उत्पत्ति संक्षिप्त टिप्पणी (अध्याय ४१-५०)
अध्याय ४१
यस अध्यायमा यूसुफको जीवन अचम्म तरिकाले परिवर्तन हुन्छ। एक कैदीबाट उनी मिश्रको शासक बन्न पुग्छन्। परमेश्वरको उदेकको ईश्वरीय योजना यूसुफको जीवनमा पूरा हुँदै थियो।
फाराओको सपनाको अर्थ बताउन सक्नुको श्रेय यूसुफले परमेश्वरलाई दिँदछन्। पद १६ – “म ता होइन, परमेश्वरले नै…”
मानिसहरूले थाहा पाए कि यूसुफभित्र परमेश्वरको आत्मा रहनुहुन्छ (पद ३८)। के हाम्रो जीवनबाट पनि मानिसहरूले यस्तै निष्कर्ष निकाल्न सक्नछन् होला?
यूसुफका दुई छोराहरू – मनस्से र एप्रैम – कष्टबीचका आशिषहरू
परमेश्वरको भयमा जिउनेहरूलाई परमेश्वरले आफ्नो समयमा उचाल्नुहन्छ, आशिषित बनाउनुहुन्छ।
अध्याय ४२
संसारभर नै ठूलो अनिकाल परेको थियो। याकूबले आफ्ना छोराहरूलाई मिश्रबाट अन्न किन्न पठाउँछन्।
यूसुफले आफ्ना दाइहरूलाई चिन्छन् तर दाइहरूले उनलाई चिन्दैनन्। यूसुफ, एक हिब्रु युवक मिश्रको शासक हुनु मानवीय सोचाइले असम्भव थियो तर परमेश्वरको योजना अगम्य थियो।
सबै कुराहरू मिलेर परमेश्वरको अगम्य योजना अनुसार भलाइ नै उत्पन्न हुँदछ।
अध्याय ४३
याकूबले दोस्रो पटक आफ्ना छोराहरूलाई अन्न किन्न पठाउँछन् – बिन्यामिन लिएर मात्रै जाने छोराहरूको अठोट। याकूब बिन्यामिनलाई पठाउन मान्दैनन्। उनलाई पनि गुमाउन चाहन्नन्।
रूबेनले ठूलो साहससाथ निर्णायक भूमिका खेल्छन् र बिन्यामिनको सुरक्षाको जिम्मेवारी लिन्छन्।
यूसुफका दाजुभाइहरू उनको अघाडि दण्डवत् गर्छन् (पद २६)। परमेश्वरले यस कुराको भविष्यवाणी पहिल्यै यूसुफलाई सपना मार्फत गरिदिसक्नुभएको थियो (उत्पत्ति ३७:५-९)।
हाम्रा परमेश्वर सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। भोलिको विषयमा हामी उहाँमाथि भरोसा गर्न सक्छौं।
अध्याय ४४
आफ्नो भाइ बिन्यामिनलाई आफूसाथ राख्नको लागि यूसुफले एउटा युक्ति रच्छन्।
कठिन परिस्थितिको यहूदाले साहससाथ सामना गर्छन्। बिन्यामिनको सट्टामा यहूदा कमारा बन्न तयार भए। आफ्नो बाबुमाथि खराबी आइपर्न नदिन यहूदा आफ्नो ज्यान जोखिममा राख्न राजि भए। फलस्वरूप, उनी आशिषित बन्छन् (उत्पत्ति ४९:८-१२)।
सहि कुराको निम्ति आफ्नो ज्यानै जोखिम राखेर पनि खडा हुनुमा ठूलो आशिष छ।
अध्याय ४५
यूसुफले आफ्नो परिचय प्रकट गर्छन् – उनका दाजुहरूले उनलाई चिन्छन्
यूसुफले दाजुहरूमाथि बदला लिनुको साटो दयालु व्यवहार गर्छन्। उनले बुझेका थिए कि उनको जीवनमा हुन आएका सबै घटनाहरू परमेश्वरको अद्भूत योजना अनुसार नै थियो (पद ५)।
यूसुफले आफ्नो बाबुलाई लिएर आउनु भनी दाजुहरूलाई पठाउँछन्।
परमेश्वरले आफ्नो ईश्वरीय योजनालाई अद्भूत तरिकाले अघि बढाउनुहुन्छ।
अध्याय ४६
याकूब आफ्ना सबै सन्तानहरूका साथ मिश्र जान्छन्। यूसुफ र याकूबको भेट हुन्छ – याकूबले कहिल्यै नसोचेको कुरा हुँदछ। इस्राएलीहरू मिश्रको गोशेन प्रदेशमा बस्न थाल्छन्।
आफ्नो चुनिएको जाति इस्राएल मिश्रमा हुँदा पनि परमेश्वर उनीहरुको साथमा हुनुहुन्थ्यो (पद २-४)।
मिश्र देशमा गएर इस्राएलीहरू अनिकालबाट बाँचेनन् मात्रै तर निकट भविष्यमा परमेश्वरले मिश्रमा इस्राएलीहरूका खातिर आफ्नो सामर्थ्य प्रकट गर्नु हुनेथ्यो।
हरेक ठाउँ र हरेक समय कालमा परमेश्वर आफ्ना जनहरूको साथमा र पक्षमा उपस्थित हुनुहुन्छ।
अध्याय ४७
याकूब र उनका सन्तानहरूप्रति मिश्रका राजा फाराओले पनि दयालु व्यवहार गर्छन्।
इस्राएलीहरूलाई मिश्रको एक उत्तम भागमा बसोबास गर्न र आफ्नो व्यवसाय गर्न दिइयो।
हरेक जाति हरेक राष्ट्रमा परमेश्वरकै अधिकार र नियन्त्रण हुँदछ।
अध्याय ४८
याकूबले यूसुफको कान्छा छोरा एप्रैमलाई जेठा छोरा मनस्सेलाई भन्दा बढी आशिष दिन्छन्।
यूसुफले दोब्बर आशिष पाउँछन्। उनका दुई छोराहरू मनस्से र एप्रैम बाह्र कुलहरू मध्येका दुई कुल हुँदछन्। बाह्र कुलमा ‘यूसुफ’ भन्ने कुलको सट्टामा उनका दुई छोराहरूले भाग पाउँछन्।
ठूलो विश्वासले ठूलो आशिष ल्याउँछ।
अध्याय ४९
याकूबले आफ्ना बाह्र छोराहरूलाई आशिष दिन्छन्। हरेकले आफ्नो काम र चरित्रअनुसारको इनाम पाउँछन्। जे छरियो त्यसैको कटनी भयो (गलाती ६:७)। यहूदाबाट मसिह आउने भविष्यवाणी – पद ९, १०। याकूबको मृत्यु हुँदछ – आफ्नो लास प्रतिज्ञाको देशमा गाड्न आज्ञा।
हामी हरेकले आफ्नो कामअनुसारको इनाम पाउछौं। हामी कसरी जिइरहेका छौं विचार गरौं।
अध्याय ५०
याकूबले भनेझैं उनको दफन हुँदछ। आफ्नो बाबुको मृत्युपछि पनि यूसुफले आफ्ना दाजुहरूप्रति राम्रो व्यवहार गर्छन्।
उत्पत्ति ५०:२० लाई पुरानो नियमको रोमी ८:२८ भनेर पनि चिनिन्छ। खराबीहरूबीच पनि परमेश्वरले भलाइ गर्नुभयो। जे जति अप्रिय घटनाहरू यूसुफको जीवनमा भए ती सबै कुराहरू मिलेर अन्तमा भलाइ नै उत्पन्न भयो। यूसुफले यो कुरा बुझेका थिए। त्यसैले उनले आफ्ना खराब अवस्थाहरू र खराब अवस्थाहरू ल्याउने व्यक्तिहरूसँग रिसाउनुको सट्टा परमेश्वरमाथि भरोसा गरे।
यूसुफको मृत्यु हुँदछ – आफ्ना हड्डीहरूको विषयमा विश्वाससाथ उनले आज्ञा दिन्छन् (हिब्रु ११:२२)।
उनले अन्तसम्म नै परमेश्वरमा विश्वास गरिरहे। उनले आफ्नो यात्रा सुसम्पन्न गरे।
सबै कुराहरू मिलेर परमेश्वरका जनहरूको जीवनमा भलाइ नै उत्पन्न हुँदछ।