येशू किन आउनुभयो?
आज संसारभर डिसेम्बर २५लाई येशू ख्रीष्टको जन्मदिनको रूपमा विशेष हर्षोल्लाससाथ मनाइने गरिन्छ। यो दिनमा येशू इस्राएल राष्ट्रको बेथलेहेम गाँउमा जन्मनुभएको मानिन्छ। बाइबलमा येशूको जन्म मिती तोकिएको छैन। उहाँ कुन दिन जन्मनु भयो कसैलाई ठ्याक्कै थाहा छैन तर येशू जन्मनु भएको तथ्य भने प्रष्ट छ। ईशाई मत विरोध गर्ने धेरै अनुसन्धान कर्ताहरूले पनि येशू भन्ने व्यक्ति साँच्चै इतिहासमा हुनुहुन्थ्यो भनी मानिलिएका छन्। येशू संसारमा आउनुभएको तथ्य अकाट्य छ। तर येशू संसारमा आउनुभएको विषय भन्दा पनि उहाँ किन आउनुभयो भन्ने विषय अझ बढी मत्वपूर्ण छ! उहाँ किन जन्मनुभयो? उहाँ किन यस पृथ्वीमा आउनुभयो?
- येशू आउनुको अर्थ
बाइबलले येशू मरियम नामक एक कन्याबाट जन्मनुभएको भनी सिकाउँछ। येशू एक मानिस होइन। उहाँ अनन्तकालदेखि रहनुहुने परमेश्वर हो जसले सब थोक सृष्टि गर्नुभयो। उहाँको न शुरू छ न अन्त। जब येशू संसारमा आउनुभयो उहाँ मानिस भई आउनुभयो। येशू संसारमा आउनुको अर्थ परमेश्वर मानिस भई संसारमा आउनुभएको हो (यूहन्ना १:१-१२, बाइबल)। उहाँ एकै पटक सत प्रतिशत परमेश्वर र सतप्रतिशत मानिस हुनुभयो, बाइबलको शिक्षा यहि हो।
- येशू आउनुको आवश्यकता
संसारका सारा मानिसहरू पापको कारण अनन्त विनाशमा जाँदै थिए र जाँदै छन्। हामी सबै पापी छौं (रोमी ३:२३, बाइबल)। पापको ज्याला शरीरको मृत्यु मात्रै होइन तर अनन्त मृत्यु हो, सदाको लागि सृष्टिकर्ता परमेश्वरबाट अलग भई अनन्तताको लागि नरकको दण्डमा जानु हो। हाम्रा धर्म-कर्मले हाम्रो पाप क्षमा हुन असम्भव छ। हामी सबै मानिसहरू आशारहित अवस्थामा थियौं र छौं। हामीलाई मुक्तिदाताको आवश्यकता थियो र छ।
- येशू आउनुको उद्देश्य
परमेश्वरले संसारका मानिसहरूलाई यति प्रेम गर्नुहुन्छ कि हाम्रो पाप क्षमाको लागि येशू ख्रीष्टलाई संसारमा हाम्रो पापहरूको लागि हाम्रो सट्टामा बलि हुन पठाउनुभयो (यूहन्ना ३:१६, बाइबल)। रगतमा जीवन हुन्छ, अनि रगत नबहाई पाप क्षमा हुँदैन। हाम्रो प्राण बचाउन उहाँले आफ्नो प्राण दिनुभयो। मानिसले रचेका ईश्वरहरू पापीहरूलाई विनाश गर्न आउँछन् तर येशू पापीहरूलाई बचाउन आउनुभयो। हामी अनन्त विनाशमा जान नपरोस् भनेर येशू शरीरमा मानिस भई आउनुभयो र प्रत्येक मानिसको लागि रगत बहाई क्रूसमा मर्नुभयो। तर उहाँ मरेको तेस्रो दिनमा जीवित भई बौरिउठ्नुभयो। आज उहाँ स्वर्गमा विराजमान हुनुहुन्छ! सारा संसारका मानिसहरूलाई – सबै जाति, सबै राष्ट्र, सबै भाषाका मानिसहरूलाई पाप क्षमा दिन र अनन्त जीवन दिन येशू ख्रीष्ट संसारमा आउनुभयो। पापी मानिसलाई पवित्र परमेश्वरसँग मिलापमा ल्याउन येशू आउनुभयो।
परमेश्वरको विशेष उपहार तपाईको लागि!
हामी सबै मानिसहरूको लागि येशू ख्रीष्टले मुक्तिको उपहार सित्तैमा दिनुहुन्छ। यसलाई सित्तैमा ग्रहण गर्नेहरूले पाप क्षमा पाउँदछन्। हाम्रो पापी जीवनबाट पश्चताप गर्दै, फर्कंदै, त्यो पापी जीवनलाई त्याग्दै, येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा विश्वास गर्छौं भने हामी सबैले अनन्त जीवन, पाप क्षमा अनि साँचो शान्ति र आनन्द पाउँदछौं। बाइबलको शिक्षा यहि हो! सारा संसारका मानिसहरूको लागि खुशीको खबर, शुभ सन्देश, सुसमचार यहि हो!
के तपाई यस विशेष उपहार ग्रहण गर्न चाहानुहुन्छ? निर्णय तपाईको हो!