के जलाउनु पर्ने हो?

 के जलाउनु पर्ने हो?

१ राजा १९:१९-२१ को खण्डमा हामी एलीशाको बोलावटको घटना पाउँदछौं। सदाझैं एकदिन एलीशा आफ्नो खेतमा गोरू जोत्दै थिए। एलिया आउँछन् र आफ्नो खास्टो एलीशामाथि राख्छन्। एलीशाले कुरा बुझ्छन्। उनले आफ्नो गोरू बलि चढाउँछन्, जलाउँछन् र प्रभुको सेवा गर्न आफ्नो परिवारलाई छोडी एलियाको पछि लाग्छन्।

जब एलीशाले परमेश्‍वरको बोलावट बुझे उनले यो पनि बुझे कि उहाँलाई पछ्याउन र उहाँको सेवा गर्न उनको पुरानो जीवनशैलीलाई छोड्नुपर्ने हुँदछ। उनले आफ्नो पुरानो जीवन शैली बलि दिए, जलाए, छोडे, त्यागे र परमेश्‍वरको सेवाको लागि अघि बढे। पुरानो जीवनका सबथोक जलाईनुपर्दछ, नष्ट गरिनुपर्दछ, मारिनुपर्दछ, ताकि हामी नयाँ जीवनमा अघि बढ्न सकौं। आज तपाईले आफ्नो जीवनबाट अझै के के जलाउन बाँकी छ? के के त्याग्न बाँकी छ? के हामी सबथोक त्यागी येशूलाई पछ्याउन तत्पर छौं? कि अझै पनि पुरानो जीवनका केहि थोकहरू, केहि लतहरू, केहि संगतहरू हामीले जलाउन सकेका छैनौं?

पूर्ण समर्पणता मात्रै पर्याप्त हुँदछ! अपूर्ण समर्पित जीवन पूर्ण असमर्पित जीवन हो! अर्थात् हामीले ख्रीष्टलाई पछ्याउन त्याग्नुपर्ने सब थोक त्यागेका छैनौं भने उहाँलाई साँचो रूपमा पछ्याउन सकेका छैनौं! पुरानो मानिसलाई दिनहुँ मारी नयाँ मानिसलाई पहिरँदै जिउनु परमेश्‍वरको इच्छा हो। आज के छ तपाईको जीवनमा जसलाई जलाईनुपर्दछ, त्याग्नुपर्दछ? यस्तो कुरा जसले प्रभुलाई पूर्ण समर्पणतामा पछ्याउनबाट रोकिराखेको छ! आजै जलाऔं! आजै हटाऔं! हामी जे ख्रीष्टमा पाउँछौं हामीले त्यागेका जुनसुकै कुरा भन्दा पनि अति बहुमूल्य र भव्य हुँदछ। एलीशाले परमेश्‍वरको (१.) बोलावट बुझे, (२.) बोलावट स्वीकार गरे, (३.) पुरानो जीवनशैली जलाए, त्यागे, (४.) खुशी र जोशसाथ परमेश्‍वरलाई पछ्याए, उहाँको सेवा गरे! हामी कुन अवस्थामा छौं?

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *