“जब समय पूरा भयो”
- Bible Study Articles
- February 5, 2020
- 0
- 1436
- 2 minutes read
येशू ख्रीष्टको आगमन हरेक मानिसको लागि आशा र आनन्दको कारण हो। परमेश्वरको समयमा, ठिक समयमा येशू मानिस बनी संसारमा आउनुभयो (गलाती ४:४)।
१. मुक्तिदाताको अगमवाणी
येशू ख्रीष्ट संसारमा मानिस बनी आउन अघि पनि जीवितै हुनुहुन्थ्यो। उहाँको शुरूवात बेथलेहेममा भएको होइन। येशू ख्रीष्ट त परमेश्वर हुनुहुन्छ जो अनन्त परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनी जन्मनु भन्दा धेरै वर्ष अघि नै उहाँको जन्मको भविष्यवाणी दिइएको थियो। मानिसहरूको पाप क्षमा र मुक्तिको लागि येशू संसारको उत्पत्तिदेखि मारिनुभऐको थुमा हुनुहुन्थ्यो (प्रकाश १३:८)। अर्थात् मानिसहरूको पापको लागि बलि हुन ख्रीष्टलाई पठाउने उद्देश्य पहिल्यै देखिको थियो। ख्रीष्टको जन्मको केहि भविष्यवाणीहरू – यशैया ७:१४; ९:६; मीका ५:२।
२. मुक्तिदाताको आवश्यकता
सारा संसार पाप र दुष्टताले भरिएको थियो। मानिसहरू पापको दासत्वमा थिए र अनन्त विनाशतिर गइरहेका थिए। मानिसहरूका धर्मकर्म थोत्रो थाङ्ना जस्तो मात्रै थियो (यशैया ६४:६)। कुनै आशा थिएन। हरेक मानिसको साँचो आवश्यकता मुक्तिदाता हुनुहुन्थ्यो। आफ्नै प्रयासहरू र भ्रमहरूमा अल्झिरहेका मानिसहरूका निम्ति मुक्तिदाताको आवश्यकता थियो। मानिसहरू आफ्नै प्रयासले पापको क्षमा पाउन सक्दैनथे (रोमी ११:६; २ तिमोथी १:९)।
संसारमा गरिबी थियो, अन्याय थियो, अपराध थियो तर मानिसहरूको साँचो आवश्यकता धनसम्पत्ति, न्याय या सुशासन थिएन। वास्तविक खाँचो पाप क्षमा थियो। हरेक मानिसलाई मुक्तिदाताको आवश्यकता थियो। संसार मुक्तिदाताको खोजिमा र पर्खाइमा थियो।
३. मुक्तिदाताको आगमन
परमेश्वरको भविष्यवाणीहरू अनुसार नै येशू ख्रीष्ट जन्मनुभयो। ठीक समयमा, ठीक ठाउँमा, ठीक उद्देश्यमा। येशू एक मानिस भई संसारमा आउनुभयो। कन्या मरियमबाट बालकको रूपमा जन्मनुभयो। उहाँको आगमन न छिटो, न ढिलो थियो, तर ठीक समयमा भयो।
जब समय पूरा भयो तब ख्रीष्ट आउनुभयो (गलाती ४:४)। परमेश्वरको निश्चित समय र योजना हुँदछ। हामी मानिसहरूको आशा या सोचाइ फरक होला तर परमेश्वरको योजना र समय सधैं ठीक हुँदछ। परमेश्वरको सोचाइ र विचार सधैं हाम्रा भन्दा महान र उच्च हुँदछ (यशैया ५५:८,९)।
बाइबलले भन्दछ, “ठीक समयमा ख्रीष्ट भक्तिहीनहरूका निम्ति मर्नुभयो” (रोमी ५:६)। परमेश्वरको योजना र समयलाई पर्खनु महत्वपूर्ण छ। सारा संसार विशेष गरी यहूदीहरू मसिहको प्रतिक्षामा थिए। सायद उनीहरूले येशूलाई छिट्टै आएको चाहान्थे, अनि उहाँलाई राजाको रूपमा आएको चाहान्थे। तर येशू आफ्नो निश्चित तोकिएको समयमा आउनुभयो। राजा हुनलाई होइन तर मुक्तिदाताको रूपमा आउनुभयो।
आज तपाई र म कुन कुराको प्रतिक्षामा या आशामा छौं? तपाईको कुन कुराको चाहाना गर्दै हुनुहुन्छ? याद गरौं कि सबै कुरा परमेश्वरको निश्चित र सहि समयमा हुन आउनेछ। हामी विश्वासीहरू आँत्तिनु पर्दैन, निराश हुनुपर्दैन। जब समय पूरा हुन्छ, तब ठीक कुरा, ठीक समयमा, ठीक तरिकामा पूरा हुनेछ!
सिक्ने पाठहरूः
१. परमेश्वरले सबै कुरा ठहराउनु भएको छ (अय्यूब २३:१३,१४)। उहाँले जे ठहराउनुभएको छ त्यहि पूरा हुनेछ।
२. हाम्रो आज आवश्यकता के हो? परमेश्वरले तपाई र मेरो वास्तविक आवश्यकता जान्नुहुन्छ र त्यस अनुसार प्रबन्ध गर्नुहुन्छ (फिलिप्पी ४:१९)
३. सबै कुराहरू परमेश्वरको सहि समयमा सहि तरिकामा पूरा हुन्छन् (उपदेशक ३:११)।