हर्ष र हृदयको आनन्द
यर्मिया शोकित या रूने भविष्यवक्ताको रूपमा चिनिन्छन्। उनको जीवन र सेवाकाइको परिवेश शोकपूर्ण थियो। इस्राएलीहरूले परमेश्वरलाई त्यागेका थिए र परमेश्वरको न्याय आउँदैथियो। यर्मियाको चेतावनीलाई कसैले पनि स्वीकार गरेनन्। इस्राएलीहरूको हठीपना प्रति यर्मिया दुखित थिए। यर्मियाको सन्देशलाई ग्रहण गर्नुको साटो उनलाई दुर्व्यवहार र यातना दिईयो। कहिले उनी जेलमा हालिन्थे, कुटिन्थे, कहिले इनारमा खसालिन्थे। उनको यो कठिन जीवनमा हर्ष र आनन्द हुनु अकल्पनीय थियो। हामी सायद सोचौंला यर्मिया सधैं शोकित र दुखित थिए। यर्मियाको पुस्तक पढ्दा त्यहि आभास हुँदछ। उनले लेखेको एक पुस्तकको नाम त ‘विलाप’ नै छ।
तर जब हामी यर्मिया १५:१६ पढ्दछौं, एक अद्भूत सत्यता यहाँ देख्दछौं। “तपाईका वचनहरू फेला परे, र मैले तिनलाई खाएँ; अनि तपाईका वचनहरू मेरा निम्ति हर्ष र मेरो हृदयको आनन्द भए...”
त्यो सबै शोकपूर्ण र कष्टदायी परिस्थितिबीच पनि यर्मियाले हर्ष र आनन्दको अनुभव गर्न सके। कसरी? परमेश्वरको वचन नै त्यो हर्ष र हृदयको आनन्दको श्रोत थियो। के आज तपाईको जीवनमा कष्टपूर्ण र दुखदयी अवस्थाहरू छन्? हर्ष र आनन्द फेरि कसरी पाइएला भनी चिन्तित हुनुहुन्छ? परमेश्वरको वचनमा जानुहोस्, त्यहाँ नै हर्ष र हृदयको आनन्द छ! संसारिक मनोरन्जन, कुनै व्यक्ति या अन्य कुनै पनि कुराले स्थायी हर्ष र आनन्द दिन सक्दैन। यर्मियाले जस्तै परमेश्वरको वचनलाई खानुहोस्, यसले आत्मिक तृप्तता दिँदछ, प्राणमा हर्ष र हृदयमा आनन्द दिँदछ।
“तपाईका वचनहरू फेला परे, र मैले तिनलाई खाएँ; अनि तपाईका वचनहरू मेरा निम्ति हर्ष र मेरो हृदयको आनन्द भए...”