परीक्षाहरूमा आनन्द
- Bible Study Articles
- January 11, 2020
- 0
- 1190
- 2 minutes read
याकूब १:२-८
- परीक्षामा आनन्दित हुनु परमेश्वरको इच्छा (पद २)
परीक्षाहरूमा तपाई र मेरो प्रतिक्रिया के हुन्छ? यसले हाम्रो विश्वासको नाप प्रकट गर्छ। नाना प्रकारका परीक्षाहरू, अर्थात जस्तो सुकै कठीन परिस्थितिहरूमा पनि आनन्दित हुनु परमेश्वरको इच्छा हो। तर यो परमेश्वरमा मात्रै सम्भव छ। यस खण्डमा “भाइहरू” लाई सम्बोन्धन गरिएको छ। भाइहरू अर्थात् ख्रीष्टियनहरू – मुक्ति पाएका जनहरू। नयाँ गरी जन्मिएकाहरूको लागि मात्र यो सम्भव छ। ख्रीष्टबिना यो असम्भव छ। दुख त लाग्ला तर हामी आनन्दित रहन सक्छौं (२ कोरिन्थी ६:१०)।
परीक्षाहरूलाई हामीले आनन्द सम्झनु पर्दछ। यसमा हामी रमाउन सक्छौं। किन? कसरी?
- परीक्षामा आनन्दित हुनको लागि बुझ्नु पर्ने सत्यता (पद ३, ४)
एउटा महत्वपूर्ण सत्यताको बुझाइले तपाई र मलाई परीक्षाहरूबीच आनन्दित हुन सहायता गर्दछ। त्यो सत्यता यो हो कि – विश्वासको जाँचले धीरज उत्पन्न गर्छ, अनि धीरजले सिद्ध काम गरेपछि हामीहरू सिद्धतामा बढ्दछौं। यसरी अन्तत हाम्रो भलाइ नै हुन्छ। यो बुझाइले हरेक विश्वासीलाई जस्तो सुकै कठिन, दुखद र प्रतिकूल परिस्थितिहरूमा पनि खडा रहन मात्र होइन तर आनन्दित हुन हौसला दिँदछ। भजनसंग्रह ११९ः७१ अनुसार हामीले सिक्न सकौं भनेर कष्टहरू आउन सक्छन्। परीक्षाले तपाईलाई या त आक्रोशित बनाउँछ या त आनन्दित बनाउँछ; या त तीतो बनाउँछ, या त तृप्त। निर्णय तपाइको हातमा छ।
धीरजलाई सिद्ध काम गर्न दिऔं। परमेश्वरको काममा सर्टकट हुँदैन! खाना पाक्ने उदाहरण – समय लाग्छ, पूरा समय हुन दिनुपर्छ। फल पूरै पाकोस्, कतिले छिट्टै टिप्छन्, फल पाक्नै पाउँदैन। ख्रीष्ट जस्तै हामी बनिँदै जान्छौं। हामी परीक्षाहरू छान्न सक्दैनौं तर परीक्षाहरूको प्रतिफल छान्न सक्छौं। सबैलाई परीक्षा आउँछ तर सबै सिद्धतामा बढ्दैनन्।
- परीक्षामा आनन्दित हुनको लागि बुद्धि (पद ५-८)
यो सबैबीच हामीलाई बुद्धिको आवश्यकता पर्दछ। परीक्षाहरूबीच खडा हुन कठिन हुन्छ, अझ आनन्दित हुन त ठूलो विश्वासको आवश्यक पर्दछ। यो सजिलो नहुन सक्छ, त्यसैले हामीलाई ईश्वरीय बुद्धिको खाँचो पर्दछ। खुशीको कुरा यो हो कि हरेक विश्वासीलाई परमेश्वरबाटको बुद्धि उपलब्ध छ। यो ईश्वरीय बुद्धि कसरी पाउन सकिन्छ त? पैसा तिरेर होइन, कुनै काम गरेर पनि होइन, तर सरल रूपमा विश्वाससाथ परमेश्वरलाई मागेर पाइन्छ।
त्यसैले परीक्षाहरूबीचमा हामी दुई चित्ते नबनौं। के गर्ने होला? यसो गर्ने कि त्यसो गर्ने कि? तर बरू सिधै परमेश्वरलाई हेरौं। विश्वाससाथ उहाँबाट बुद्धि मागौं। विश्वाससाथ परीक्षाबीच धीरज धरौं, धीरजलाई सिद्ध काम गर्न दिऔं। अन्तत हाम्रो भलाइ हुनेछ। हामी अझ सिद्धतामा अघि बढ्दछौं। औषधी खाएको जस्तै। तीतो तर प्रतिफल मीठो!
त्यसैले परीक्षाहरूबीच आँत्तिने, निराश-हताश हुनु ठीक प्रतिक्रिया होइन तर बरू प्रभुमा रमाउनु, आनन्दि हुनु उचित हो, सहि हो!