विज्ञान कि बाइबल?
“सत्य के हो?”, यूहन्ना १८:३८ मा पिलातसले येशूलाई यो प्रश्न सोधे। मानिसहरू सत्य जान्न चाहान्छन्। मानव सृष्टिको सत्यता, मानव अस्तित्वको उद्देश्यको सत्यता, मृत्युपछिको अवस्थाको सत्यता, इत्यादि। “सत्य के हो?” मानिसहरू सत्यको श्रोत विज्ञान हो भन्ने सोच्छन्। विज्ञानले नै सत्य-तथ्य बताउँछ, पत्ता लगाउँछ भन्ने सोच राख्दै मानिसहरू सत्य खोज्न र बुझ्न विज्ञानलाई आधार बनाउँछन्। तर वास्तविकता यो हो कि विज्ञान केवल एक मानवीय प्रयास हो – सत्य ज्ञान पत्ता लगाउने एक मानवीय प्रयास। बाइबल चाहिँ सत्यताको ईश्वरीय प्रकाश हो। इतिहासलाई हेर्दा विज्ञान पटक पटक गलत भएको देखिन्छ। पहिले भनिन्थ्यो पृथ्वी समथल छ, गोलाकार छैन। रोग निको पार्न रगत फालिन्थ्यो। तर बाइबलले पहिले नै प्रकट गरेको हो कि पृथ्वी गोलाकार छ (यशैया ४०:२२) र मानिसको जीवन रगतमा हुन्छ (लेवी १७:११)। यी त थोरै उदाहारणहरू मात्रै हुन्।
ख्रीष्टियनहरू पनि विज्ञानद्वारा भ्रमित हुनु दुखलाग्दो कुरा हो। याद गरौं विज्ञान केवल सत्य पत्ता लगाउने मानवीय प्रयास हो। हामी मानवीय प्रयासमा भर पर्ने कि ईश्वरीय प्रकाशमा विश्वास गर्ने? विज्ञान र अनुसन्धानले मानवीय जीवनलाई कति क्षेत्रहरूमा सहज बनाएको होला तर सत्यको श्रोत विज्ञान कदापि हुन सक्दैन। के तपाई आज सत्य जान्न चाहानुहुन्छ? सत्यको एक मात्र सहि श्रोत बाइबल नै हो। विज्ञानले आज ठीक भनेको कुरा भोलि बेठीक हुन सक्छ, तर बाइबलको वचन सदाको लागि ठीक रहन्छ। इतिहास यसको साक्षी छ। आज तपाई केमा भर पर्दै हुनुहुन्छ – सत्य खोज्ने मानवीय प्रयास (विज्ञान) मा या सत्यको ईश्वरीय प्रकाश (बाइबल) मा? सत्यले हामीलाई स्वतन्त्र पार्दछ (यूहन्ना ८:३२), जीवन दिँदछ। विज्ञानले यो गर्न सक्दैन केवल परमेश्वरको वचनले जीवन दिँदछ। मानवीय प्रयासमा होइन तर परमेश्वरले प्रकट गरिदिनुभएको सत्यता अनुसार जिऔं – अर्थपूर्ण जीवन जिऔं!