मेरी स्लेसर

 मेरी स्लेसर

परमेश्वरले आफ्नो महिमाको लागि आफ्नो सेवामा महिलाहरूलाई ठूलो रूपमा प्रयोग गर्दै आउनुभएको छ। मेरी स्लेसर यस्तै एक महिला हुन् जसले परमेश्वरको महिमाको लागि पश्चिम अफ्रिकाको कालाबार नामक ठाउँमा साहसिक रूपमा ख्रीष्ट प्रचारिन्। उनको बुबा जुत्ता बनाउने पेशा गर्थे। कमाएको अधिकांश पैसा उनको बुबाले भट्टीमा सक्थे। मेरि सातजना छोराछोरि मध्ये दोस्रो थिइन्। परिवारमा हुने अशान्तिबीच पनि सानैबाट उनले परमेश्वरको वचनमा सान्त्वना र आनन्द पाउन सिकेका थिइन्। उनकी आमाले प्रभुमा अघि बढ्न उनलाई उत्साह दिन्थे।

जब उनी ११ वर्षको थिइन् उनले कपडा बुन्‍ने फ्याक्ट्रीमा काम गर्न थालिन्। उनी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्थिन्। एकदिन जब उनी २५ वर्षका थिइन् अफ्रिकाको एक मिसनरी डेविड लिभिंस्टनको मृत्युको खबर उनले सुनिन्। उनले आफू अफ्रिकामा मिसनरी हुने अठोट गरिन्। सन् १८७६ मा उनी अफ्रिका प्रस्थान गरिन्। उनले कालाबार भन्‍ने ठाउँको भाषा सिकिन्। उनी धेरै शिक्षित व्यक्ति थिइनन् तर पनि परमेश्वरको सहायतामा उनले त्यस ठाउँका नानीहरूलाई पढ्न-लेख्‍न सिकाउन थालिन्। त्यस ठाउँ भूतप्रेत र बोक्सि विद्यामा डुबेको ठाउँ थियो। जुम्ल्याह बच्चा जन्माउने महिलालाई भुत लागेको भनिन्थ्यो र आमा र दुवै बच्चालाई मारिन्थ्यो। मेरीले यो प्रथाको अन्त्य गर्न ठूलो भूमिका निर्वाह गरिन्। बचेका जुम्ल्याह बच्चाहरूलाई आफ्नै घरमा ल्याएर पालन पोषण गर्थिन्। त्यस ठाउँका जंगलहरू हुँदो यात्रा गर्दै उनी ठाउँ-ठाउँ पुगेर सुसमचार प्रचार गर्थिन्। ती डरलाग्दा आदिवासीहरूको बीचमा नीडरसाथ उनले येशू प्रचार गरिरहिन्। उनको चाहाना सधैं कहिल्यै सुसमचार नपुगेको ठाउँमा सुसमचार प्रचार गर्नु नै हुन्थ्यो।

उनको अगुवाइमा त्यस क्षेत्रमा थुप्रे स्कुलहरू स्थापित भए। मण्डलीहरू शुरू गर्न पनि उनले ठूलो भूमिका खेले। उनको सेवाकाइको कारणले त्यस क्षेत्रमा विकास र शिक्षा मात्रै आएन तर सबैभन्दा ठूलो कुरा सुसमचारको ज्योति प्रवेश भयो। साँच्चै एक महिलालाई परमेश्वरले आफ्नो महिमाको लागि बेजोड तरीकामा प्रयोग गर्न सक्‍नुहुन्छ, केवल उहाँ इच्छुक व्यक्तिको चाह गर्नुहुन्छ। मेरी स्लेसर यसको सुन्दर उदाहरण हुन्। जब सन् १९१५ मा उनको मृत्यु भयो उनी ती अफ्रिकी नानीहरूले घेरिएकी थिइन्। उनको अन्त्य भयो तर त्यस ठाउँमा सुसमचारले बदलिएको नयाँ पुस्ता र नयाँ युग शुरू भएको थियो।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *