मोबाइल बाइबल र मण्डली सभा

 मोबाइल बाइबल र मण्डली सभा

आजभोलि सबैको मोबाइलमा बाइबल हुन्छ, र अहिले त भजन पनि हुन्छ। आधुनिक संचार माध्यमहरूको द्रुत विकासको कारण विश्‍वासीहरूले पनि धेरै कुराहरूमा फाइदा उठाउन सक्छन्। गाडिमा हुँदा, बाटोमा पर्खिँदा, हस्पिटलमा पर्खिँदा, आदि जस्ता समयहरूमा मोबाइलमा भएको बाइबल पढ्न पाउनु धेरै राम्रो सुविधा हो। यो ठूलो आशिष हो कि हामी जहाँ जाँदा पनि बाइबल हाम्रो मोबाइलमा साथैमा हुँदछ। पहिलेको समयमा चर्म पत्रहरूमा बाइबल उपलब्ध हुन्थ्यो। ती चर्म पत्रहरूका मुठा निकै ठूलो र गह्रौं हुन्थ्यो। पुरै ६६ पुस्तकहरू बोकेर हिँड्नु निकै कठिन हुन्थ्यो। बिस्तारै विकास हुँदै कागजका पुस्तकहरू तयार हुन थाले। छापाखानाहरूको विकास भयो। क्रमिक रूपमा बाइबल पनि सबैले पाउन सक्‍ने र बोक्‍न सक्‍ने अवस्थामा तयार हुँदै गयो। आज विकास हुँदै मोबाइल र ट्याब्लेटमा बाइबल उपलब्ध भइसकेको छ। माध्यम फरक फरक होला तर परमेश्‍वरको वचन बाइबल उहि हो। चाहे ढुङ्गाका पाटिहरूमा लेखियोस्, चाहे चर्म पत्रहरूमा, चाहे कागजका पुस्तकहरूमा, या चाहे मोबाइलमा। त्यसैले मोबाइलमा बाइबल पढ्नु आपत्तिजनक छैन।

तर मण्डली सभामा मोबाइलमा बाइबल हेर्नु र पढ्नुमा चाहिँ केहि शतर्कता अपनाउनु बुद्धिमानी हुँदछ। मण्डली सभाहरूमा मोबाइल प्रयोग गर्दा विशेष गरी नयाँ व्यक्तिहरूलाई ठेस लाग्‍ने ठूलो सम्भावना हुँदछ। होला तपाईले र मैले त बाइबल नै हेरेको होला तर टाढाबाट हेर्दा फेसबुक चलाएको, या गेम खेलेको फरक छुट्टाउन सकिँदैन। हाम्रो व्यवहारले अरूलाई ठेस लगाउनु दुख लाग्दो कुरा हो। त्यसैगरी कसैले कागजकै पुस्तकमा उपलब्ध बाइबल प्रयोग गर्ने अनि कसैले चाहिँ मोबाइल या ट्याब्लेटमा बाइबल हेर्ने गर्दा एक रूपता पनि देखिँदैन। तर अझै अर्को कुरा त के हामीलाई अब मण्डली सभाहरूमा बाइबल र भजन बोक्‍न भारी भएकै हो त? बाइबल र भजन बोक्‍न भारी भएको हो कि व्यवास्ता गरिएको हो? स्कुल-कलेजमा ठूला ठूला पुस्तकहरूको भारी बोक्‍ने हामी, मण्डली सभामा जुट्दा एउटा भजन र बाइबल बोक्‍न अफ्ठ्यारो मान्‍नु उचित होइन होला। साथै मण्डली सभाहरूमा मोबाइल प्रयोग गर्दा ध्यान अन्यत्र जाने ठूलो सम्भावना रहन्छ। बाइबल हेर्दा हेर्दै तपाईको मेसेज आउला, तपाईको फोन आउला, नोटिफिकेसनहरू आउला। तपाईले ‘एरोप्लेन मोड’मा राखे पनि, प्रवचन अघि बढ्दै जाँदा यसो फोटो हेर्न मन लाग्ला, यसो पुरानो मेसेजहरू हेर्न मन लाग्ला। तपाईले भन्‍नु होला, “होइन म त त्यस्तो गर्दिन। म आफूलाई वशमा राख्‍न सक्छु!” ठीक हो, तपाईले आफूलाई वशमा राख्‍नु होला तर त्यहाँ ध्यान अन्यत्र जानलाई मौका त भयो नि!

बढ्दो संचार माध्यमको विकासलाई सहि रूपमा उपयोग गर्नु आवश्यक छ। नत्र अनुशासनहिनता र अनेक प्रकारको गोलमाल पैदा नहोला भन्‍न सकिन्‍न। यी संचार माध्यमहरूलाई सदुपयोग गरी प्रभुको महिमा गर्न परमेश्‍वरले हामी सबै विश्‍वासीहरूलाई बुद्धि दिनुभएको होस्!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *