ख्रीष्ट उचालौं
- Short Devotion
- September 16, 2021
- 0
- 882
- 1 minute read
यूहन्ना १२ः३२ मा येशूले भन्नुभयो, “अनि म पृथ्वीदेखि माथि उचालिएँ भने सबै मानिसहरूलाई म आफूकहाँ खिँच्नेछु।” ख्रीष्टले आफ्नो मृत्यु र बलिदानको विषयलाई यहाँ संकेत गर्दै हुनुहुन्थ्यो, ३३ पदले यो कुरा प्रष्ट पार्दछ। तर बलिदान मात्रै होइन येशू बौरीउठेर महिमित भई उचालिनु पनि हुनेथ्यो। “उचालिनु” शब्दले महिमित हुनु भन्ने विषयलाई पनि संकेत गर्दछ। साँच्चै ख्रीष्ट मृत्युद्वारा मात्रै होइन तर उहाँ जीवित भई मिहिमित हुनुभएकोले हामी सबै मानिसहरूलाई मुक्ति प्रबन्ध भएको छ। उहाँ मरेको मरे नै हुनु भएको भए संसारको मुक्ति सम्भव हुनेथिएन। तर उहाँ महिमित पनि हुनुभयो, उचालिनुभयो र अब हरेक मानिस उहाँकहाँ आउन सक्छ। यो सिद्धान्त प्रष्ट छ जब ख्रीष्ट उचालिनुहुन्छ, मानिसहरू उहाँकहाँ खिँचिन्छन्।
के हाम्रो जीवनबाट ख्रीष्ट उचालिनुभएको छ? हाम्रो विचार, बोलि र व्यवहारबाट ख्रीष्ट उचालिनु, महिमित हुनु पर्दछ। जब हाम्रो जीवनमा ख्रीष्ट उचालिनुहुन्छ, तब मानिसहरू ख्रीष्टकहाँ स्वतह खिँचिन्छन्। दुखलाग्दो कुरा, धेरै पटक हाम्रो जीवनमा, हाम्रो मण्डलीहरूमा ख्रीष्ट होइन तर अन्य कुराहरू उचालिन्छन्। फलस्वरूप, मानिसहरू ख्रीष्टकहाँ खिँचिदैनन्। मण्डलीमा मनोरन्जन, अनुभव, नाचगान आदिलाई उचाल्दा, भीड खिँचिएला तर साँचो जीवन परिवर्तनहरू हुँदैनन्। हामी उचालिने होइन, कुनै प्रचारक उचालिने होइन, भौतिक कुराहरू, चंगाइका कुराहरू उचालिने होइन; यदि मानिसहरू ख्रीष्टकहाँ खिँचिने हो भने ख्रीष्ट उचालिनुपर्दछ। ख्रीष्ट प्रचारिनुपर्दछ।
हाम्रो जोड मानिसहरूलाई खिँच्ने भन्दा पनि ख्रीष्टलाई उचाल्नेमा हुनुपर्दछ। जब ख्रीष्ट उचालिनुहुन्छ, मानिसहरू ख्रीष्टको प्रेम र महानता देखेर उहाँकहाँ खिँचिन्छन्। के हाम्रो जीवनमा ख्रीष्ट उचालिनुभएको छ? के हाम्रो बगालमा ख्रीष्ट उचालिनुभएको छ? के हाम्रो जीवनबाट ख्रीष्ट देखिनुहुन्छ? पवित्र आत्माको भरपूरीमा, आऔं आज हामी ख्रीष्टलाई उचालौं!