यर्मिया २३ः२९ मा लेखिएको छ, “के मेरो वचन आगोजस्तो छैन र?, परमप्रभु भन्नुहुन्छ; अनि के त्यो घनजस्तो छैन र, जसले चट्टानलाई टुक्रा-टुक्रा पार्छ?” परमेश्वरले आफ्नो वचनलाई आगो र घनसँग तुलना गर्नुभयो। परमेश्वरको वचनको अद्भूत सामर्थ्य प्रष्ट पार्न आगो र घनको उदाहरण आएको छ। आगोसँग खेल्नु, त्यसलाई वेवास्ता गर्नु, हल्का लिनु मूर्खता हो। आगो जीवनको लागि अपरिहार्य छ। आगोले न्यानो राख्छ, खानेकुरा पाक्छ – जीवन दिन्छ। तर त्यही आगोले विनाश पनि गर्छ। परमेश्वरको वचन जीवन दिने वचन हो। साथै परमेश्वरको वचन न्याय र सत्यताको वचन पनि हो। परमेश्वरको वचन इन्कार गर्नेहरू परमेश्वरको वचन अनुसारको न्यायमा विनाश हुनेछन्।
त्यति मात्रै होइन परमेश्वरको वचन घनजस्तो पनि हो। घनले ठूला ठूला बलिया चट्टानहरूलाई तोडिदिन्छ, टुक्रा-टुक्रा पार्छ। परमेश्वरको वचनले कठोर हृदयलाई टुक्रा-टुक्रा पार्न सक्छ। परमेश्वरको वचनको विरोधमा कोहि उभिन सक्दैन। चाहे कुनै शासक या कुनै साम्राज्य – कोहि पनि परमेश्वरको वचनलाई विरोध गरेर विजयी हुन सक्दैनन्। परमेश्वरको वचनको सामर्थ्यमा चट्टान जत्तिकै बलिया शासक, साम्राज्य या हृदहरू पनि टुक्रिन्छन्।
आगो र घन – सामर्थ्यको प्रतिक। परमेश्वरको वचनको सामर्थ्य हामीले प्रष्ट बुझ्नु आवश्यक छ। अनि यो सामर्थी वचनको अधीनमा आफूलाई सुम्पिदै जिउनुपर्दछ। हरेक कठिनाइबीचमा याद गरौं यति सामर्थी वचनद्वारा परमेश्वरले हामीलाई विजय दिन सक्नुहुन्छ। कुनै कुराले परमेश्वरको वचन पूरा हुनबाट रोक्न सक्दैन। परमेश्वरको वचनलाई प्रेम गरौं, यसलाई पालन गरौं र यसबाट सान्त्वना पाऔं। परमेश्वरको सामर्थी वचनद्वारा हरेक दिन विजयी होऔं!
Post Comment