गन्ती संक्षिप्त टिप्पणी (अध्याय १-१०)
अध्याय १
- २० वर्ष माथि उमेर भएकाहरू जो लडाइमा जान सक्ने पुरूषहरू थिए, उनीहरूको गन्ती गरिन्छ। हरेक कुलको गन्ती भयो तर लेवी कुलको चाहिँ भएन। लेवी कुलले अरू कुलले जस्तो भाग पाएन। उनीहरूको भाग फरक थियो। उनीहरू परमेश्वरको विशेष सेवाका लागि अलग पारिए। उनीहरूले विशेष जिम्मेवारी पाए र विशेष आशिष पनि। उनीहरूद्वारा नै अरू इस्राएलीहरू परमेश्वरकहाँ आउन सक्थे।
- यस अध्यायमा हामी देख्छौं कि यूसुफले दोब्बर आशिष पाए। उत्पत्ति ४८:२२ अनुसार नै यूसुफका दुई छोराहरू एप्रैम र मनस्सेले याकूबका अरू छोराहरूझैं अंश पाए। अरू दाजुभाइहरूभन्दा यूसुफले एक भाग बढी पाए – यूसुफको विश्वासयोग्यताको प्रतिफल।
- परमेश्वरले विश्वासयोग्यहरूलाई आशिष दिनुहुन्छ। आफ्ना सेवकहरूको विशेष वास्ता गर्नुहुन्छ।
अध्याय २
- इस्राएलका सबै कुलले परमेश्वरको निर्देशन अनुसार भेट हुने पालको वरिपरि निश्चित क्रममा आ-आफ्ना पालहरू टाङ्नु पर्दथ्यो। भेट हुने पाल बीचमा पारियो – इस्राएलीहरूको बीचमा परमेश्वरको उपस्थिति थियो। चार दिशाहरूमा तीन तीन वटा कुलहरू मिलाएर राखियो। किन यस्तो क्रमको आवश्यक पर्यो?
- यहोवा परमेश्वर अन्य जातिहरूका ईश्वरहरू जस्तो हुनुहुन्न। उहाँ विशेष हुनुहुन्छ र उहाँका प्रजाहरू पनि हर रूपमा विशेष हुनुपर्थ्यो। वसोवास गर्ने र यात्रा गर्ने कार्यमा पनि।
- परमेश्वर गोलमाल र गडबडका परमेश्वर हुनुहुन्न। (१ कोरिन्थी १४:३३)
अध्याय ३
- मिश्रीहरूका जेठा फलहरूलाई नाश गरेर परमेश्वरले इस्राएलीहरूलाई मिश्र देशबाट छुटाउनुभयो। अनि परमेश्वरले इस्राएलीहरूलाई उनीहरूका जेठा फल (मानिस र पशु दुवै) उहाँको लागि छुटाउनु भन्नुभयो (प्रस्थान १३:११-१६)। अब गन्तीको ३ अध्यायमा परमेश्वरले नियम दिनुहुन्छ कि सम्पूर्ण इस्राएलका जेठा छोराहरूका सट्टा लेवीहरू परमेश्वरका लागि छुट्टाइनेछन् (गन्ती ३:११-१३)।
- लेवी कुलको गन्ती गरियो र संख्या जम्मा २२,००० भयो। अनि सम्पूर्ण इस्राएलका जेठा छोराहरूको गन्ती गरियो र संख्या जम्मा २२,२७३ भयो। सट्टापट्टा गर्दा पनि अझै २७३ ले इस्राएलीहरू ऋणी भए। त्यसैले बाँकी २७३ लाई एक जनाको ५ शेकेल तिरी छुटाइयो।
- परमेश्वरले सट्टाभर्नाको व्यवस्थाद्वारा छुटकारा दिनुहुन्छ।
अध्याय ४
- यस अध्यायमा परमेश्वरको बुद्धि र पवित्रताको थप प्रस्तुति बयान भएको छ। लेवीका तीन छोराहरू – कहात, गेर्शोन र मरारका सन्तानहरूलाई आ-आफ्नै जिम्मेवारी दिइयो।
- यति बेला इस्राएलीहरू उजाडस्थानमा छन् तर यात्रा सकिएको थिएन। यात्राको तयारीका लागि परमेश्वरले लेवीहरूलाई विशेष निर्देशन दिनुहुन्छ। यात्रामा लेवीहरूले परमेश्वरको पवित्रस्थानका पालहरू र सामाग्रीहरूलाई बोक्नु पर्थ्यो, अरूले बोक्नु त के छुन पनि पाउँदैनथ्यो। यी सामाग्रीहरू विशेष तरिकाले हारून र उनका छोराहरूले छोपेर र बाँधेर तयार गर्थे, अनि यी लेवीहरू आएर बोक्थे। लेवीहरूले ती सामाग्रीहरू छोप्ने कुरा हटाएर हेर्न र छुन पाउँदैनथे। यदि नियम नमाने मृत्यु पाइन्थ्यो।
- परमेश्वरको पवित्रता मजाकको या हल्का विषय होइन। उहाँले चुन्नुभएका कुराहरू पनि पवित्र हुन्छन् – जस्तो मण्डली, परिवार, आदि।
अध्याय ५
- परमेश्वरले इस्राएलीहरूलाई यात्राको लागि तयार पार्दै हुनुहुन्छ तर अझै एउटा काम बाँकी छ। पवित्र परमेश्वरको उपस्थितिमा अशुद्ध व्यक्तिहरू रहन सक्दैनन्। उहाँले अशुद्धहरूलाई हटाउन र अशुद्ध कार्य गर्नेहरूलाई दण्ड दिन आज्ञा दिनुभयो।
- पवित्र परमेश्वरको उपस्थितिमा अपवित्रहरूको संगति हुन सक्दैन।
अध्याय ६
- नाजीरको विशेष भाकल भनेको के हो? कुनै पुरूष या स्रीले आफूलाई परमेश्वरको निम्ति अलग पार्न चाहेमा यो भाकल लिन सक्थे। त्यहाँ निश्चित नियमहरू थिए। एउटा चाहिँ यो हो कि उनीहरू लासको नजिक आउनुहुन्नथ्यो, र अर्को चाहिँ उनीहरूको केश काटिनुहुन्नथ्यो, अरु पनि थिए। येशू लासको नजिक आउनुभयो, उहाँको कपाल केटीको जस्तो लामो थिएन। उहाँ नाजीर हुनुहुन्नथ्यो, नासरी हुनुहुन्थ्यो।
- विशेष सेवाको लागि विशेष त्याग आवश्यक पर्दछ।
अध्याय ७
- यस अध्यायमा केहि समय अगाडिको घटनालाई बयान गरिएको छ। निवासस्थान खडा गरेको दिनमा हरेक कुलले आफ्नो शासक मार्फत परमेश्वरलाई भेटि चढाए। सबै कुलले एकै किसिमको भेटि दिए।
- राजाहरूका राजा हाम्रा भेटिहरूको योग्य हुनुहुन्छ। प्रभु म तपाईलाई के चढाऊँ? पावलले सल्लाह दिन्छन् – जीवननै चढाऊ। रोमी १२:१
अध्याय ८
- लेवीहरूलाई शुद्ध पारिन्छ। लेवीहरू परमेश्वरको नजिकमा सेवा गर्नेहरू थिए। उनीहरू परमेश्वर र अरू इस्राएलीहरूबीच मध्यस्त थिए। तर पहिला उनीहरू आफै पूर्ण रूपमा शुद्ध हुनुपर्थ्यो।
- यो सत्यतालाई फेरि स्मरण गरौं – पवित्र परमेश्वरको सेवा गर्नेहरू पहिला आफै पवित्र हुनुपर्दछ।
अध्याय ९
- निस्तार चाडले इस्राएलीहरूलाई परमेश्वरको महान छुटकाराको सम्झना गराउँथ्यो। परमेश्वरले इस्राएलीहरूलाई बादलद्वारा यात्रामा डोर्याउनुभयो। यो बादलले परमेश्वरको उपस्थितिको चित्रण दिँदछ। बादल हिँड्यो भने उनीहरू पनि हिँड्नुपर्थ्यो, र बादल रोकियो भने उनीहरू रोकिनुपर्थ्यो।
- आज पनि परमेश्वरले हामीलाई डोर्याउनुहुन्छ – उहाँको वचन र पवित्र आत्माद्वारा।
अध्याय १०
- तुरहीले खतराको या अन्य कुराहरूको जानकारी दिन्थ्यो। इस्राएलीहरू सिनाईको उजाडस्थानबाट निक्लेर कनान देशतर्फको यात्रामा अघि बढ्छन्। यो यात्रा पहिला कहिल्यै गरेका थिएनन् – नौलो बाटो, नौलो वातावरण, तर परमेश्वरको उपस्तिथि उनीहरू सँग रह्यो। उनीहरू हराएनन्!
- हामी पनि यात्रामा छौं। यो यात्रा सफल हुन परमेश्वरको अगुवाइमा मात्रै सम्भव छ।