लेवी संक्षिप्त टिप्पणी (अध्याय २१-२७)
- Leviticus Concise Commentary
- January 13, 2020
- 0
- 652
- 3 minutes read
अध्याय २१
- यस अध्यायले पूजाहारी-पदको उच्च योग्यतालाई देखाउँछ। परमेश्वरको सेवकको उच्च मापदण्ड यहाँ प्रस्तुत भएको छ। पूजाहारीहरूले मानिसहरूलाई पवित्रताको विषयमा सिकाउनु पर्थ्यो र पवित्र रहन सहायता गर्नु पर्थ्यो। तर पहिला पूजाहारीहरू आफै नै पवित्र जीवन जिएको हुनुपर्थ्यो।
- पूजाहारीहरूलाई विभिन्न प्रकारका अवपित्रताहरूबाट अलग रहन आज्ञा दिइएको छ। साधारण मानिसको भन्दा पूजाहारीको योग्यता उच्च थियो। त्यसैगरी पूजाहारीको भन्दा महापूजाहारीको योग्यता उच्च थियो। अपवित्र पूजाहारी परमेश्वरको अघि जान सक्दैनथ्यो।
- पवित्र परमेश्वरको सेवक पनि पवित्र हुनुपर्दछ।
अध्याय २२
- यहाँ पवित्रतालाई ध्यान दिँदै थप नियमहरू दिइएको छ। शुद्ध र अशुद्धबीचमा प्रष्ट भिन्नता हुनुपर्थ्यो। कसले बलि चढाउन मिल्थ्यो? कस्तो बलि चढाउनुपर्थ्यो? कसरी बलि चढाउने? जस्ता प्रश्नहरूको उत्तर दिइएको छ। शुद्ध र पवित्र बलिहरू जुन चाहिँ सहि तरिकाले चढाइका छन् – यस्ता बलिहरू मात्रै ग्रहणयोग्य हुन्थे।
- बलि चढाउँदा खोटरहित पशु मात्रै चढाउनुपर्थ्यो। रोग लागेको या अपांग पशुहरू चढाउनु मनाही गरिएको थियो। परमेश्वरलाई सर्वोत्तम मात्रै दिनुपर्थ्यो।
- सहि कुरा गर्नु मात्रै पर्याप्त छैन, तर सहि कुरा सहि तरिकाले गरिनुपर्दछ।
अध्याय २३
- इस्राएलीहरूलाई परमेश्वरले विभिन्न चाडहरू मनाउन आज्ञा दिनुभयो। यी चाडहरू मनोरन्जनका समय थिएनन् तर परमेश्वरका अद्भूत कार्यहरूको सम्झना गर्ने र अर्को पुस्तालाई परमेश्वरको कार्यको वर्णन गर्ने समय थियो। यी चाडहरूका विशेष अर्थ थिए।
यस अध्यायमा ७ चाडहरू उल्लेख भएका छन्:
- निस्तार चाड – रगतद्वारा छुटकारा (मिश्रको दासत्वबाट छुटकारा पाएको; ख्रीष्टको रगतले मुक्ति)
- अखमिरे रोटीहरूको चाड – पवित्र हिडाइ (खमिरले पापको चित्रण दिँदछ; ख्रीष्ट पापरहित)
- पहिलो फलको चाड – येशू ख्रीष्ट पहिलो फलको रूपमा बौरिउठ्नु भयो
- पेन्टेकोस्टको चाड – पहिलो फलहरूमध्येबाट बलि चढाउनु पर्ने (परमेश्वरलाई सर्वोत्तम दिनु)
- तुरहीको चाड – सम्झना गराउने तुरही (परमेश्वरको र उहाँको कामको सम्झना)
- प्रायश्चितको दिन – बलिद्वारा पापको प्रायश्चित (ख्रीष्टको बलिदानको चित्रण)
- झुपडीहरूको चाड – परदेशी भएको सम्झना (परमेश्वरले इस्राएलीहरूलाई उजाडस्थानको यात्रामा सुरक्षा गर्नुभएको र सबै कुराहरूको प्रबन्ध गरिदिनुभएको सम्झना)
अध्याय २४
- पवित्रस्थानमा उज्यालोको लागि दियाहरू बाल्नुपर्थ्यो। यी दियाहरू सामदानमाथि राखिनुपर्थ्यो र रातभर ज्योति दिनुपर्थ्यो। येशू ख्रीष्ट नै संसारको ज्योति हुनुहुन्छ। अनि १२ वटा हाजिरीका रोटीहरू एउटा चोखो टेबलमा राखिनुपर्थ्यो। सम्झनाका लागि रोटीमाथि लोबान राखिनुपर्थ्यो। यी रोटीहरू आगोले चढाइएको बलिको रूपमा हुन्थ्यो।
- परमेश्वरको नामलाई सराप्ने या तुच्छ ठान्नेहरूलाई कडा दण्डको आज्ञा थियो। परमप्रभुको नामको निन्दा गर्नेहरूको लागि दण्ड मृत्यु तोकिएको थियो। एक मानिसले अर्को मानिसलाई हानि गर्यो भने त्यही हानि अनुसार त्यस मानिसले दण्ड पाउनुपर्थ्यो।
- परमेश्वर पवित्र हुनुहुन्छ र पापलाई घृणा गर्नुहुन्छ। पापको ज्याला मृत्यु हो।
अध्याय २५
- परमेश्वरले इस्राएलीहरूलाई पवित्र रहन नियमहरू दिनुभयो। पवित्र समयहरू या चाडहरूको विषयमा पनि आज्ञा दिनुभयो। अब यस अध्यायमा उहाँले पवित्र भूमिको विषयमा नियमहरू दिनुहुन्छ। कनान देश जहाँ इस्राएलीहरू बसोबास गर्न जाँदै थिए, त्यस देश इस्राएलीहरूका लागि दिइएको थियो र त्यो भूमि पवित्र मानिनुपर्थ्यो।
- हरेक सातौं वर्षमा जमिनलाई विश्राम दिनुपर्थ्यो। यसो गर्दा जमिन स्वस्थ्य रहिरहनेथ्यो। त्यस सातौं वर्ष केहि उब्जनी नभए पनि खानलाई पुग्नेछ भनी परमप्रभुले भन्नुभयो। यसैगरी हरेक पचासौं वर्ष किनबेच भएको जग्गा-जमिन शुरूको जग्गा धनीलाई नै फिर्ता गरिनुपर्थ्यो। गरिबहरू र दासहरूसँग कसरी व्यवहार गर्ने पनि प्रभुले सिकाउनुभयो।
- विश्वासद्वारा आफ्नो सम्पत्तिको सहि उपयोग गरी परमेश्वरको महिमा गर्नुपर्दछ।
अध्याय २६
- मानिसहरूको समस्या ‘बिर्सनु’ भएको हुनाले, परमेश्वरले यस अध्यायमा फेरि केहि नियमहरूको सम्झना गराउनुहुन्छ। उहाँले इस्राएलीहरूलाई प्रष्टसंग दुई बाटाहरू प्रस्तुत गर्नुहुन्छ – आज्ञापालन गरेमा आशिष, अनाज्ञाकारि भएमा दण्ड।
- आज हामीलाई पनि दुई छनोटहरू छन् – आशिष र दण्ड। हामी के रोज्छौं? आशिष पाउने कि दण्ड पाउने हाम्रो निर्णयमा आधारित रहेछ।
अध्याय २७
- मानिसले परमेश्वरलाई उपहारहरू भाकलद्वारा चढाउन सक्ने नियम प्रभुले दिनुभयो। व्यक्ति, पशु या थोक चढाउन सकिन्थ्यो। यसो गर्न तोकिएको दाम सहित भाकल गर्नुपर्थ्यो। परमेश्वरलाई आदर गर्दै आफ्नो उपहार चढाउन सकिन्थ्यो।
- तर परमेश्वर जान्नुहुन्थ्यो कि मानिसहरू भरोसायोग्य छैनन्। उनीहरूले बोलेको कुरा या गरेको भाकल पूरा नगर्न सक्छन्। त्यसैले यस अध्यायमा उहाँले भाकल फिर्ता लिन सक्ने या छुटाउन सक्ने नियम पनि दिनुभयो। तोकिएको दाममा पाँचौं भाग थप गरी तिरेपछि भाकल गरेको व्यक्ति, पशु या थोक छुटाउन सकिन्थ्यो।
- मानिसको अविश्वासयोग्यता र परमेश्वरको अनुग्रह यहाँ प्रस्तुत गरिएको छ।