परमेश्वर हाम्रो शरणस्थान
- Short Devotion
- March 25, 2020
- 0
- 1249
- 1 minute read
भजनसंग्रह ४६ः१ मा लेखिएको छ, “परमेश्वर हाम्रा शरणस्थान र बल, संकष्टहरूमा तुरून्तै पाइने सहायता हुनुहुन्छ।” के तपाईलाई आज शरणस्थानको खाँचो छ? बलको खाँचो छ? सहायताको खाँचो छ? यी सब केबल परमेश्वरमा मात्रै मिल्दछ!
यसै खण्डको २ पदले भन्दछ, “यसकारण हामी डराउनेछैनौं…” के तपाई आज डराइरहनुभएको छ? यदि परमेश्वर तपाईको शरणस्थान हो भने तपाई डराउनु पर्दैन। उहाँ हाम्रो प्राणको शरणस्थान हुनुहुन्छ। जस्तो सुकै अवस्थामा पनि हामी परमेश्वरमा सुरक्षित रहन सक्छौं। हाम्रो प्राणको सुरक्षा परमेश्वरमा छ। हामी डराउनु पर्दैन। जस्तो सुकै भयानक अवस्था आएता पनि। किनभने हाम्रो स्थिरता हामी आफूमा आधारित छैन तर कहिल्यै नबद्लनु हुने सनातनका चट्टान परमेश्वरमा हाम्रो स्थिरता आधारित छ। हामी हल्लनुपर्दैन, हामी अस्थिर हुनुपर्दैन, हामी आँत्तिनुपर्दैन, हामी डराउँनुपर्दैन। परमेश्वरले आफ्नो समयमा आफ्नो उद्देश्यमा कार्य गर्नुहुन्छ। हामी आज उहाँको उद्देश्य पूरै नबुझौंला तर निश्चित हौं कि उहाँ उद्देश्यसाथ कार्य गरिरहनुभएको छ।
साँच्चै परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ त हामी किन डराऔं, किन विचलित बनौं! “परमेश्वर हाम्रा शरणस्थान र बल, संकष्टहरूमा तुरून्तै पाइने सहायता हुनुहुन्छ। यसकारण हामी डराउनेछैनौं…” भजनसंग्रह ४६ः१-३