सफा ग्वाली कि धेरै उब्जनी?

 सफा ग्वाली कि धेरै उब्जनी?

हितोपदेश १४ः४ मा लेखिएको छ, “जहाँ गोरूहरू छैनन्, त्यहाँ ग्वाली ता सफा रहन्छ; तर गोरूको बलद्वारा नै धेरै उब्जनी हुन्छ।” यस खण्डमा हाम्रो जीवन सम्बन्धि साह्रै महत्वपूर्ण सिद्धान्त प्रकाश भएको छ। गोरूहरू पाल्दा ग्वाली (गोठ) फोहोर हुन्छ। गोरूहरूको मलजल सफा गरिरहनु पर्ने हुन्छ, थप समय, परिश्रम, र श्रमको खाँचो पर्दछ। तर गोरूहरूको कारण उब्जनी, अन्‍नको वृद्धि हुँदछ। यदि ग्वाली या गोठ सफा राख्‍ने हो भने गोरू पाल्‍नु भएन। गोरू नपाल्दा गोठ सफा त हुन्छ, परिश्रम पनि कम हुन्छ तर उब्जनी पनि कम हुन्छ। कुन चाहिँ रोज्‍नु ठीक होला? सफा ग्वाली कि धेरै उब्जनी?

प्रभुको लागि जिउँदा, उहाँको सेवा गर्दा हामीलाई बेला बेलामा थकित महसुस हुन सक्छ। किन यी सबै दौड-धुप र परिश्रमहरू गर्नु पर्ने होला जस्तो पनि लाग्ला। परमेश्‍वरको काममा दिलो-ज्यानसाथ लाग्दा यस्तो महसुस हुन सक्छ, र कतिले सोच्‍न सक्छन् ‍ – धेरै परिश्रम नगरौं, मरिमेट्नु त नपर्ला नि, जसोतसो गरेको जस्तो मात्रै गर्दा पनि हुन्छ होला नि… तर याद गरौं गोरू पाल्दा थप भार त पर्ला तर उब्जनीको वृद्धि त्यसैमा हुन्छ। हामीलाई उब्जनी कम गर्ने विकल्प छैन। हामी धेरै फलवान् हुनुछ। समय छोटो छ, परमेश्‍वरको लागि जोड-तोडको साथ परिश्रम गरौं, पसिना चुहाऔं! याद गरौं सफा ग्वाली भनेको रित्तो भण्डार, कम उब्जनी हो, जुन हाम्रो विकल्प हुन सक्दैन। त्यसैले गोरू पालौं र ग्वाली सफा गरौं; परमेश्‍वरको महिमाको लागि धेरै फलवान् बनौं! प्रभुको काममा मेहेनत-परिश्रम गर्न पछि नपरौं!

“यसकारण मेरा प्रिय भाइहरूहो, तिमीहरू स्थिर होओ, अचल होओ, र सधैंभरि प्रभुको काममा प्रशस्त हुँदै जाओ; किनभने तिमीहरूलाई थाहा छ, प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।” (१ कोरिन्थी १५ः५८)

Related post

1 Comment

  • Amen

Leave a Reply

Your email address will not be published. Required fields are marked *