गन्ती संक्षिप्त टिप्पणी (अध्याय १९-२६)

अध्याय १९

  • परमेश्वरले इस्राएलीहरूलाई शुद्धिकरणको अर्को नियम दिनुहुन्छ। एउटा निष्खोट रातो कोरलीलाई छाउनी बाहिर लगिनुपर्थ्यो र त्यसलाई मारिनुपर्थ्यो। त्यो कोरलीलाई जलाइनुपर्थ्यो र खरानी बटुलिनुपर्थ्यो। त्यस खरानीमा पानी हालिन्थ्यो। अनि त्यस पानीलाई हिसपमा चोपेर छर्किइन्थ्यो। लास छोएर अशुद्ध भएको मानिस त्यस पानीको छर्काइद्वारा शुद्ध हुन्थे।
  • व्यवस्थाका यस्ता नियमहरूले येशू ख्रीष्टको चित्रण दिइरहेका थिए।
  • हिब्रू १३:१०-१६ – ख्रीष्टलाई छाउनी बाहिर बलिदान दिइयो
  • हिब्रु ९:११-२८ – कोरलीको खरानीले होइन ख्रीष्टको रगतले हामीलाई शुद्ध पारेको छ।
  • भजनसंग्रह ५१:७ – हिसपचाहिँ शुद्धिकरणमा प्रयोग हुने तत्व थियो
  • मानिसलाई पापको अशुद्धताबाट शुद्ध पार्न येशू ख्रीष्ट रगत बहाएर बलि हुनुभयो।

अध्याय २०

  • हाम्रा परमेश्वरमा के कुनै कुरा असम्भव छ र? उहाँले इस्राएलीहरूलाई उजाडभूमिमा पनि चट्टानबाट पानीको प्रबन्ध गरिदिनुभयो। मानिसहरूको गनगन गर्ने बानि हराएको थिएन। मानिसहरूले पानीको लागि विनम्र अनुरोध गर्न सक्थे, तर गनगन गरे। प्रभुले फेरि चट्टानबाट पानी दिने कार्य गर्नुभयो। यसपटक चाहिँ मोशाले चट्टानसँग सबैले देख्ने गरी बोल्नु मात्रै पर्थ्यो। तर अविश्वास गर्दै मोशाले दुई पटक लौरोले हाने। प्रभु दुखित हुनुभयो। मोशा र हारून अब कनान देश जान नपाउने भए।
  • पहिला हिर्काएर पानी आएको थियो (प्रस्थान १७), अहिलेचाहिँ बोल्नु मात्रै पर्ने थियो। विश्वासको वृद्धि हुनुथियो। मोशाले परमेश्वरलाई सहायता गर्न खोजे – अविश्वासको कदम।
  • एदोमीहरूले इस्राएलीरूलाई सहायता गर्दैनन् – याकूब र एसावको झगडाको निरन्तरता। हारूनको मृत्यु हुँदछ। बिना विश्वास परमेश्वरलाई प्रशन्न तुल्याउन असम्भव छ (हिब्रू ११:६)।
  • अविश्वासको प्रतिफलबाट कोहि पनि उम्कन सक्दैन; कसैलाई पनि छुट छैन!

अध्याय २१

  • इस्राएलीहरूले कनानी राजा अरादमाथि विजय पाउँछन्। यात्राको क्रममा संघर्षपूर्ण बाटो भएर जाँदा, इस्राएलीहरूका मन आत्तिए र फेरि गनगन र विरोध गर्न थाले। परमेश्वरको क्रोध उनीहरूमाथि पर्यो – उहाँले अति विषालु सर्पहरू पठाउनुभयो, र मानिसहरूलाई ती सर्पहरूले डसे। धेरै मरे र कति मर्दै थिए। मोशाको विन्ती सुनेर परमेश्वरले पित्तलको सर्प बनाउन भन्नुभयो। जसकसैले पित्तलको सर्पलाई हेर्थे, उनीहरू बाँच्थे।
  • पित्तलको साँपद्वारा ख्रीष्टको चित्रण – ख्रीष्टलाई हेर्नेहरू मृत्युबाट जीवनमा सर्छन् (यूहन्ना ३;१४-१६)।
  • जसले अविश्वास गर्छन् र हेर्दैनन् उनीहरू मर्छन्। त्यस घातक डसाइबाट बच्ने अरू कुनै उपाय थिएन।
  • इस्राएलीहरूले थप राज्यहरूमाथि विजय पाउँछन्। परमेश्वरले उनीहरूलाई डोर्याउँदै हुनुहुन्थ्यो।
  • विश्वासद्वारा जीवन र विजय, अविश्वासद्वारा मृत्यु। यात्रामा मन अधीर नहोस्, विश्वासमा स्थिर होस्।

अध्याय २२

  • यात्रा निकै अघि बढिसकेको थियो। इस्राएलीहरू कनान देश पुग्न लागिसकेका थिए। उनीहरू मोआबका मैदानमा आइपुगे। मोआबका राजा बालाक उनीहरूसँग डराए। बालाम भविष्यवक्ताद्वारा श्राप दिएर इस्राएलीहरूलाई नाश गर्ने योजना बनाए।
  • धन र सम्मानको लोभका कारण बालाम बालाककहाँ जान हतार गरे। क्रमिक रूपमा उहाँले बालामलाई चेतावनी दिन खोज्नुभयो तर उनले बुझेनन्। अन्तमा परमेश्वरले गधाद्वारा उनको होश खुलाउनुभयो। बालामलाई परमेश्वरले कडा चेतावनी दिनुभयो – उनले इस्राएलीहरूलाई श्राप दिन पाउँदैनथे। गधाद्वारा हप्कि खाने बालाम नै पहिलो र अन्तिम व्यक्ति थिए होलान्।
  • परिस्थिति नियन्त्रणका लागि परमेश्वरले जुनसुकै कुरा पनि प्रयोग गर्न सक्नुहुन्छ। चेतावनी बुझौं!

अध्याय २३ र २४

  • भविष्यवक्ता बालाम मोआबका राजा बालककहाँ पुगे। बालाकले आशा गरेका थिए कि बालामले इस्राएलीहरूलाई श्राप दिनेछन्, तर उल्टो उनले त आशिष पो दिए। बालामले इस्राएलीहरूलाइ चार पटक आशिष दिए। परमेश्वरले बालाकको योजना उल्टाइदिनुभयो।
  • प्रभुबाट आशिषित भएकोलाई कसले श्राप देला? उहाँले आफ्नाहरूको रक्षा गर्नुहुन्छ। (रोमी ८:३३,३४)

अध्याय २५

  • यस अध्यायमा दुखलाग्दो घटना प्रस्तुत गरिएको छ। इस्राएलीहरूलाई मोआबको सैन्य शक्तिले जित्न सकेन; बालामद्वारा श्राप दिने योजना पनि असफल भयो। तर उनीहरूको वेश्याकर्मका कारण २४,००० इस्राएलीहरू सखाप भए। वेश्याकर्म र मूर्तिपूजामा इस्राएलीहरू फसे। मूर्तिपूजा र वेश्याकर्म सधैं संगसंगै हुन्छन्। शत्रुका योजना अनेक छन्। हर प्रकारले लडाउन खोज्छ।
  • वीर इस्राएलीहरू स्रीहरूद्वारा पछारिए। शारिरीक अभिलाषा हाम्रो ठूलो शत्रु हो। शिम्सोन र दाउदजस्ता वीरहरूलाई पनि अभिलाषाले नै पछारेको थियो। बाहिरी शत्रुभन्दा हाम्रो भित्री शत्रु अझ शक्तिशाली रहेछ। त्यसैले हरेक दिन शरीरमा मर्नु र आफैलाई आत्माको वशमा राख्नु अत्यावश्यक छ।
  • परमेश्वरको सुरक्षा हामीलाई प्रबन्ध छ, तर हामी आफै सुरक्षा तोड्छौं भने हाम्रो आशा छैन।

अध्याय २६

  • व्यभिचारको कारणले धेरै इस्राएलीहरू मारिए। यस घटनापछि मोआबको मैदानमा बाँकी रहेका इस्राएलीहरूको गणना गरियो। लडाइमा जान सक्ने बीस वर्षमाथिको संख्या निकालियो। संख्या छ लाख एक हजार सात सय तीस भयो।
  • संख्याको आधारमा पैतृक सम्पत्ति बाँडियो। जुन कुलका मानिसहरू बढि व्यभिचारमा फसेका थिए, उनीहरूका बढि मारिए, र उनीहरूको संख्या कम भयो। संख्या कम हुनेले कम पैतृक सम्पत्ति पायो।
  • यहाँसम्म आइपुग्दा १० जासुसहरूसँग मिलेर अविश्वास गर्ने इस्राएलीहरू सब मरिसकेका थिए। कालेव र यहोशू मात्रै बाँकि थिए। मोशा पनि अब छिट्टै विदा हुँदै थिए। परमेश्वरको वचनमा विश्वास नगर्नु गम्भीर पाप हो। परमेश्वरले यो कुरा सहन सक्नुहुन्न।
  • आफ्नो वचन पूरा गर्ने परमेश्वरले हरेकको काम अनुसार न्याय गर्नुहुन्छ। जे छर्छौं त्यसैको कटनी गर्छौं। परमेश्वरको वचन शंका नगरी विश्वास गर्नु र त्यसै अनुसार जिउनु नै आशिषको रहस्य हो।

Post Comment

You May Have Missed