व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय २५-३४)

 व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय २५-३४)

अध्याय २५, २६

  • पारिवारिक सम्बन्धका विषयमा नियमहरू अध्याय २५ मा दिइएका छन्। विभिन्न परिस्थितीहरूको बारेमा सहि न्याय गर्न प्रभुले यी नियमहरू दिनुहुन्छ। अमालेकीहरूले गरेको दुष्टतालाई नबिर्सनु र उनीहरूलाई नाश गर्नु भनी आज्ञा पनि दिइन्छ।
  • अध्याय २६ मा परमेश्वरले इस्राएलीहरूबाट पहिलो फल र दसांशको माग गर्नुहुन्छ। इस्राएलीहरूले परमप्रभुलाई आदर स्वरूप आफ्ना फलहरू या उब्जनीहरूबाटको पहिलो फल (सर्वोत्तम फल) दिनुपर्थ्यो। यसको साथै तेस्रो वर्षमा उब्जनीको दसौं अंश पनि परमेश्वरको लागि चढाउनुपर्थ्यो। यसरी परमेश्वरलाई दिनुपर्ने नियम दिइयो। तर उनीहरूले परमेश्वरलाई दिन अघि परमेश्वरले उनीहरूलाई प्रशस्त गरी दिनुभएको थियो। वास्तवमा, इस्राएलीहरूसँग जे थियो ती सबै परमेश्वरबाटै थियो। २६ अध्यायमा बारम्बार परमेश्वरले इस्राएलीहरूलाई ‘दिनुभयो’ भन्ने सत्यता दोहोराइएको छ।
  • परिवार महत्वपूर्ण छ। परिवार सहि रूपमा अघि बढाउन परमेश्वरका नियमहरू पालन गर्नु अत्यावश्यक छ। हामीसँग जे छ, ती सबै परमेश्वरबाटै मिलेको हो। उहाँकै निम्ति ती प्रयोग गरिनुपर्दछ। हामीबाट केहि माग गर्न अघि, उहाँले नै पहिला हामीलाई प्रशस्त गरी दिनुभएको हुँदछ।

अध्याय २७, २८

  • परमेश्वरको वचन भुल्नु ठूलो गल्ती हुँदछ र अझै उहाँको वचन पालन नगर्नु त ठूलो पाप हुँदछ। अनि पापले सधैं श्राप ल्याउँदछ। उहाँको वचन पालन गर्दा भने ठूलो आशिष छ। यी नै सत्यताहरूलाई २७ र २८ अध्यायहरूले व्याख्या गर्दछन्।
  • यर्दन पार गरेर गएपछि ठूला-ठूला ढुङ्गाहरूमाथि व्यवस्थाका वचनहरू लेख्न प्रभुले आदेश दिनुहुन्छ। परमेश्वरको वचन याद गरून् र पालन गरून् भन्नाका निम्ति यी सबै परिश्रम गरिनुपर्थ्यो। आज तपाई र म परमेश्वरको वचन बुझ्न र पालन गर्न के र कति परिश्रम गर्दैछौं?
  • अध्याय २८ मा प्रभुले अझ प्रष्ट पार्नुहुन्छ कि उहाँको वचन पालन गर्दा आशिष छ, र पालन नगर्दा श्राप छ। उहाँको वचन होसियारसाथ पलन गर्न ध्यानसाथ उहाँको वचन सुन्न जरूरी छ। के हामी उहाँको वचन ध्यानसाथ सुनिरहेकाछौं? यो कार्य हरेक दिन हुनुपर्दछ। उहाँको वचन पालन गर्दा हामीलाई हरेक कुरामा आशिष हुँदछ; आशिषले हामीलाई भेट्टाउनेछ। तर यसको विपरीत उहाँको वचन नमान्दा, श्रापले हामीलाई भेट्टाउनेछ। आशिषमय जीवनको लागि परमेश्वरको वचन पालना अत्यावश्यक छ।

 

अध्याय २९

  • परमेश्वरले इस्राएलीहरूलाई बुझाउनु हुन्छ कि कति कुराहरू जुन विगतमा भए, ती कुराहरू उनीहरूले बुझ्ने छैनन्। सायद भविष्यमा हुन आउने कति कुराहरू पनि उनीहरूले सबै नबुझ्लान्।
  • तर उनीहरूले बुझ्ने गरी परमेश्वरको वचन दिइएको छ, त्यसै अनुसार उनीहरू जिउनुपर्दछ।
  • हामी पनि हाम्रा जीवनमा आउने सबै कुराहरू नबुझौंला, तर जति कुराहरू बुझ्न सकिन्छ, जति कुराहरू परमेश्वरको वचनद्वारा प्रकट गरिएका छन्, ती कुराहरूमा भर पर्दै अघि बढौं। प्रकट गरिएका कुराहरूद्वारा गुप्त कुराहरूमाथि विजय प्राप्त गर्न सकिन्छ (व्यवस्था २९:२९)

अध्याय ३०

  • यस अध्यायमा फेरि पनि आशिष र श्रापको कुरा ल्याइएको छ। इस्राएलीहरूको अघि दुई छनोटहरू थिए – आशिष अनि जीवन वा श्राप अनि मृत्यु।
  • हामी मध्ये कोहि परमेश्वर र उहाँको वचनबाट टाढा छौं भने फर्कौं, सम्झना गरौं, फेरि उहाँको वचन पालन गरौं। वचन हाम्रो नजिकमा राखिएको छ। के हाम्रा हृदय बहकिएका छन्? उहाँको वचन पालन गर्नु मै जीवन छ।

अध्याय ३१-३३

  • अब ती महान अगुवा र परमेश्वरको नम्र दास मोशा आफ्नो जीवनको अन्ततिर आएका छन्। मोशाको सट्टामा परमेश्वरले यहोशूलाई नियुक्त गर्नुहुन्छ। एक मानिस जति नै महान भएता पनि के उनी मृत्युभन्दा महान हुन्छन् र? अनि के एक मानिसको अन्त्य हुँदैमा परमेश्वरको कामको अन्त्य हुँदछ र? परमेश्वरको काम अघि बढिरहन्छ।
  • मोशाले अन्तिम चेतावनीहरू र शिक्षाहरू दिन्छन्। अध्याय ३२ र ३३ मा उनले इस्राएलका कुलहरूलाई आशिष पनि दिन्छन्। आफ्नो अन्तिम शब्दहरूमा मोशाले इस्राएलीहरूलाई परमेश्वरको वचन पालन गर्न अर्ती दिन्छन्। के हामी परमेश्वरको वचन पालन गर्न हृदय लगाउँछौं? उहाँको वचन पालन गर्नु नै हाम्रो जीवन हो (व्यवस्था ३२:४६,४७)।
  • दुख लाग्दो कुरा यो हो कि मोशा कनान, त्यो प्रतिज्ञाको देशमा जान पाउँदैनन्। कनानलाई नबो पहाडबाट हेरेरै उनले चित्त बुझाउनुपर्ने हुन्छ। परमेश्वर पक्षपात नगर्ने परमेश्वर हुनुहुन्छ। मोशालाई समेत छुट भएन। के हामीले छुट पाऔंला? परमेश्वरको आज्ञा उलंघन गर्न कसैलाई छुट छैन।

अध्याय ३४

  • मोशा मोआबको देशमा मर्छन्। परमेश्वर स्वयमले उनको मृत शरीरलाई गाड्नुभयो। कति ठूलो सम्मान! परमेश्वरले आफ्ना जनहरूको सम्मान गर्नुहुन्छ। मूर्तिपूजा नहोस् भन्नाका लागि मोशा गाडिएको स्थान गुप्तमा राखियो। कति कुराहरू परमेश्वरले हामीबाट किन गुप्त राख्नुहुन्छ? हाम्रै भलाइका निम्ति।
  • जिम्मेवारी मोशाबाट यहोशूकहाँ सर्छ। तर मोशाजस्तै व्यक्ति चाहिँ फेरि भेटिएन। मोशाको साक्षी यस्तो थियो – “जसलाई परमप्रभुले आमने-सामने गरी जान्नुहुन्थ्यो।” तपाई र मेरो जीवनको अन्त्यमा के हाम्रो पनि यस्तै साक्षी होला?
  • यो साक्षी राख्न हरेक दिन परमेश्वरसँग हिँड्नुहोस्। मोशाको जीवन परमेश्वरबाट सम्मानित जीवन थियो। परमेश्वरको सहायतामा हामी पनि यस्तै प्रकारको जीवन जिउन सकौं – परमेश्वरलाई आमने-सामने गरी जान्न सकौं।
  • पवित्र आत्माको साक्षी अनुसार मोशाको जीवन सफल भयो। परमेश्वरको साथसाथमा हिँड्नु नै सफल जीवनको रहस्य हो।

 

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *