विलियम बोर्डन
विलियम बोर्डन धनाड्य व्यक्ति थिए। उनको बुबा आमा सिकागो शहरका धनाड्यहरू थिए। १६ वर्षको उमेरमा उनको बुबा आमाले उनलाई संसारका विभिन्न देशहरू घुम्न एक अविभावक सहित पठाए। विभिन्न ठाउँहरू र संस्कृतिहरू देखेर विलियमको ज्ञान र व्यक्तित्व विकास होस् भन्ने बुबा आमाको इच्छा थियो। तर जब विलियमले विभिन्न राष्ट्रहरू देख्न पाए, उनले देखे कि धेरै ठाउँहरूमा सुसमचार पुगेको थिएन। उनलाई मिसनरी भएर सुसमचार नपुगेको ठाउँमा गई सुसमचार प्रचार गर्ने बोझ भयो। सन् १९०५ मा उनले अमेरिकाको प्रसिद्ध युनिभर्सिटि येल (Yale University) मा अध्ययन गर्न थाले। त्यहाँ पढ्ने क्रममा उनले प्रार्थना सभाहरू आयोजना गरेर धेरैलाई आत्मिक उन्नतिका लागि उत्साहित गराए। सन् १९०९ मा अध्ययन पूरा गरेपछि, बाइबल अध्ययन गर्न उनी Princeton Theological Seminary मा पुगे। सन् १९१२ मा उनले त्यस ठाउँमा आफ्नो अध्ययन पूरा गरे।
अध्ययन पछि विलियमले चाइनाको मुसलमान जातिहरूलाई सुसमचार प्रचार गर्ने योजना बनाए। यसको लागि अरबिक भाषा सिक्न उनले इजिप्टको काइरो शहरमा जाने निर्णय गरे। यसै क्रममा उनी काइरो पुगे र भाषा सिक्न थाले। उनको पितालाई उनको योजना मन परेको थिएन। अझै विलियमले आफ्नो सम्पत्ति चाइनाको मिसनरीहरूलाई दिएका थिए। उनले भनेका थिए, “कुनै अनकानी छैन”। परमेश्वरको कामको लागि दिन उनले अनकानी गरेनन्। उनको पिताले उनलाई भने कि यदि उनले मिसनरी योजना त्यागेनन् भने बुबाको सम्पत्ति पाइनेछैन र परिवारबाट अलग हुनुपर्छ। त्यति बेल उनले भने, “कुनै पछि हटाइ छैन”। ख्रीष्टलाई पछ्याउने र उहाँको सेवा गर्ने निर्णय भइसकेको थियो, अब विलियम पछि हट्नेवाला थिएनन्।
तर सन् १९१३ मा इजिप्टमै हुनै बेलामा उनलाई cerebral meningitis भन्ने घातक रोग लाग्न पुग्यो। केहि दिनहरूमै उनको मृत्यु भयो। मृत्यु हुने बेला उनी जम्मा २५ वर्षका थिए। उनको चिहानमा लेखियो – “येशू ख्रीष्टमाथिको विश्वास बिना यस्तो जीवनको सहि व्याख्या या अर्थ छैन।” मर्नु भन्दा केहि समय अघि उनले भनेका थिए, “कुनै पछुतो छैन”। येशू ख्रीष्टको लागि आफ्नो जीवन बलिदान दिन पाउनुमा उनलाई कुनै पछुतो थिएन। संसारको नजरमा त एक जवान र धेरै सम्भावना भएको व्यक्तिको जीवन व्यर्थै गयो, तर अनन्ततालाई हेर्दा प्रष्ट हुन्छ कि विलियमको जीवन अर्थपूर्ण थियो, जीवनको सहि र उचित उपयोग भएको थियो।