खुशी हुनुको कारण

 खुशी हुनुको कारण

भजनसंग्रह ३२:११ मा लेखिएको छ, “हे धर्मी जनहरूहो, परमप्रभुमा आनन्दित होओ, र रमाओ! अनि हे सबै सीधा हृदय भएकाहरूहो, हर्षले चिच्याओ!”

के हामी साँच्‍चै यस खण्डमा लेखिएझैं आनन्दित हुन सक्छौं? रमाउन अनि हर्षले चिच्याउन सक्छौं? वरिपरि हेर्दा, परिस्थितिलाई हेर्दा, स्वास्थ्यको अवस्थालाई हेर्दा, बैंक खातालाई हेर्दा त खुशी हुने कारण हामी सायद भेटाउन नसकौंला। वास्तवमा दुखि हुने, चिन्तित हुने कारणहरू मात्रै हामी देख्दछौं! खुशी हुनुको कारण पनि छ र?

भजनसंग्रह ३२ अध्यायले हामीलाई कम्तीमा पनि ३ कारणहरू दिएको छ खुशी हुनको लागिः

  • परमेश्‍वर हाम्रो मुक्तिदाता हुनुहुन्छ (भजनसंग्रह ३२:१-६)

“धन्य हो त्यो, जसको अपराध क्षमा भएको छ…” धन्य हो त्यो – अर्थात खुशी हो त्यो मानिस। अझै यस शब्दलाई हेर्ने हो यो बहुवाचकमा छ – खुशीहरू! तपाईको पाप क्षमा भएको छ भने तपाई खुशीहरूले पूर्ण हुनुहुन्छ! एक अधर्मी पापीका पाप क्षमा भएका छन् – कति ठूलो खुशी हुने कारण!

  • परमेश्‍वर हाम्रो रक्षक हुनुहुन्छ (भजनसंग्रह ३२:७)

परमेश्‍वर हाम्रो लुक्‍ने ठाउँ हुनुहुन्छ। वरिपरि विरोधीहरू, सतावटहरू, परीक्षाहरू होलान् तर हामी रमाउन सक्छौं कारण परमेश्‍वर स्वयम हाम्रो रक्षक हुनुहुन्छ।

  • परमेश्‍वर हाम्रो अगुवा हुनुहुन्छ (भजनसंग्रह ३२:८)

हामी एक समय गोठाला बिनाका बरालिएका भेडाहरू थियौं। जीवन क्लान्त र पीडित थियो तर अब परमेश्‍वर हाम्रो असल गोठाला हुनुहुन्छ, हामीलाई कुनै कुराको घटी हुँदैन। हो भौतिक रूपमा घटीहरू छन्, अस्वस्थताहरू छन्, चुनौतीहरू छन् तर सबै बीचमा परमेश्‍वरले हामीलाई सहि मार्गमा डोर्‍याउनुहुन्छ। त्यसो त हामी किन आनन्दिन नहोऔं?

हामी विश्‍वासीहरूलाई खुशी हुने कारण छ। सबै कठिन परिस्थितिहरूबीचमा परमेश्‍वरमा हामी आनन्दित हुन सक्छौं, हुनु पर्दछ!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *