सबैको चासो के मा?
सपना जे देखिए पनि, परिकल्पना जे गरिए पनि सबैको चासो मृत्युमा रहन्छ। आफू कसरी मरिएला? मरे पनि सुखैले मरूं, हाँसी हाँसी मरूं, विजयका साथ मरूं। मृत्युपछि के हुन्छ? यो सबैको चासोको विषय हो। विश्वमा अधिकांश मानिसहरू विश्वास गर्दछन् मृत्यु एक यात्रा हो। मृत्युपछि केही न केही हुँदैछ। मृत्युपछि राम्रो होस्, कष्ट नपाइयोस् भनेर धर्मकर्म, समाजसेवा गर्ने चलन प्राचीन समय देखि नै विश्वका सबै समाजमा थियो। प्राचीन मिस्री विश्वास अनुसार मृत्यु जीवनको अन्त होइन। एक दिन मृतात्मा आफ्नै शरीरमा फर्की आउनेछ। यसैकारण मृतकका शरीरलाई ममी बनाइन्थ्यो र पिरामिडहरूमा संरक्षण दिइन्थ्यो। साथै मृतकलाई आवश्यक पर्ने सबै थोकहरू मृतकका ममी छेउमा राखिन्थ्यो। ममी चाहिँ मृतकको संरक्षित शरीर हो। प्राचीन मायाहरू विश्वास गर्दथे कि मानिसको जन्ममा प्राण शरीरमा अनुबन्धित हुन्छ। विरामी वा मृत्युमा तिनले शरीरबाट छुट्कारा पाउँदछ। मृत्युमा स्थायी रुपमा तिनले छुटकारा पाउँदछन्। मृतात्माहरूसंग मानिसले सम्पर्क राख्न सक्दछन् र तीबाट प्रार्थनाको जवाफ पनि पाउन सक्दछन्। प्रकृतिको नजीक बस्ने आदिबासी अमेरिकीहरू विश्वास गर्दथे कि मृत्यु सधैं छेवैमा हुन्छ। उनीहरू विश्वास गर्दथे कि मृत्युपछि मानिसको प्राण प्राणहरूको संसारमा प्रवेश गर्दछ जसले कुनै न कुनै रुपमा जीवितहरूको जीवनमा प्रभाव पारिरहेको हुन्छ।
हिन्दू धर्म अनुसार शरीर अस्थायी हो र आत्मा स्थायी हो। अनि मृत्युमा आत्माले शरीरबाट प्रस्थान गर्दछ र त्यसले धेरै पटक विभिन्न जीवमा पुनर्जन्म लिन्छ। बुद्ध धर्मावलम्बीहरू विश्वास गर्दछन् कि मृत्युपछि पनि मानिस असंख्य जीवहरूमा पुनर्जन्म भइरहन्छ जो कष्टपूर्ण छन्। ती कष्टहरूको अन्तको निम्ति यस जन्म-मरण चक्रबाट छुट्कारा पाउनु पर्दछ जसलाई निर्वाणा भनिन्छ। जापानी धर्म शिन्तो अनुसार मृत्यु जीवनबाट अलग्गिने अन्धकार अनि अदृश्य वास्तविकता हो। मृत्युपछि मानिसमा भएको ‘कामी’ वा ‘आत्मा’ले छुट्कारा पाउँछ र अर्को संसारमा प्रवेश गर्छ जो नरक वा स्वर्ग होइन तर आत्माहरू रहने स्थान हो। यदि मानिसले रीतिविधि, पर्व ठीकसंग मानेमा उनीहरू बर्तमान संसारको सम्पर्कमा आउन सक्दछन्। उनीहरू विश्वास गर्दछन् कि ती पितृ आत्मालाई सही रुपमा प्रार्थना र विधि पूरा गरेमा तिनले सन्ततिलाई शुरक्षा प्रदान गर्दछन्। प्राचीन चीनिया धर्म कन्फ्युसियसका अनुसार मृत्यु अन्त हुनु होइन तर व्यक्तिको प्राणको अस्तित्व रहिरहन्छ। मृत्युको घडीमा शरीरबाट अलग भएपछि पनि प्राण अर्को स्वरुपमा रहिरहन्छ। यद्यपि कन्फ्युसियसले मृत्युपछिको अवस्थालाई भन्दा यस जीवनलाई जोड दिए र भने, ‘मृतात्माहरूलाई आदर गर तर तीबाट टाढै बस’। ईश्लाम धर्म अनुसार मृत्युपछि अर्को जीवन शुरु हुन्छ। मृत्युपछि दुई दूतहरू आउँछन् अनि मृतकको विश्वासको जाँच गरिन्छ। विश्वासमा पक्का ठहरिए उसलाई स्वर्ग लगिने छ र सो नपाइए पीडा दिइनेछ। नेपालका अधिकांश आदिवासीहरू मृत्युपछि मृतकको आत्मा अस्तित्वमै हुन्छन् भन्ने विश्वास गर्दछन्। मृत्यु अन्त होइन। मृत्युपछि मृतक आफ्नै परिचित ठाउँहरूमा रहने र तिनलाई खुशी राख्नुपर्ने सो नभए तिनले पीडा दिन सक्ने कुरामा विश्वास गर्दछन्। त्यसैले नेपालका अधिकांश आदिवासीहरू पितृपूजा गर्ने गर्दछन्। मृतक आत्मालाई एउटा विशेष आयोजना वा पूजाद्वारा विदाई गरेमा मृतात्माले शान्ति पाउने र अज्ञात स्थान वा विश्राम स्थानतर्फ विदाई हुने विश्वास गर्दछन्। विश्वका धर्महरूमा थुप्रै समानताहरू देखिन्छन्। मृत्यु अन्त होइन यात्रा हो। कर्मको फल मृत्युपछि मानिसले प्राप्त गर्दछन्। असल कर्मले असल फल र खराब कर्मले खराब फल। तर बाइबल यी सबै मार्ग र दर्शनहरूबाट फरक रहेको छ। बाइबलले एक मात्र अद्वितीय परमेश्वर ‘यहोवा’को वर्णन गर्दछ जो अब्राहाम, ईशहाक, याकूबका परमेश्वर हुनुहुन्छ। जो जीवित, अनि सदा रहनुहुने सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। जीवन, मृत्यु र अनन्तता सम्बन्धमा उहाँका शिक्षाहरू स्पष्ट छन्। ३५०० वर्ष अघि यहोवा परमेश्वरको वचन उधृत गर्दै अयुवले लेखेका थिए, “के तिम्रा निम्ति मृत्युका मूलढोकाहरू खोलिएका छन् अथवा के तिमीले मृत्युको छायाँका मूलढोकाहरू देखेकाछौ?” (अयूब ३८:१७)। उनले मृत्युका ढोकाको उल्लेख गरेका थिए। मृत्युमा मानिस अर्को स्थानमा प्रवेश गर्ने उल्लेख गरिएको छ। इस्रायलका राजा शुलेमानले ३००० वर्ष अघि भनेका थिए, “तब माटो जस्तो थियो, त्यस्तै पृथ्वीमा फर्कनेछ; अनि आत्मा परमेश्वरकहाँ फर्कनेछ, जसले त्यो दिनुभएको थियो” (उपदेशक १२:७)। मानिसको शरीर माटोबाट बनिएको हो एकदिन माटैमा फर्कन्छ। अनि आत्मा परमेश्वरबाट आएको हो एकदिन त्यो उहाँकहाँ नै फर्कन्छ। त्यो दिन आउन अघि उहाँकै आदर महिमा गरिनुपर्दछ। उहाँकै भयमा जिउनु पर्दछ। उहाँले जीवन दिनुहुन्छ, उहाँले नै लैजानुहुन्छ।
मृत्युपछि मानिस परमेश्वरकहाँ फर्कने उल्लेख भएको थियो। तर के का निम्ति? २००० वर्ष अघि बाइबलमा लेखिएको थियो, “मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ (हिब्रू ९:२७)। २००० वर्ष अघि पावलले भनेका थिए, “जिउनु ख्रीष्ट हो, मर्नु लाभ हो” (फिलिप्पी १:२१)। जब उनी जिउँछन् त ख्रीष्टकै निम्ति जिउँछन्। जिउनु परिश्रमको फल हो, पवित्र जनहरूको प्रगति र विश्वासको आनन्द हो। साथै मृत्यु उनको निम्ति लाभ थियो। किनकि मृत्युले उनलाई पार्थिव भारहरू, संघर्षहरू, कष्टहरूबाट छुट्कारा दिई ख्रीष्टको उपस्थितिमा पुर्याउने थियो। मृत्यु पार्थिव यात्राबाट विदाई र ख्रीष्टको उपस्थितिमा हाँजिरी हो।
फेरि पावल लेख्छन्, ‘मानिस मृतकहरूको सम्बन्धमा अनजान हुनुहुँदैन’ (१ थिस्सलोनिकी ४:१३)। मरेकाहरूको सम्बन्धमा मानव समाजमा अनेक अवधारणाहरू रहेको पाइएको छ यद्यपि मृत्यु यात्रा हो भन्ने कुरामा सबै सहमत देखिन्छन्। पुनरुत्थान हुन्छ वा हुँदैन? मरेकाहरू के होलान्? आदि प्रश्नहरू मानव समाजमा रहिरहेका छन्। कन्फ्युसियसले मृत्यु र मृत्युपछिका कुरामा जोड दिएनन्। यस जीवनकै विषयमा बुझ्न सकेका छैनौं, मृत्युपछिका कुरा त के कुरा भन्थे। पावलले भनेका थिए, ‘येशू मर्नुभयो र बौरिउठ्नुभयो भनी हामी विश्वास गर्दछौं भने उसरी नै येशूमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ’ (१ थिस्सलोनिकी ४:१४)। बाइबलको स्पष्ट शिक्षा छ कि उहाँमा सुत्नेहरू पनि एकदिन बौरिउठ्नेछन् (१ कोरिन्थी १५:२०-२२)। जकरिया अगमवक्ताले करिब २५०० वर्ष अघि भनेका थिए, “परमप्रभु मेरा परमेश्वर आउनुहुनेछ; अनि तपाईको साथमा सबै पवित्र जनहरू पनि आउनेछन्” (जकरिया १४:५)। हनोकले करिब ५५०० वर्ष अघि भनेका थिए, “हेर, प्रभु आफ्ना हजारौं हजारौं पवित्र जनहरूका साथमा आउनुहुन्छ” (यहूदा १४)। यसरी बाइबलमा स्पष्टताका साथ उल्लेख हुँदै आएको छ कि मानिसको अन्त मृत्युमा हुँदैन तर मृत्यु मानिसको आत्माको यात्रा प्रस्थान विन्दु हो। एकदिन उनको शरीर बौरन्छ। चाहे त्यो कुनै पनि प्रकारले माटोमा मिसिएको किन नहोस् एकदिन बौरन्छ। भविष्यसंग जोडिएको बाइबलको एक महत्वपूर्ण भविष्यवाणी येशू ख्रीष्टको दोस्रो आगमन हो। जब येशू आउनुहुन्छ, तब कसरी आउनुहुन्छ? हनोकले बताए झैं प्रभु आफ्ना असंख्य पवित्रजनहरूसंगै विजयको उल्लासमा आउनुहुन्छ। येशूका एक निकटवर्ती चेला यूहन्नाले २००० वर्ष अघि भनेका थिए, ‘प्रभुमा मरेकाहरूले मानिसको पुत्रको स्वर सुन्नेछन् अनि उनीहरू जिउनेछन् (यूहन्ना ५:२५)।
उपरोक्त तथ्यहरूलाई मध्यनजर गर्दा मृत्युपर्यान्त के हुन्छ भन्ने विषय सबै धर्म र समाजको निम्ति ठूलो चासोको विषय बन्दै आएको हो। तर बाइबलले दिएको शिक्षा र विवरण अन्य धर्म तथा दर्शनहरूको भन्दा भिन्न अनि स्पष्ट पाइएको छ। बाइबल कुनै व्यक्ति विशेषद्वारा र समय विशेषमा नलेखिएको भए पनि यसको सन्देशमा एक रुपता र स्पष्टता पाइन्छ। बाइबल १६०० वर्षको अन्तरालमा ४० लेखकहरूद्वारा लेखिएको हो तर यो एक सिंगो पुस्तक हो। यस्तो संभव कसरी भयो? बाइबलको यस्तो गवाही छ, “सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष देखाउनाका निम्ति, सुधारका निम्ति धार्मिकताको सम्बन्धमा तालिमको निम्ति लाभदायक हुन्छ” (२ तिमोथी ३:१६)। तसर्थ बाइबलको शिक्षा मानव जीवनको निम्ति विश्वासनीय छ। हामी यसलाई अध्ययन, मनन र अवलम्बन गर्न सक्दछौं।
वेलायतका एक प्रख्यात प्रचारक चार्ल्स हेडन स्पर्जनलाई ‘प्रचारकहरूका राजकुमार’ भनिछ। उनले भनेका थिए, कडा छालमा प्रवेश गर्नुअघि डुंगा चालकलाई चेतावनी देओ, तब यदि उनी त्यस भयंकर छालद्वारा बगाइए उनी आफैंले आफूलाई मारेको हुन्छ। विषको कचौरा पिउन लागेको व्यक्तिलाई चेतावनी देओ कि त्यसले ज्यान लिन्छ, यदि त्यसले पिउँछ भने उसको मृत्यु ढोकैमा पर्खिरहेको हुन्छ।” परमेश्वरले मानिसहरूलाई नरकको वास्तविकता बारंबार बताइरहनुभएको छ जो पवित्र शास्त्र बाइबलमा उल्लेख भएका छन्।
हितोपदेश १५:११ मा लेखिएको छ, “अधोलोक र विनाश ता परमप्रभुका सामु छन् भने मानिसका सन्तानका हृदयहरू ता झन कति बढता गरी छन्। अधोलोक शब्दलाई हिब्रूमा शिऊल भनिएको छ जसको अर्थ ‘मरेकाहरू रहने तल्ला भागहरू’ भन्ने हुन्छ। ग्रीकमा ‘हेडेस’ शब्दले पनि उही अर्थ दिन्छ। तर गेहेन्ना शब्दको अर्थ नरक हुन्छ। येशू मृत्युपछि कहाँ जानुभयो? एफिसी ४:९ ले भन्दछ, “उहाँ पहिले पृथ्वीका तल्ला भागहरूमा ओर्लनु पनि भयो भनी भनेको बाहेक अरू के हो र?” मृत्युपछि येशू स्वर्गलोकमा जानुभयो (लूका २३:४३) जो हेडेसकै एक भाग थियो। पवित्र शास्त्र बाइबलमा लेखिएको छ, सबैले पाप गरेका छन् (रोमी ३:२३)। पापको ज्याला मृत्यु हो (रोमी ६:२३)। मानिसहरू पापको कारण मर्दछन्, अनि पुन: मर्दछन्। अर्थात् मृत्युपछि पनि अनन्त विनाशमा जान्छन् जसलाई दोस्रो मृत्यु भनिन्छ। तर खुशीको कुरा परमेस्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र पुत्रलाई पठाउनुभयो उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)। मानिसले अब ख्रीष्टमा विश्वास गरेर मुक्ति पाउँदछन् र अनन्त स्वर्गमा प्रवेश गर्दछन्। तसर्थ परमेश्वरबाटको जरूरी सन्देश यो छ कि ख्रीष्टकहाँ मानिसहरू आऊन् र उहाँमा अनन्त जीवन पाऊन्।
अधर्मी धनी मानिस चाहिँ नरक पुगेका थिए जहाँ उनले अवर्णनीय कष्ट पाएका थिए (लूका १६:२३-२४)। ख्रीष्टको बौरिउठाइ पछि स्वर्गलोको स्थानमा परिवर्तन भएको हो, लेखिएको छ “जब उहाँ उच्च स्थानमा उक्लनुभयो, तब उहाँले कैदलाई कैद गरेर लैजानुभयो र मानिसहरूलाई दानहरू दिनुभयो” (एफिसी ४:९)। उहाँको बौरिउठाईमा ठूलो संख्यामा मानिसहरूको बौरिउठाइभएको थियो। त्यस समय देखि मानिसहरू मृत्युपछि तल्ला भागहरूमा नभई सिधै प्रभुकहाँ जान्छन्। लेखिएको छ, “हामी ढुक्क छौं र शरीरबाट अलग भएर बरु प्रभुसित रहनु नै इच्छा गर्छौं (२ कोरिन्थी ५:८)।
हजार वर्षे ख्रीष्टको पार्थिव राज्यपछि नरकको अवस्थिति परिवर्तन हुनेछ। नरक रित्याइनेछ र नरक स्वयं आगोको झील भित्र फ्याँकिइनेछ जो दोस्रो मृत्यु हो। मरेकाहरू जो नरकबाट न्यायका निम्ति निस्कनेछन् आगो र गन्धकको झीलभित्र फ्याँकिइनेछ जहाँ पवित्र स्वर्गदूतहरूका सामु र थुमाका सामु त्यो आगो र गन्धकद्वारा पीडित पारिनेछ; र तिनीहरूको पीडाको धूवाँ सदासर्वदता उँभोतिर उठिरहनेछ, तिनीहरूले दिनरात विश्राम पाउनेछैनन् (प्रकाश १४:१०,११)। तर स्वर्ग सबै उत्तमताहरूले भरिएको अनन्त विश्राम स्थान हुनेछ जहाँ अघिका कुनै पनि खराब कुराहरू हुनेछैनन् (प्रकाश २१:३,४)। स्वर्ग अत्युत्तम सुन्दर र मनोहर बगैंचा हो जहाँ परमेश्वरसंगै विश्वासीहरू रहनेछन् जसले उहाँका सबै उत्तमताहरू विच उहाँको सेवा गर्नेछन् र सदसर्वदा राज्य गर्नेछन् (प्रकाश २२:३-५)।
थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस।