विलियम केरी

 विलियम केरी

विलियम केरी एक वेलायति मिसनरी हुन् जसले भारतमा लामो समय सेवाकाइ गरेका थिए। उनलाई आधुनिक समयको मिसनरीहरूका पिता भनेर पनि चिनिन्छ। उनले भारतमा ख्रीष्टको लागि ठूलो प्रभाव पारे। उनी परिवारसाथ भारतमा आए र परमेश्वरको लागि निकै परिश्रम र मेहनत गरे। विशेष गरी सेराम्पुर भन्‍ने ठाउँमा उनले लामो समय बिताए। त्यहाँ उनले पिछडिएका नानीहरूका लागि विद्यालय पनि खोले। यसको साथै बाइबल तालिमको लागि उनले सेराम्पुर कलेज पनि स्थापना गरे। उनले धेरै भाषाहरूमा बाइबललाई अनुवाद गर्ने कार्य पनि गरे। बाइबल अनुवाद गरेर उनले छाप्‍ने र वितरण गर्ने काम गर्थे। उनले करिब ४० भाषाहरूमा बाइबललाई अनुवाद गरे।

उनले भारतीय समाजमा ठूलो प्रभाव पारे। भारतमा प्रचलित सति प्रथाको उनले विरोध गरे। भारतमा सन् १८२९ मा सति प्रथाको उन्मुलन हुनुमा उनको पनि भूमिका थियो। जब ७३ वर्षको उमेरमा विलियम केरीको मृत्यु भयो, उनले ४१ वर्ष भारतमा लगातार रहेर प्रभुको सेवा गरिसकेका थिए। उनले साँच्चै त्याग र सेवाको असल नमुना छोडेका छन्। आफ्नो देशको भौतिक सुविधा र फाइदाहरूलाई त्यागेर, ४१ वर्ष लगातार भारतको निम्‍न स्तरको जीवनशैलीमा रहेर, कठोर हिन्दु समाजमा हुने आत्मिक संघर्षहरूबीच उनी निरन्तर अघि मात्रै बढेनन्, तर प्रभावकारी र फलदायी पनि भए। उनको सेवाकाइद्वारा धेरै भाषाका जातिहरूले परमेश्वरको वचन पढ्न पाए। सेराम्पुर कलेजद्वारा धेरैले बाइबल तालिम पाएर परमेश्वरको काममा अघि बढ्ने हौसला पाए। उनको जोश र सेवाकाइद्वारा उत्साहित भएर ठूलो संख्यामा मिसनरीहरू आजसम्मै प्रभुको काममा लागिरहेका छन्।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *