उत्पत्ति संक्षिप्त टिप्पणी (अध्याय २१-३०)
अध्याय २१
लामो प्रतिक्षा पछि इसहाकको जन्म हुँदछ – परमेश्वरले आफ्नो वाचा पूरा गरेरै छोड्नुभयो
यस अध्यायको १ पदमा ‘आफूले भन्नुभएअनुसार’ भन्ने शब्दावली दुई पटक दोहोरिएको छ; अनि २ पदमा लेखिएको छ – “तोकिएको समयमा…”। यो पदलाई उत्पत्ति१८:१४ सँग दाँज्दा एउटा महत्वपूर्ण सत्यता सिक्न सक्छौं – साँच्चै नै परमेश्वरले भन्नुभए अनुसार नै तोकिदिनुभएको समयमै इसहाकको जन्म भयो – न छिटो न ढिलो।
इसहाक र इश्माएल बीच द्वन्द हुँदछ। इसहाक – परमेश्वरको योजना अनुसार; इश्माएल – मानिसको योजना अनुसार। मानिसको योजना र परमेश्वरको योजनाबीच सधैं द्वन्द; परमेश्वरको योजना र विचार नै सधैं उत्तम (यशैया ५५:८, ९)
परमेश्वरको उत्तम योजना अनुसार नै उहाँले आफ्नो तोकिएको समयमा काम गर्नुहुन्छ।
अध्याय २२
अब्राहामको विश्वासको जाँच – आफूले एकदम प्रेम गरेको कुरालाई बलि चढाउनु पर्ने (पद २)
कुनै अनकानि बिनै तुरून्तै परमेश्वरको आज्ञा मान्न अब्राहाम अघि बढ्छन्। आज्ञा निकै अफ्ठ्यारो थियो, परिस्थिति भयंकर रूपमा जटिल थियो, तर विश्वास बेजोड तरिकाले अटल र विशाल थियो।
इसहाकको सट्टामा एउटा थुमा दिइयो – हामी पापीहरूको सट्टामा बलि हुन येशू ख्रीष्ट दिइयो
विश्वास साथ आफ्नो सम्पूर्ण जीवन र सब थोक उहाँलाई चढाऊँ, यहोवा यीरेले सबथोकको प्रबन्ध गर्नुहुनेछ। (मत्ती ६:३३; रोमी १२:१)
अध्याय २३
साराको १२७ वर्षको उमेरमा मृत्यु हुँदछ। अब्राहामले त्यस ठाउँका कनानीहरूबाट हेब्रोनको जमिन किनेर सारालाई गाड्छन्।
अब्राहामलाई त्यस ठाउँका कनानीहरूले ‘प्रभु’ भनी पुकार गरे। अन्यजातिहरूकोबीचमा पनि अब्राहामको साक्षी असल र आदरणीय थियो।
विश्वासी र अविश्वासी सबैबीच हाम्रो साक्षी सधैं असल र आदरणीय रहोस्। (प्रेरित २४:१६)
अध्याय २४
अब्राहामले आफ्नो छोरा इसहाकको श्रीमति खोज्न आफ्नो दासलाई पठाउँछन्
अचम्म तरिकाले त्यस दासले अब्राहामकै कुटुम्बबाट दुलही भेट्छन्।
यस अध्याय भरि नै त्यस दासले आफ्नो कामको सफलताको लागि परमेश्वरलाई पुकारिरहे
पद ५० मा रिबेकाको दाइ र बुबाले यस विवाह परमेश्वरबाट हुन आएको हो भनी बुझ्छन्; अनि रिबेकाले पनि परमेश्वरबाटको योजनालाई विश्वाससाथ स्वीकार्छिन्।
परमेश्वरमाथि भरोसा गर्दै अघि बढ्दा उहाँले सफलता दिनुहुन्छ, र वरिपरिका सबैले त्यो काम परमेश्वरबाट आएको/भएको हो भनी बुझ्छन्।
अध्याय २५
१७५ वर्षको उमेरमा अब्राहाम मर्छन् – एक महान विश्वासको वीरको अन्त्य हुन्छ; अब्राहामको अन्त्य भयो तर परमेश्वरको योजना र कार्यको अन्त्य भएको थिएन। इसहाक र उनका सन्तानमार्फत परमेश्वरको ईश्वरीय योजना अघि बढिरह्यो; कुनै व्यक्ति समाप्त हुँदैमा परमेश्वरको योजना समाप्त हुँदैन
इसहाकको दुई छोरा – जेठा एसाव, कान्छा याकूब। एसावले थोरै खानेकुराको लागि क्षणिक तृप्ति पूरा गर्न आफ्नो महत्वपूर्ण ज्यष्ठ अधिकार त्याग्छन् – यसको प्रतिफल साह्रै तीतो भयो।
आफ्नो क्षणिक अभिलाषा पूरा गर्न संसारलाई आफ्नो जीवन बेच्दा पछुताउन पर्छ।
अध्याय २६
इसहाकले आफ्नो बुबा अब्राहामले गरेको जस्तै पाप गर्न पुगे – आफ्नो श्रीमतिको विषयमा ढाँटे
अब्राहामले गरेको पापले इसहाकलाई समेत प्रभाव पर्यो; यस अध्यायको ३५ पद ले भन्छ कि एसावले अन्यजातिसँग विवाह गर्दा इसहाक र रिबेकाको आत्मा तीतो भयो।
हाम्रो पापले हाम्रो परिवार र नजिककाहरूलाई सिधै असर पार्दछ।
अध्याय २७
परमेश्वरले दुई छोराहरू गर्भमा हुँदै, जेठाले कान्छोको सेवा गर्नेछ भनी घोषणा गरी दिनुभएको थियो
इसहाकले परमेश्वरको यो योजना बिर्से या मान्न चाहेनन्, तर उनले एसावलाई आशिष दिन खोजे; अन्ततः याकूबलेनै आशिष पाए
परमेश्वरको इच्छा पूरा भएरै छाड्छ।
अध्याय २८
एसावबाट भाग्दै गरेको याकूबले परमेश्वरको दर्शन पाउँछन्; अब परमेश्वर याकूबसँग व्यवहार गर्न थाल्नुहुन्छ; अब्राहाम – इसहाक – याकूब हुँदै परमेश्वरको योजना अघि बढ्दै थियो
हरेक पुस्तामा परमेश्वरले आफ्नो जन चुन्नुहुन्छ, र परमेश्वरको कार्य अघि बढिरहन्छ।
अध्याय २९
याकूब आफ्नो मामासँग बस्न थाल्छन्; आफूलाई मन पर्ने व्यक्तिलाई विवाह गर्न उनले जम्मा १४ वर्ष मामाको दास भएर काम गर्छन्; २० पदले भन्छ उनलाई त्यो समय थोरै जस्तो लाग्यो – गहिरो प्रेमको नमुना; ३१ पदले भन्छ लेआ हेला गरिएकी थिइन् र परमेश्वरले उनलाई थुप्रै छोराहरू दिनुभयो
परमेश्वरले अवहेलितहरू प्रति करूणा देखाउनुहुन्छ।
अध्याय ३०
राहेल र लेआद्वारा याकूबको सन्तानको वृद्धि हुन्छ – इस्राएलको १२ कुलहरूको स्थापना हुँदै थियो
पराइ देशमा धूर्त लाबानको सेवक भएर बस्दा पनि याकूबको सम्पत्ति वृद्धि भइरहेको थियो
परमेश्वरले सारा संसारलाई आफ्नो महानता प्रकट गर्ने र मसिह पठाउने आफ्नो योजना याकूब र उनका छोराहरूबाट अघि बढाउँदै हुनुहुन्थ्यो; अब याकूब लाबानबाट छुटिनु पर्थ्यो।
परमेश्वरको योजना र उद्देश्य अद्भूत तरिकाले अघि बढिरहन्छ।