चार्ल्स स्पर्जन
चार्ल्स स्पर्जन बेलायती प्रचारक हुन्। उनलाई ‘प्रचारकहरूका राजकुमार’ भनेर पनि चिनिन्छ। उनी (New Park Street Chapel) न्यू पार्क स्ट्रीट च्यापलका पास्टर थिए। यस मण्डलीलाई पछि ‘मेट्रोपोलिटन ट्याबर्नकल’ (Metropolitan Tabernacle) नामाकरण गरियो। यस मण्डलीमा उनले ३८ वर्ष पास्टरको रूपमा सेवाकाइ गरे। उनले ब्याप्टिष्ट सिद्धान्तको अनुसरण गर्नुको साथै बप्तिष्ट शिक्षाको बलियो रूपमा बचाउ पनि गरेका थिए। नयाँ पुस्तालाई बाइबल प्रचार गर्न सिकाउन उनले ‘पास्टरको कलेज’ पनि स्थापना गरेका थिए, यस कलेजलाई उनको मृत्यु पछि ‘स्पर्जन कलेज’ नाम दिइयो। उनले थुप्रै बाइबलीय लेखहरू र टिप्पणीहरू लेखेका छन्। उनको प्रचार यस्तो विशेष र जोशिलो हुन्थ्यो कि विश्वासीहरू टाढा टाढाबाट उनको प्रवचन सुन्न आउँथे।
उनले जम्मा १९ वर्षको उमेरबाट नै पास्टरीय भूमिका निभाउन थालेका थिए। २२ वर्षको उमेरमा आइपुग्दा उनी त्यस समयको सबैभन्दा प्रख्यात प्रचारक भनी चिनिन्थे। मेट्रोपोलिटन ट्याबर्नकलमा ६,००० मानिसहरू अट्थे। एक सानो मण्डली स्पर्जनको प्रभावकारी प्रचार र पवित्र आत्मा प्रेरित सेवाकाइका कारण एउटा ठूलो बगालमा वृद्धि भएको थियो। उनको प्रवचनहरू पर्चाहरूमा छापिन्थे र बेलायतभरि र अरू देशहरूमा पनि बाँडिन्थे। उनले बाइबलीय पुस्तकहरू लेख्नुका साथै भजनहरू पनि लेखेका थिए। हड्सन टेलर, जोर्ज मुलर, र डेविड लिभिङ्स्टन जस्ता मिसनरीहरूलाई स्पर्जनले सहयोग तथा उत्साह दिए। सन् १८८७ मा स्पर्जनले (Downgrade Controversy) ‘डाउनग्रेड कन्ट्रोभर्सी’ नामक लेखद्वारा बप्तिष्ट मण्डलीहरूमा गलत शिक्षाहरूले पार्न थालेको प्रभावको विरोध गरे। डार्विनका विकासवादका सिद्धान्तले मण्डलीहरूमा प्रभाव पार्न थालेको थियो। बप्तिष्ट मण्डलीहरू पनि सत्यतालाई त्यागेर फरक तरिकाले अघि बढ्न थालेका थिए। स्पर्जनले यस धर्म त्यागलाई कडा विरोध गरे। फलस्वरूप, उनी धेरै मण्डलीहरूबाट एक्लिन पुगेका थिए।
पछिल्ला समयहरूमा स्पर्जनको श्रीमति सुसन्ना निकै बिरामी भए र ओछ्यान छोड्न नसक्ने भइन्। उनले सोचिन् कि उनले एक महान् प्रचारकको सेवाकाइलाई नकरात्मक प्रभाव पार्दैछिन्। तर बिरामी भएता पनि उनले स्पर्जनका प्रवचनहरू छाप्ने कार्य गरिन्। जसको फलस्वरूप, आज सम्मै संसारभर फैलिएका विश्वासीहरूले स्पर्जनका प्रवचनहरू पढेर ठूलो आशिष र उत्साह पाएका छन्।