शीतल पार्ने समयहरू

 शीतल पार्ने समयहरू

प्रेरित ३:१९ मा लेखिएको छ, “यसकारण तपाईहरूका पापहरू मेटिनका लागि पश्चात्ताप गर्नुहोस्, र फर्कनुहोस्; तब प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आउनेछन्

रोमीहरूको बोझिलो शासन मुनि रहेका यहूदिहरूको लागि ‘शीतल पार्ने समयहरू’ अर्थात् ‘बोझ हलुका हुने समय’ या ‘ताजापनको समयको’ विषयमा प्रेरित पत्रुस बताउँछन्। तर उनीहरूले सोचे जस्तो रोमीहरूको शासनबाट मुक्त भएर यो शीतल पार्ने समयहरू आउने वाला थिएन। उनीहरूले चाहा गरेका ताजापन ‘प्रभुको उपस्थितिबाट’ मात्रै मिल्ने वाला थियो।

के आज तपाईको जीवनमा ताजापन छ? शीतलताका समयहरूमा जिईरहनुभएको छ? कि जीवनका संघर्षहरू, कठिनाईहरूले बोझिलो हुनुहुन्छ? शारिरीक ताजापनले क्षणिक शान्ति देला तर दिर्घायु ताजापनको लागि आत्मिक ताजापन अत्यावश्यक हुँदछ। आत्मिक ताजापन, आत्मिक शीतलताको अवस्थाले शारिरीक थकान, बोझहरू, अस्वस्थता, अभावहरूबीच पनि ताजापन दिँदछ।

यो प्रकारको आत्मिक ताजापन, शीतलता कसरी पाइन सक्छ? यस खण्डबाट हामी यस विषयमा केहि कुराहरू सिक्न सक्छौं:

१. पापको कारणले हाम्रो जीवन तड्पिएको हो, बोझिलो भएको हो।

पत्रुसले भन्छन्, “पापहरू मेटिनका लागि पश्चात्ताप गर्नुहोस्, र फर्कनुहोस्“। पैसाको कमि या अस्वस्थता होइन तर हाम्रो वस्तविक समस्या पाप हो। खुसीको कुरा मानव जाति अब बोझिलो जीवनमा जिइरहनुपर्दैन। येशू ख्रीष्ट हरेक मानिको पाप क्षमाको लागि मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा जीवित हुनुभयो; आज उहाँ स्वर्गमा विराजमान हुनुहुन्छ। साँचो ताजापन, शीतलताको समय पाप क्षमा भएपछि मात्रै मिल्दछ। अनि मुक्ति पाएकाहरू पनि यदि अझै पापमै जिउँछौं भने आत्मिक ताजापन गुमाउँछौं, आजै पाप क्षमा मागौं। पवित्र जीवन जिऔं।

२. प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आउँदछन्।

याद गरौं यहाँ ‘प्रभुबाट’ भनिएन तर ‘प्रभुको उपस्थितिबाट’। परमेश्‍वरसँगको दैनिक हिँडाई, घनिष्ठ संगतिद्वारा यो ताजापन, शीतलता मिल्दछ। नम्रतापूर्वक उहाँको साथमा हिँड्नु नै हाम्रो कर्तव्य हो (मीका ६:८)। उहाँको संगतिबाट हामी टाढा भएका छौं कि? चर्च जान्छौं, बाइबल पढ्छौं, सेवाकाइ गर्छौं तर परमेश्‍वरसंगको व्यक्तिगत संगतिमा छैनौं भने जीवनमा शीतलता, आत्मिक ताजापन हुन असम्भव छ।

३. ‘शीतल पार्ने समयहरू’ – अर्थात् निरन्तर यस प्रकारको शीतलता, आत्मिक ताजापनमा जिउनुपर्दछ।

एक दिन, या केहि क्षण होइन तर ख्रीष्टियन जीवन परमेश्वरले यसरी तय गर्नुभएको छ कि हामी विश्‍वासीहरू निरन्तर पवित्रतामा जिउँदै, उहाँको संगतिमा रहँदै, आत्मिक ताजापन, शीतल पार्ने समयहरूमा जिईरहौं! यस श्रापित संसारमा पनि शीतलताको जीवन जिउन सम्भव छ।

सबै प्रकारका जटिलताबीच प्रभुको उपस्थितिबाट मिल्ने शीतल पार्ने समयहरूमा जिउँदै उहाँको महिमा गरौं! के आज तपाईको जीवन पोलिरहेको छ? बोझिलो छ? शीतलता खोज्दै हुनुहुन्छ? प्रभुको उपस्थितिमा आउनुहोस्, त्यहाँ नै तपाईले खोजेको शीतलता छ!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *