अहिले यस्तै हुनदेऊ
- Short Devotion
- October 25, 2021
- 0
- 956
- 1 minute read
जब येशू बप्तिस्मा दिने यूहन्ना कहाँ बप्तिस्मा लिन आउनुभयो, यूहन्ना छक्क परे। मत्ती ३ः१४ मा लेखिएको छ, “तर यूहन्नाले यसो भन्दै उहाँलाई रोकेः ‘मलाई पो तपाईंद्वारा बप्तिस्मा लिन खाँचो छ, अनि तपाई पो मकहाँ आउनुहुन्छ?'” साँच्चै यो अस्वभाविक घटना थियो। यूहन्नाले सोचेको भन्दा फरक प्रकारको घटना। उनको बुझाइ र समझ बाहिरको घटना। जवाफमा येशूले मत्ती ३ः१५ मा भन्नुभयो, “…अहिले यस्तै हुनदेऊ, किनभने यसरी नै सबै धार्मिकता पूरा गर्नु हामीलाई उचित छ।” यो जवाफलाई यूहन्नाले स्वीकार गरे र येशूलाई बप्तिस्मा दिए।
परमेश्वरको महान योजना र ईश्वरीय बुद्धिमा त्यो घटना त्यसरी नै घट्नु पर्नेथियो। त्यसैले येशूले भन्नुभयो, “अहिले यस्तै हुनदेऊ!” के आज तपाई पनि यस्तै घटनाको सामना गर्दै हुनुहुन्छ कि? अस्वभाविक घटना, सोचेको भन्दा फरक घटना, बुझ्न गाह्रो घटना। परमेश्वरको योजना अनुसार यस्तै हुनु हो भने हामीले सहर्ष स्वीकार गर्नु आवश्यक छ। उहाँको योजना सफल हुनेछ। हाम्रो भलाइ नै हुनेछ। परमेश्वरमाथि विश्वास र भरोसासाथ अघि बढ्नुमा विजय छ।
आफ्नो उद्देश्य परमेश्वरले पूरा गर्नुहुनेछ। हामी आत्तिनु पर्दैन, निराश हुनु पर्दैन। बरू उहाँमा भर परौं, विश्वाससाथ स्थिर रहौं। बुझ्न कठिन अवस्थाहरूमा छौं भने येशू ख्रीष्टका यी शब्दहरू आज हामी याद गरौं – अहिले यस्तै हुनदेऊ!