदान ल्याउने गर्थे। त्यसरी नै अब्राहामले पनि। व्यवस्था आएपछि त्यस बलिदानलाई ज्यादै स्पष्ट पारियो। तर जब परमेश्वरको थुमा (यूहन्ना १:२९) को बलिदान भयो तब पहिलो बलिदान अर्थात् छायाँलाई हटाइयो (हिब्रू १०:९)।
येशू आउनुभन्दा पहिले मानिसहरूले भविष्यमा हुने ख्रीष्टको बलिदानमाथि विश्वास गर्दै मुक्ति पाउँथे भने आज मानिसहरूले विगतमा भएको ख्रीष्टको बलिदानमाथि विश्वास गर्दै मुक्ति पाउँछन्।
एनोन पत्रिकाबाट साभारित