श्रापित संसारमा आशिषितहरू

 श्रापित संसारमा आशिषितहरू

एफेसी १:३ मा लेखिएको छ, “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिता धन्य होऊन्, जसले ख्रीष्टमा हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले आशिषित पार्नुभएको छ;”

यो अद्भूत सत्यताको हो कि हामी परमेश्‍वरका जनहरू आशिषितहरू हौं। प्रभुको अनुग्रहद्वारा बयान गर्न नसकिने आत्मिक आशिषहरूले हामी आशिषितहरू भएका छौं। हामी श्रापित शरीर लिई श्रापित संसारमा जिउँदछौं। पापको कारण संसार श्रापित छ, र सबै मानिस परमेश्‍वरको क्रोध र दण्डको योग्य छन्। येशू ख्रीष्टको प्रायश्‍चितको बलिदानको कारण अब पापी मानिस, एक श्रापित मानिस परमेश्‍वर पितासँगको मिलापमा आउन सक्दछ। पापको पश्‍चताप गर्दै ख्रीष्ट येशूमा विश्‍वास गर्नेहरू अब सित्तैमा धर्मी ठहरिन्छन् र आशिषितहरू हुँदछन्। यो अद्भूत वास्तविकताको लागि परमेश्‍वरलाई धन्यवाद होस्!

अब हामी विश्‍वासद्वारा अनुग्रहले सित्तैमा धर्मी ठहरिएकाहरू श्रापित शरीर लिई श्रापित संसारमा जिए पनि हामी आशिषितहरू हौं। अब परमेश्‍वरको क्रोध हामीमा छैन। हामी उहाँमा ‘प्रियहरू’ भएका छौं। अझै पनि शरीरका परीक्षाहरू, कठिनाइहरू र चुनौतीहरू कायमै होलान्। श्रापित संसारमा जिउँदा जीवन कष्टकर होला। तर हामी अब आशिषितहरू हौं। सृष्टिकर्ता, सबैका प्रभु मालिक यहोवाले हामीलाई आशिषितहरू ठहरानुभएको छ, दोष दिने को होला? जसलाई परमेश्‍वरले आशिष दिनुहुन्छ ऊ साँच्‍चै आशिषित हो। अब हामी यस अन्धकार संसारमा ज्योति बनी चम्कन्छौं। पापको श्रापमा रूमल्लिएकाहरूलाई आशिषको श्रोत चिनाउँछौं। सबै परिस्थिति बीच ख्रीष्टमा रमाउँदै उहाँको असल साक्षी भई उहाँको सेवा गर्दछौं।

के आज तपाई विभिन्‍न परिस्थितिहरूका कारण निराश र हतास हुनुहुन्छ? याद गर्नुहोस् तपाई परमेश्‍वरको छोरा या छोरी हो भने तपाई आशिषित हो! तपाईका आर्थिक घटिकमिहरू होलान्, स्वास्थ्यमा चुनौतीहरू होलान्, अन्य कठिनाइहरू होलान्; तथापि तपाई ख्रीष्टमा आशिषित हो! यस श्रापित संसारमा हामी आशिषितहरू ख्रीष्टको आनन्द र आशिष चम्काऔं!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *