रूवाइको वेसी भएर जाँदा

 रूवाइको वेसी भएर जाँदा

भजनसंग्रह ८४:५,६ मा यस्तो लेखिएको छ, “धन्य हो त्यो मानिस, जसको सामर्थ्य तपाईमा छ, जसको हृदयमा राजमार्गहरू छन्। रूवाइको वेसीबाट भएर जाँदा उनीहरूले यसलाई मुहान तुल्याउँछन्; अँ, पहिलो वर्षाले यसलाई आशिषहरूले भरिदिन्छ।

के तपाई कहिल्यै रूवाइको वेसीबाट भएर जानुभएको छ? परमेश्‍वरका जनहरू पनि कहिले कहिँ यो रूवाइको वेसी भएर जानु पर्ने हुन सक्छ। आर्थिक, स्वास्थ्य, परिवार, अन्य क्षेत्रका बोझहरू, चिन्ताहरूले पिरोलिएको अवस्था, जतिबेला कुनै सामधान देख्दैनौं। कुनै विजय आउँदैन, आउँछ त केवल रूवाइ मात्र। रूवाइको वेसीबाट भएर जाँदा मन अमिलो हुन पुग्छ, हृदय खिन्‍न हुन्छ, निराशाले छोप्छ। तर माथिको खण्डमा अचम्मको सत्यता उल्लेख भएको छ। जसको सामर्थ्य परमेश्‍वरमा छ, ऊ धन्य (आशिषित र आनन्दित) मानिस हो। किनभने रूवाइको वेसीबाट भएर जाँदा पनि फराकिलो हृदय मुहान झैं हुनेछ र आशिषहरूले भरिनेछ भनी परमेश्‍वरको प्रतिज्ञा छ। यो कति अद्‍भूत सत्यता!

रूवाइको वेसी भएर जानु हामीले रोज्दैनौं। हामी पार्थिव यात्रामा अघि बढ्दै जाँदा एक न एक समय अनि सायद बारम्बार यो रूवाइको वेसी भएर जानु पर्ला। तर रूवाइको वेसी भएर जाँदैमा सबै आनन्द र आशिष गुमाउनु पर्ने होइन रहेछ! वास्तवमा त्यो रूवाइको वेसीमै परमेश्‍वरको सामर्थ्यमा भरोसा गर्दै अघि बढ्दा ठूलो आशिष र आनन्द पाउन सकिने रहेछ! महत्वपूर्ण कुरा यो रहेछ कि हाम्रो भरोसा परमेश्‍वरमा छ कि छैन? उहाँसँगको हाम्रो संगति कस्तो छ? यदि यस विषयमा हामी ठीक अवस्थामा छौं भने चाहे आनन्दका चुचुराहरू भएर जाँदा या रूवाइका वेसीहरू भएर जाँदा, परमेश्‍वरका जनहरूलाई खासै फरक नपर्ने रहेछ। हो शरीरमा पीडा होला, आँसुहरू झर्लान् तर परमेश्‍वरमा आश्रित जनहरूका आनन्द र आशिष रूवाइको वेसीले खोस्‍न सक्दैन। तर हामी अविश्‍वासमा जिउँछौं, कठिनाइमा प्रभुलाई भुल्छौं, निराशामै डुबी रहन्छौं भने हाम्रो अवस्था चुनौतीपूर्ण हुँदछ।

के तपाई आज रूवाइको वेसी भएर जाँदै हुनुहुन्छ? समस्याहरूको सामधान खोज्दै हुनुहुन्छ? परमेश्‍वरसँगको संगतिलाई पहिला ठीक-ठाक पार्नुहोस्। उहाँको नजिक जानुहोस्। विजय यहाँ छ! रूवाइको वेसी भएर जाँदा पनि हाम्रो सामर्थ्य परमेश्‍वरमा होस्!

Loading

Related post

1 Comment

  • Amen Amen God bless you

Leave a Reply

Your email address will not be published. Required fields are marked *