यूहन्ना ३:५ मा पानी र आत्माबाट जन्मको बारेमा बताएको छ। के यसले बप्तिस्मालाई भन्न खोजेको हो?

Blue Water
यूहन्ना ३:५ मा पानी र आत्माबाट जन्मको बारेमा बताएको छ। आत्माबाटको जन्म त बुझें तर यो पानीबाट भन्न खोजेको चाहिँ के होला? के यसले बप्तिस्मालाई भन्न खोजेको हो?
एनोनको जवाफ: येशूले निकोदेमसलाई भन्नुभयो “कोही मानिस पानी र आत्माबाट जन्मेन बने ऊ परमेश्वरको राज्यभित्र पस्न सक्दैन”। यहाँ ‘पानी’ शब्द सांकेतिक रुपमा प्रयोग गरिएको हो, यो वास्तविक पानी होइन। कतिले पानीको तात्पर्य पानीको बप्तिस्मा हो भन्ने अर्थ लगाइरहेका छन् र मुक्तिको निम्ति पानीको बप्तिस्माको अपरिहार्यताको वकालत गरिरहेका छन्। फलस्वरुप बाल बप्तिस्मा, छिटकाउ बप्तिस्मा, तत्काल बप्तिस्मा लिनुपर्ने आकस्मिकताको औचित्य पुष्टिलाई अघि बढाउँछन्। तर बप्तिस्माले नयाँ जन्म दिंदैन नता मुक्ति दिन्छ। मुक्ति विश्वासद्वारा अनुग्रहले पाइन्छ नकि पानीको बप्तिस्माद्वारा। पानीको बप्तिस्मा एक विधि हो, काम हो। लेखिएको छ, “किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैंबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्रता कसैले घमण्ड गर्नेछ” (एफिसी २:८,९)। नयाँ जन्म वा उद्धार मानवीय कामद्वारा होइन। पानीको बप्तिस्मा, रोटी भचाइ, दान आदिद्वारा कोही कसैले मुक्ति पाउन सक्दैन। पानीको बप्तिस्मा लिन अघि व्यक्तिले नयाँ जन्म पाउन आवश्यक हुन्छ। तीतस ३:५ मा लेखिएको छ, “तब हामी आफैंले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो, नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकारणद्वारा।” तसर्थ ‘पानी र आत्माद्वारा नयाँ जन्म’ भन्नुको तात्पर्य परमेश्वरको अनुग्रहद्वारा नयाँ जन्म भनिएको हो। जब एक व्यक्तिले परमेश्वरको वचन सुन्दछ, पवित्र आत्माको दोषी ठहर्याईबाट उनी साँचो पश्चात्ताप गर्दै पापहरूको क्षमाको निम्ति ख्रीष्ट येशूमा विश्वास गर्दछ उनले नयाँ जन्म पाउँदछ। साँचो सुसमाचारको सुनाई र पवित्र आत्माको कार्यद्वारा एक व्यक्तिले नयाँ जन्म पाउँदछ। परमेश्वरले आफ्नो ठूलो दया अनुसार मानिसलाई नयाँ गरी जन्माउनुहुन्छ (१ पत्रुस १:३)। तसर्थ यूहन्ना ३:५ मा ‘पानी’ कुनै प्राकृतिक पानी नभई शुद्धिकरण जनाउने सांकेतिक संज्ञा हो। एउटा फोहोरमा लडिबुडी गरेको बालकलाई पहिला नुहाइन्छ त्यसपछि सुगन्धित तेल लगाइन्छ। अब फोहोर र गन्धे बालक सफा र बास्नादार हुन्छ, नयाँ हुन्छ। नयाँ जन्म परमेश्वरको अनुग्रहको वरदान हो।