मृत्यु पछि कहाँ?

 मृत्यु पछि कहाँ?

हामी मरेपछि कहाँ पुग्छौं होला? के मरेपछि हामी फेरि अर्को जन्म लिन्छौं? के मृत्युपछि हाम्रो जीवन पूर्ण रूपमा समाप्त हुन्छ? मृत्यु पछि के हुन्छ? यी प्रश्नहरू हामी हरेकको दिमागमा एक न एक पटक त आएकै हुन्छन्? यी जाहेज र अति महत्वपूर्ण प्रश्नहरू हुन्। यी प्रश्नहरूले हाम्रो अस्तित्वलाई केलाउँदछन्। यी प्रश्नहरूले थप प्रश्नहरू पनि उठाउँदछन्। जस्तो, हामी को हौं? हामी कहाँबाट आयौं र कहाँ जाँदैछौं? हाम्रो जीवनको लक्ष्य के हो? हाम्रो जीवन के हो? यी जाहेज र उचित प्रश्नहरू होइनन् र?

यस्ता प्रश्नहरूले मानिसहरूलाई इतिहासभरि र आजसम्मै आफ्नो जीवनको विषयमा सोच्न बाध्य बनाएका छन्। धरै मानिसहरू दार्शनिक भएका छन्। कतिले विज्ञान मार्फत उत्तर खोज्ने प्रयास गरेका छन्। मृत्यु त निश्चित छ ‍- यो तथ्य हरेक मानिसले स्वीकारेको छ, स्वीकार्नै पर्छ। सत्यलाई इन्कार गर्नुमा फाइदा छैन। इन्कार गर्दैमा सत्य असत्यमा परिवर्तन नहुने रहेछ। तर सत्य के हो? माथि उल्लेखित प्रश्नहरूले मानिसको हृदयमा एक भीषण जलन उत्पन्न गरिदिन्छ। जसरी आगोको जलनले पारेको चोटमा शीतल मलहम लाउँदा शान्ति र आनन्दको अनुभव गरिन्छ, त्यसरी नै यी प्रश्नहरूको उत्तर भेट्दा हृदय शीतल र मन सन्तुष्ट हुँदछ। के तपाईले उत्तर भेट्नुभएको छ? उत्तर के हो? मृत्युपछि के हुन्छ? कहाँ पुगिन्छ?

साँचो जीवित परमेश्वर जसले आकाश, पृथ्वी र त्यसमा भएका सबै जीवहरू र थोकहरू सृष्टि गर्नुभयो, उहाँले हामी मानिसहरूलाई जीवनको अर्थ र यथार्थ प्रकट गर्नुभएको छ। करिब ४० मानव लेखकहरू प्रयोग गरेर परमेश्वरले आफ्नो विषयमा र मानव जीवनको विषयमा सत्य तथ्यहरू लिखित रूपमा हामीलाई प्रबन्ध गरिदिनुभएको छ। यस लिखित परमेश्वरको प्रकाशलाई हामी ‘बाइबल’ भनेर चिन्दछौं। बाइबलमा परमेश्वरले हाम्रो जीवनको सृष्टि, जिउनुको अर्थ र हाम्रो गन्तव्यका विषयमा प्रष्ट रूपमा बताउनुभएको छ। हाम्रो जीवन उहाँबाट नै आउने भएको हुनाले हाम्रो जीवनको विषयमा हामीलाई भन्दा उहाँलाई नै बढी ज्ञान हुनु स्वभाविकै हो। त्यसैले आउनोस् हाम्रा प्रश्नहरूका साँचो र सन्तोषजनक उत्तरहरू पाउन परमेश्वरको वचन बाइबललाई अध्ययन गरौं!

मानव जीवनको विषयमा बाइबलीय उत्तरहरू र सत्य तथ्यहरू अब तल संक्षिप्त रूपमा प्रस्तुत गरिन्छ। कृपया यी सत्यताहरूलाई खुला मनले विचार गर्नुहोस्, केलाउनुहोस्, अनि सहि हृदयले आफ्नो जीवनको विषयमा निर्णय लिनुहोस्। निर्णय तपाईकै हो! याद गर्नुहोस्, हाम्रो निर्णयले हाम्रो जीवनलाई प्रभाव पार्दछ आज अनि आउने दिनहरूमा। आज तपाईले गर्ने निर्णयले तपाईको वर्तमान र भविष्य पूर्ण रूपमा परिवर्तन गर्न सक्दछ!

  • हाम्रो जीवनको शुरूवात

मानव जीवन कसरी शुरू भयो? बाइबलले यस विषयमा के भन्दछ? बाइबलको एक खण्ड उत्पत्ति १:२६ मा यस्तो लेखिएको छ, “अनि परमेश्वरले भन्नुभयोः “हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै समानतामा बनाऔं…” त्यसै गरी अर्को खण्ड उत्पत्ति २:७ मा लेखिएको छ, “अनि परमप्रभु परमेश्वरले मानिसलाई जमिनको माटोबाट रच्नुभयो, अनि तिनको नाकका प्वालहरूमा जीवनको सास फुकिदिनुभयो, र मानिस जिउँदो प्राणी बने।” यसरी बाइबलले प्रष्ट पार्दछ कि मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो। हामी एक कोषबाट लामो समयमा विकास हुँदै हुँदै बनेका होइनौं तर सृष्टिकर्ता परमेश्वरको अद्भूत सामर्थ्य र बुद्धि अनुसार सुन्दर तरिकामा सृजिएका हौं।

  • हाम्रो जीवनको अर्थ/उद्देश्य

हाम्रो जीवनको उद्देश्य के हो त? हामी यस संसारमा किन छौं? बाइबलले हामीलाई बताउँदछ कि मानिस लगायत सम्पूर्ण सृष्टि गरिएका कुराहरू (रूख, पहाड, हिमाल, जनावरहरू, आदि) परमेश्वरकै आनन्द र महिमाका निम्ति सृष्टि गरिएका हुन् (प्रकाश ४:११)। तपाई र म परमेश्वरको आनन्द र महिमाका निम्ति सृष्टि गरिएका हौं। तसर्थ, हाम्रो जीवनको उद्देश्य परमेश्वरलाई प्रशन्न तुल्याउनु र उहाँलाई महिमा दिनु नै हो। हाम्रो जीवन हामी आफैको लागि होइन रहेछ। यहाँ हाम्रो गलत बुझाइ हुँदछ। हामी त महान् परमेश्वरको महिमा र आनन्दका लागि सृजिएका हौं। यसैले उहाँलाई हाम्रो जीवनबाट कसरी महिमा दिन सकिन्छ? हामी कसरी उहाँलाई प्रशन्न तुल्याउन सक्छौं? यी प्रश्नहरू महत्वपूर्ण उन् र उत्तर पनि बाइबलमै प्रष्ट छ। यी कुराहरूमा नै हाम्रो जीवन केन्द्रित हुनुपर्दछ। यसैमा हामी जीवनको साँचो अर्थ र सन्तुष्टि पाउँदछौं। जबसम्म परमेश्वरलाई वेवास्ता गरेर हामी हाम्रै आनन्द र महिमाका लागि जिइरहन्छौं तबसम्म जीवनमा साँचो आनन्द र शान्ति कहिल्यै हुनेछैन। हामी हरेक नै परमेश्वरको महिमा र आनन्दका लागि रचिएका हौं, यो उद्देश्य हाम्रो जीवनमा पूरा नभएसम्म हाम्रो जीवन रित्तो र फिक्का हुँदछ।

  • हाम्रो जीवनको समस्या

दुख लाग्दो कुरा यो हो कि मानव जीवन समस्या ग्रस्त छ। अब यो वाक्यलाई नकार्ने मानिस त कोहि पनि छैन होला। रोग-बिमार, झैं-झगडा, लडाइ, गरिबी, अन्याय, आदि जस्ता कुराहरू संसारभर मानिसहरूले अनुभव गरिरहेछन्। त्यसैले हामी सबैजना स्वीकार्छौं कि मानव जीवन समस्या ग्रस्त छ। तर वास्तविक समस्या ती होइनन्। ती सब त मूख्य समस्याका प्रतिफलहरू मात्रै हुन्। बाइबलले रोमी ३:२३ मा यसो भन्दछ, “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्”  वास्तविक समस्या पाप हो। पाप के हो? परमेश्वरको आज्ञा र इच्छा भंग गर्नु नै पाप हो। पहिलो मानिस आदमले परमेश्वरको आज्ञा उलंघन गरे र पृथ्वीमा पापको प्रवेश भयो, र आज हामी हरेक मानिस जन्मजात पापी छौं (उत्पत्ति ३)। पापको कारणले गर्दा हामी हाम्रो जीवनको उद्देश्यबाट निकै टाढा पुगेका छौं। मानव जातिको सृष्टि हुँदा परमेश्वर र मानिसबीचको सम्बन्ध राम्रो थियो तर पापको कारणले गर्दा परमेश्वरसँगको हाम्रो सम्बन्ध टुटेको छ। परमेश्वर पवित्र हुनुहुन्छ र उहाँ पापलाई घृणा गर्नुहुन्छ। बाइबलमा यस्तो पनि लेखिएको छ, “किनकि पापको ज्याला मृत्यु हो…” (रोमी ६:२३)। यो ‘मृत्यु’ भन्नाले परमेश्वरबाट अलग हुनु भन्ने अर्थ बुझिन्छ। यसैले अब हामी मरेपछि परमेश्वरसँग रहन स्वर्ग जान सक्दैनौं तर अनन्तका लागि परमेश्वरबाट अलग हुन नरकमा फ्याकिन्छौं। हाम्रो जीवनको समस्या यही हो!

  • हाम्रो जीवनको आशा

खुशीको कुरा, हाम्रो जीवनको लागि आशा छ। हामी मरेपछि परमेश्वरबाट सदाका लागि अलग हुन नरक जानु पर्दैन। पापलाई परमेश्वरले घृणा गर्नुहुन्छ तर पापीलाई प्रेम गर्नुहुन्छ (यूहन्ना ३:१६)। उहाँले हामी मानिसहरूलाई प्रेम गर्नुहुन्छ! त्यसैले उहाँले आफ्नो एकमात्र जन्माएको पुत्र येशू ख्रीष्टलाई हाम्रो पापहरूको सट्टामा मर्न पठाउनुभयो। हामी मर्नु पर्नेमा, येशू ख्रीष्ट मर्नुभयो। बाइबलको रोमी ५:८ मा यस्तो लेखिएको छ, “तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” येशू ख्रीष्ट मर्नुभयो, अनि उहाँलाई चिहानमा गाडियो, तर तेस्रो दिनमा उहाँ जीवित भई बौरनुभयो। आज येशू ख्रीष्ट जीवित हुनुहुन्छ र स्वर्गमा परमेश्वर पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ। परमेश्वरको पापप्रतिको क्रोध र न्यायले मृत्यु र रगत बहाइको माग गर्दथ्यो, त्यो माग येशू ख्रीष्टले आफ्नो रगत र मृत्युद्वारा पूरा गरिदिनुभयो। येशू ख्रीष्टको यस बलिदानद्वारा आज हामी मानिसहरूले आशा पाएका छौं। अब हामी येशू ख्रीष्टको यस बलिदानमाथि विश्वास गर्दै पापहरूको क्षमा पाउन सक्छौं। हाम्रो पापको क्षमाले हामीलाई येशू ख्रीष्टद्वारा फेरि परमेश्वरसँगको सम्बन्धमा ल्याउँदछ। अनि हामी परमेश्वरले तोकिदिनुभए अनुसारको जीवन जिउन थाल्छौं – परमेश्वरको महिमा र आनन्दको लागि जिउन थाल्छौं। अनि जब परमेश्वरको योजना अनुसार हाम्रो यस पृथ्वीमा समय सकिन्छ, तब हामी सदाका लागि परमेश्वरसँग रहन स्वर्ग जान्छौं! यो हो हाम्रो जीवनको आशा, र हाम्रो लागि खुशीको खबर!  

  • हाम्रो जीवनको भविष्य

हाम्रो जीवनको भविष्य के हो? हामी कहाँ जाँदैछौं? बाइबलले भन्दछ, “अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ,” (हिब्रू ९:२७)। हामी सबैजना यस पृथ्वीमा अस्थाइ रूपमा मात्रै छौं। यस पृथ्वीको यात्रा सकेपछि हामी या त परमेश्वरसँग रहन स्वर्ग जान्छौं या त परमेश्वरबाट अलग हुन नरक जान्छौं। येशू ख्रीष्टमाथि विश्वास गर्दै पाप क्षमा र पापबाटको पश्चतापले हामीलाई स्वर्गको नागरिक बनाउँदछ। के तपाईले येशू ख्रीष्टमाथि विश्वास गर्नुभएको छ? तपाईको जीवनको भविष्य तपाईको हातमा या भनौं तपाईको निर्णयमा रहेछ। तपाईको निर्णय के छ? तपाई के रोज्नुहुन्छ? तपाईको जीवनको भविष्य कहाँ छ? मृत्युपछि तपाई कहाँ जाँदै हुनुहुन्छ?

तपाईको निष्कर्ष र निर्णय

मृत्युपछि कहाँ? मृत्युपछि हामी कहाँ जाँदैछौं? यो प्रश्नलाई जवाफ दिन पृथ्वीमा दुई प्रकारका मानिसहरू पाइन्छन्। एक थरि मानिस यस प्रश्नदेखि डराउँछन्, यो प्रश्न सोच्नै चाहाँदैनन्, र अन्योलमा हुन्छन्। अनि अर्को थरि चाहिँ यस प्रश्नलाई सामान्य रूपमा बुझ्छन्, डराउँदैनन् तर बरू आनन्दित पो हुन्छन्। मृत्युपछि कहाँ गइन्छ उनीहरूलाई थाहा छ, निश्चित छन्। येशू ख्रीष्टमाथि विश्वास गर्नेहरूका निम्ति मृत्यु एक त्रास होइन तर एक ढोका हो। जहाँबाट अनन्तका लागि परमेश्वरसँग रहन स्वर्ग प्रस्थान गरिन्छ।

अब तपाईको निष्कर्ष के छ? तपाईको निर्णय के छ? तपाई मृत्युपछि कहाँ जाँदै हुनुहुन्छ? तपाईलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र आफूसँगै रहेको चाहानुहुन्छ। आउनुहोस्, आज नै आफ्ना पापहरूबाट पश्चताप गर्नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्। पापको दासत्व र दण्डबाट मुक्ति पाउन येशू ख्रीष्टलाई पुकार्नुहोस्! मृत्युपछि पनि जीवन छ। तर कसैको जीवन स्वर्गीय जीवन हुन पुग्छ, त कतिको जीवन परमेश्वरको क्रोध र दण्डमा परेको जीवन हुँदछ। आफ्नो जीवनको विषयमा सोच्ने समय आज नै हो। मृत्युपछि कहाँ गइन्छ आज नै टुङ्गो लाउनुहोस्!

हामी तपाईलाई थप जानकारी दिन सधैं तयार छौं। थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *