सजिलै थकित, सजिलै निराश

 सजिलै थकित, सजिलै निराश

यर्मिया १२:५ मा लेखिएको छ, “तिमी पैदल-सिपाहीहरूसँग दगुर्‍यौ, र तिनीहरूले तिमीलाई थकाइदिए भने कसरी तिमी घोडाहरूसँग होड गर्न सक्छौ? अनि शान्तिको देशमा नै, जसमा तिमी भरोसा राख्छौ, तिनीहरूले तिमीलाई थकाइदिए भने त यर्दनको बाढमा तिमी कसो गर्छौ?

परमेश्‍वरको सेवक यर्मिया निराश भएका थिए, थकित भएका थिए। इस्राएलीहरूलाई पटक पटक चेतावनी दिँदा पनि उनीहरू पश्‍चताप गर्दैनथे। इस्राएलीहरूको बीचको सेवाकाइ संघर्षपूर्ण थियो। उनीहरू कडा कर्दनकाहरू थिए। तर परमेश्‍वरले यर्मियालाई सजिलै थकित नहुन भन्नहुन्छ। यर्मियाको लागि अझै ठूला-ठूला कामहरू परमेश्‍वरले सोच्नुभएको थियो। घोडाहरूसँग होड गर्नुपर्ने यर्मिया, पैदल-सिपाहीहरूसँगै थाके भने कसरी घोडाहरूसँग दगुर्न सकिएला? औसत घोडाहरू प्रतिघण्टा ५० कि. मी. को गतिमा कुद्‍न सक्छन् तर औसत मानिस केवल प्रतिघण्टा १५ कि. मी. जति मात्रै। साथै परमेश्‍वरले अर्को उदाहरण दिनुहुन्छ – शान्तिको देशमा, या शान्तिमय अवस्थामा नै यर्मिया थाक्छन् भने यर्नको बाढ जस्तै लडाई अनि अशान्तिको अवस्थामा के हुन्छ होला?

आज हामीहरू पनि यर्मिया जस्तै सजिलै थाक्छौं। परमेश्‍वरको लागि जिउने क्रममा हरेक विश्‍वासीमा थकान आउन सक्छ। तर सजिलै नथाकौं! परमेश्‍वरको सेवा गर्न अझ धेरै बाँकी छ! सानो-सानो कुरामा पनि सजिलै निराश अनि थकित हुन्छौं भने कसरी ठूला-ठूला बोझहरू उठाउन सक्छौं त? हामीमा धीरज र सहनशीलता चाहिँदछ। परमेश्‍वरको सामर्थ्य चाहिँदछ। यो बुझौं कि अझै ठूला-ठूला बोझहरू उठाउनुछ, ठूला-ठूला चुनौतीहरू ख्रीष्टको महिमाको खातिर सामना गर्नुछ, साना-साना कुराहरूमा थकित अनि निराश भएर बस्ने छुट हामीलाई छैन! परमेश्‍वर हाम्रो पक्षमा लड्नुहुन्छ। उहाँमा भर परौं! सजिलै थकित, निराश नहोऔं!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *