लेवी संक्षिप्त टिप्पणी (अध्याय ११-२०)

अध्याय ११

  • परमेश्वरले किन एउटा पुरै अध्याय कुन पशु खानु कुन नखानु भन्नाका लागि दिनुभएको होला? परमेश्वरले इस्राएलीहरूलाई कडा रूपमा आज्ञा दिनु भयो कि अशुद्ध र शुद्ध पशुहरूमा भिन्नता राखिनु पर्दछ। अशुद्ध पशु खाने या छुनेहरू पनि अशुद्ध मानिन्थे। कुन पशु अशुद्ध र कुन पशु शुद्ध भन्ने कुरा उहाँले प्रष्टसँग बताइदिनुभयो।
  • शुद्ध र अशुद्ध पशु छुट्याउनुको दुई कारणहरू देखिन्छन्: पहिलो – इस्राएल जाति अरू जाति भन्दा फरक भएको परमेश्वर चाहानुहुन्थ्यो। अन्य जातिहरूले लगभग सबै प्रकारका पशुहरू खान्थे र कति पशुहरूचाहिँ मूर्तिपूजामा प्रयोग हुन्थ्यो। इस्राएलीहरू अन्यजातिहरूबाट अलग रहेको परमेश्वर चाहानुहुन्थ्यो। उनीहरू जस्तै खानु र मूर्तिपूजा गर्नु मिल्दैनथ्यो। इस्राएल भिन्न र विशेष जाति हुनुपर्थ्यो जसबाट सारा संसारले परमेश्वरलाई चिन्ने थिए। दोस्रो – कति पशुहरू स्वास्थ्यको लागि त्यति फाइदाजनक पनि थिएनन्। इस्राएलीहरूको स्वास्थ्य उत्तम भएको उहाँ चाहानुहुन्थ्यो। वैज्ञानिकहरूले पनि पत्ता लगाएका छन् कि कुनै कुनै पशुहरू खानु मानव स्वास्थ्यको लागि हानिकारक हुन सक्छ।
  • परमेश्वरले आफ्नो जनको वास्ता गर्नुहुन्छ। हाम्रो शरीर परमेश्वरको मन्दिर हो। स्वास्थ्य शरीरबाट परमेश्वरको महिमा भएको उहाँ चाहानुहुन्छ।

अध्याय १२

  • एक सन्तानको जन्म हुँदा साधरणतय हर्षोल्लास हुन्छ, तर परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्था अनुसार सन्तान जन्माएपछि एक स्त्री निश्चित तोकिएको समयको लागि अशुद्ध ठहरिन्थिन्। उनको शुद्धिकरणको समय पूरा भएपछि मात्रै उनी आफ्नो परिवार र समाजकहाँ आउन सक्थिन्।
  • त्यस बालक पापमै जन्मेको हो भन्ने चित्रण यस व्यवस्थामा देखिन्छ। संसारमा जन्मने हरेक बालक पापी स्वभाव लिएर जन्मन्छ। अनि शुद्धिकरणका दिनहरू पूरा भएपछि त्यस आमाले पापबलि चढाउनुपर्थ्यो।
  • हामी सबै पापमै जन्मेका हौं (भजनसंग्रह ५१:५)। हामी शुद्ध हुने एक मात्र उपाय ख्रीष्टको बलिदान नै हो।

अध्याय १३ र १४

  • कोरी रोग छालाको रोग थियो। यो रोग सजिलै अरूमा पनि सर्ने देखिन्छ। यो रोग मिश्रबाट शुरू भएको अनुमान गरिन्छ। इस्राएलीहरू मिश्रमा हुँदा घाम, धुलो र विभिन्न प्रकारका फोहोर वातावरणमा दिनभर काम गर्थे। नाङ्गो छालामा मिश्रको तातो हावा अनि ईँटाको धूलोले कोरी रोगलाई ठाऊँ दिन्थ्यो। यो रोगबाट इस्राएलीहरू अलग रहनुपर्थ्यो। यो रोग लागेको मानिसको नजिक रहन हुँदैनथ्यो। पूर्ण अलगपनताको नियम दिइएको थियो। शुद्ध भएपछि अन्त्यमा बलि चढाउनुपर्थ्यो।
  • कोरी रोगले बाइबलमा बारम्बार अपवित्रताको चित्रण दिन्छ।
  • हामी संसारको दुष्टता र घृणित पापहरूबाट अलग रहनुपर्छ। (२ कोरिन्थी ६:१७)

अध्याय १५

  • परमेश्वरले इस्राएलीहरूलाई उहाँ पवित्र परमेश्वर हुनुहुन्छ भनी चिनाउँदै हुनुहुन्थ्यो। हरेक कुरामा शुद्ध र अशुद्धमा भिन्नता राखिनुपर्थ्यो। यस अध्यायमा उल्लेखित पुरूषको अशुद्धता व्यभिचारको प्रतिफल मानिन्थ्यो। व्यभिचारद्वारा त्यस पुरूष अपवित्र भएको छ। स्त्रीको रगत बहाउ पनि अशुद्ध मानिन्थ्यो।
  • पवित्रता परमेश्वरको आधारभूत चरित्र हो। पवित्र परमेश्वरको लागि जिउन हामी पनि पवित्र हुनैपर्छ। हरेक किसिमको अशुद्धताबाट अलग हुनै पर्छ। अशुद्ध व्यक्तिहरूबाट टाढा रहनुपर्छ।

अध्याय १६

  • प्रायश्चितको दिन वर्षको एकपल्ट मनाउनु पर्ने नियम दिइयो। प्रायश्चितको दिनले येशू ख्रीष्टको बलिदानको चित्रण दिन्थ्यो। पहिला, महापूजाहारीले आफ्नो र आफ्नो घरानाका लागि एउटा बहर पाप बलिको लागि र थुमा होमबलिको रूपमा चढाउनुपर्थ्यो। त्यसपछि इस्राएलीहरूका लागि एउटा थुमा होमबलिको रूपमा चढाइन्थ्यो। अनि दुई बोकाहरू ल्याइन्थे। चिठ्ठा हालेर एउटालाई इस्राएलीहरूका लागि पापबलिको रूपमा चढाइन्थ्यो र अर्कोलाई चाहिँ जिउँदै टाढा उजाडस्थानतिर जानलाई छोडिइन्थ्यो।
  • हाम्रा पापहरू येशू ख्रीष्टले बोक्नुभयो र बलि हुनुभयो। उहाँले हाम्रा पापहरू धेरै टाढा हटाइदिनुभयो (भजनसंग्रह १०३;१२)।

अध्याय १७

  • रगतमा प्राण हुने भएको हुनाले एउटा प्राणको प्रायश्चितको लागि अर्कोको रगत बहाइनुपर्थ्यो।
  • येशू ख्रीष्टको रगतको कारणले हामीले पाप क्षमा र जीवन पाएका छौं। (हिब्रु ९:२२)

अध्याय १८

  • अघिल्ला अध्यायका नियमहरू आजको दिनमा चित्रणको रूपमा छन् तर यस १८ अध्यायका नियमहरू आज पनि लागु हुन्छन्। व्यभिचार र घिनलाग्दा अनैतिक सम्बन्धहरू आज पनि छुट छैनन्।
  • विवाह परमेश्वरको सुन्दर सृष्टि हो। विवाहले पनि परमेश्वरको पवित्रतालाई संकेत गर्नुपर्दछ।

अध्याय १९

  • परमेश्वरले दिनुभएको धार्मिक र नैतिक नियमहरूलाई यस अध्यायमा संक्षेपमा प्रस्तुत गरिएको छ। कति आज्ञाहरू फेरि सम्झना गराइएका छन्। हर प्रकारका अशुद्धताहरूबाट अलग हुनु भनी फेरि बताइएको छ। इस्राएलीहरू पवित्र परमेश्वरका जनहरू थिए त्यसैले उनीहरूले संसारमा पवित्र परमेश्वरको प्रतिनिधित्व गर्नुपर्थ्यो। त्यसको लागि उनीहरू आफै पनि पवित्र हुनुपर्ने थियो।
  • हामी पनि पवित्र परमेश्वरको प्रतिनिधित्व गर्दैछौं, हर पाप र दुष्टताबाट पवित्र रहौं (१ पत्रुस १:१५,१७)।

अध्याय २०

  • परमेश्वरले इस्राएलीहरूलाई मूर्तिपूजा, व्यभिचार लगायत अन्य दुष्टताहरूको दण्ड तोकिदिनुभयो। इस्राएलीहरूले परमेश्वरको साथसाथै मानव अधिकारको पनि भय मान्न यी दण्डका नियमहरू महत्वपूर्ण थिए। पाप गरेर कोहि पनि उम्कन पाउँदैनथे। पवित्र र धर्मी न्यायकर्ता परमेश्वरको जाति इस्राएल समेत न्याय-दण्डबाट उम्कन पाउँदैनथ्यो। हरेक दुष्टताको त्यसै अनुसार दण्ड दिइनुपर्थ्यो। कडा न्याय-दण्डद्वारा दुष्टहरूलाई हटाइन्थ्यो। दण्ड पाएको देखेर अरूहरू पनि होसियार हुने थिए।
  • हामी जे छर्छौं त्यसैको कटनी पनि गर्छौं (गलाती ६:७)। दुष्टताको हरेक रूप दण्डको योग्य छ। आज पनि मण्डलीमा धेरैको भलाइको लागि परमेश्वरको विरोधमा जिउनेहरूलाई अनुशासन गरिन्छ।

Post Comment

You May Have Missed